राष्ट्रपतिलाई पक्राउ गर्न पुगेको प्रहरीलाई युनका सुरक्षाकर्मीले रोके, स्थिति तनावग्रस्त
एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न प्रहरी टोली उनको निवासमा पुगेको छ ।
योलको गिरफ्तारीको प्रयासका क्रममा चार घण्टादेखि प्रहरी र राष्ट्रपतिको सुरक्षाटोलीबीच तनाब जारी छ ।
उनीमाथि डिसेम्बरको सुरुमा गरिएको मार्शल ल घोषणासँग सम्बन्धित शक्तिको दुरुपयोग र विद्रोह उक्साएको आरोप लगाइएको छ ।
बीबीसीका पत्रकारहरूका अनुसार स्थानीय समयअनुसार बिहान ८ बजेतिर करिब २० जना प्रहरी अधिकारी राष्ट्रपति निवासमा पुगेका थिए । एक घण्टा भित्र यो संख्या बढेर ८० पुगेको थियो ।
राष्ट्रपति युनका वकिलले पक्राउ पुर्जीलाई ‘गैरकानुनी’ भन्दै चुनौती दिने बताएका छन् । युनका सुरक्षाकर्मीहरूले उनलाई पक्राउ गर्न गरिएको प्रयास रोक्ने प्रयास गरिरहेका छन् ।
प्रहरी र भ्रष्चार अनुसन्धान कार्यालय (सीआईओ) का सदस्यहरूको एक टोलीले राष्ट्रपति युनको गिरफ्तारीका लागि अदालतले जारी गरेको पुर्जी कार्यान्वयन गर्ने प्रयास गरिरहेको छ। तर, राष्ट्रपतिको सुरक्षाटोलीले यो प्रयास रोकिरहेको छ।
युनका समर्थकहरूले राष्ट्रपति निवास बाहिर भेला भएर उनको समर्थनमा नाराबाजी गरिरहेका छन् । उनीहरूले युनको गिरफ्तारी रोक्न प्रतिज्ञा गरेका छन् । योनहाप समाचार एजेन्सीका अनुसार, गिरफ्तारी टोलीले अहिलेसम्म अवरोध गर्नेमाथि कुनै पक्राउ कारबाही गरेको छैन ।
यसअघि, अदालतले राष्ट्रपति युनलाई बयान दिनका लागि बोलाइएकोमा अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी गरेको थियो ।
डिसेम्बर १४ मा, संसदले राष्ट्रपति युनलाई महाभियोग लगाउँदै उनको जिम्मेवारी निलम्बन गरेको थियो । तर, उनी पदबाट हट्नुपर्ने अन्तिम निर्णय संविधान अदालतले गर्नुपर्नेछ।
यो घटनाले दक्षिण कोरियामा राजनीतिक अस्थिरता बढाएको छ । राष्ट्रपति कार्यालयको सुरक्षा टोली र प्रहरीले बीचको तनावले परिस्थिति झनै जटिल बनाउन सक्छ ।