७ अर्ब लगानीमा स्तरोन्नति हुँदै मूलपानी क्रिकेट मैदान: क्षेत्रफल घट्ने, सिटक्षमता बढ्ने
काठमाडौं । सरकारले गौरवको योजनाका रुपमा विसं २०७१ सालमा मूलपानी क्रिकेट रंगशाला निर्माण गर्ने योजना बनायो ।
सुरुवात भएको केही समयमा नै २०७२ सालमा आएको भूकम्प र जग्गा विवादका कारण काम अघि बढ्न सकेन । २०७५ सालमा जग्गा मुआब्जा विवाद मिलेपछि काम सुरुवात भएको थियो ।
मूलपानीमा दुई रंगशाला छन् । माथिल्लो मूलपानी क्रिकेट रंगशालाले एकदिवसीय मान्यता प्राप्त गरिसकेको छ ।
दुबै रंगशालालाई अहिले सरकारले ७ अर्ब लगानीमा स्तरोन्नति गर्ने योजना बनाएको छ । सुरुवातमा रंगशाला १ अर्ब २८ करोड ६७ लाखमा बन्ने भनिएको थियो ।
उक्त बजेटमा १५ हजार सिट क्षमताको मैदान बन्ने योजना रहेको थियो । अहिले त्यसलाई स्तरोन्नति गर्दै २१ हजार सिट क्षमताको बनाउन लागिएको पूरक वातावरणीय प्रभाव मूल्यांकन(ईआईए) प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कूल १ लाख १८ हजार २०३ वर्गमिटर क्षेत्रफलमा बनाउने तय भएको रंगशाला अहिले १ लाख ६ हजार ९९६ वर्ग मिटरमा घट्ने गरि पुरक ईआईए प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, तल्लो मूलपानी रंगशाला १७ हजार ५९८ वर्गमिटरमा बन्ने तय भएकोमा अब बढाएर १७ हजार ६७१ वर्ग मिटरमा विस्तार हुने भएको छ ।
माथिल्लो मूलपानी रंशगाला १५ हजार ३३५ वर्गमिटर तय भएकोमा अब केही घटाएर १५ हजार ३०५ वर्गमिटरमा बन्ने भएको छ।
रंगशालाको प्यारापिट १७ हजार २२ वर्ग मिटरमा बन्ने यसअघि तय भएकोमा अब नर्थ, इस्ट, साउथ र वेस्ट गरी १८ हजार ८९ वर्गमिटरमा बन्ने भएको छ ।
रंगशालामा भीभीआईपी ब्लगले ४२६ वर्गमिटर, खेलाडी ब्लगले ४२६, गार्ड हाउस १०७, टिकट काउन्टर ७५, सार्वजनिक शौचालय २७४, प्राक्टिस नेट १ हजार ८०, होस्टेल ब्लग ८७३, रेस्टुरेन्ट ७५८, स्विमिङ पुल ६२५, जिम हल ४८५, गार्ड पोस्ट २.४ र फोहोरमैला व्यवस्थापन ब्लग ७२ वर्गमिटर रहनेछ ।
रंगशालामा सबैभन्दा धेरै अभावका रुपमा रहेको पानीको स्रोत पनि बढाउने तयारी रहेको छ । अन्डरग्राउन्ड ट्यांकमा २२ हजार ७४० लिटर दैनिक क्षमता हुनेछ भने ओभरहेड ट्याङमा १५ हजार लिटर क्षमता हुनेछ ।
रंगशालामा पहिलेको भन्दा सवारी पार्किङको क्षमतामा पनि वृद्धि हुने भएको छ ।
पहिले चार पाङ्ग्रे गाडीको क्षमता ३८० र दुई पाङ्ग्रे गाडीको क्षमता १००० सम्म थियो । त्यसलाई बढाएर अहिले चार पाङ्ग्रे गाडीको क्षमता ५७१ र दुई पाङ्ग्रे गाडीको क्षमता ३ हजार ५५८ गरिने भएको छ ।
मूलपानी रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले २०७७ मंसिरमा २७ करोडको ठेक्का आह्वान गरेको थियो । एक वर्षसम्म निर्माण कार्य सम्पन्न गरिसक्ने गरी ठेक्का लिएको भए पनि निर्माण कम्पनीले कोरोनाका कारण निर्धारित मितिमा नसकिएको भन्दै २०८० असार मसान्तसम्म उक्त रकम बराबरको निर्माण कार्य सक्ने बताएको थियो । अहिल रंगशाला निर्माण कार्य प्यारापिट निर्माण बाहेक सकिएको छ ।
केके छन् निर्माण चरणमा ?
आयोजनाको निर्माण चरणमा खेलकुदका आवश्यक संरचनाहरू निर्माण गरिने स्तरोन्नति योजनामा उल्लेख छ ।
जस अन्तर्गत २ वटा खेलमैदान, प्याभिलियन, गार्ड हाउस, टिकट काउन्टर, अभ्यास नेट, होस्टल बल्क रेष्टुरेन्ट, स्विमिङ्ग पुल, जिम हल, खेलाडीहरूको बल्क पार्किङ क्षेत्र, बाटो हरियाली क्षेत्र, क्रस ड्रेनेजको, रिटेनिङ्ग वाल निर्माण हुनेछ । त्यस्तै पानीको आपूर्ति लागि आवश्यक पाइपलाइन बिछ्याउने कार्य तथा ढलान, प्रस्ताव क्षेत्रमा आवश्यक पर्खालको निर्माण कार्य र पानीको आवश्यकताका लागि आकाशे पानी संकलनको संरचनाहरू निर्माण हुनेछ ।
नेपालको क्रिकेट विकासका लागि विभिन्न क्षेत्रबाट खेलाडीको छनोट गरी प्रशिक्षण दिएर अन्तर्राष्ट्रिय खेलहरुमा सहभागी उद्देश्यका साथ रंगशालामा एकेडेमी पनि सञ्चालन गर्न लागिएको छ ।
एकेडेमी सञ्चालन तथा मर्मत सम्भारको चरणमा रंगशालाभित्र खेलहरुको सञ्चालन भइरहनेछ । त्यसमा पानीको आपूर्ति तथा निकाशको ठाँउ सफा राख्ने, रंगशाला क्षेत्र तथा शौचालयको सफाइ गर्ने तथा विद्युत, इन्टरनेट, टेलिफोन, नियमित चेक जाँच तथा मर्मत गर्ने आदि काम तथा खेल अवलोकन गर्न आउने आगन्तुकहरूलाई उचित सुरक्षाको व्यवस्था मिलाउने र सीसीटीभी क्यामेराको जडान गरेर थप सुरक्षा मिलाउने र सञ्चालनको क्रममा उत्सर्जन हुने फोहोर मैलाको व्यवस्था मिलाउने कार्यहरु पनि यो योजना अन्तर्गत रहेका छन् ।