१८ वर्ष पार गरेको देशकै ठूलो बैंकको थप अब्बल बन्ने यस्ता छन् १८ योजना



काठमाडौं । देशकै ठूलो ग्लोबल आईएमई बैंक व्यावसायिक रूपमा सञ्चालनमा आएको १८ वर्ष पूरा हुँदैछ । आगामी पुस १८ गतेदेखि १९ औं वर्षमा प्रवेश गर्दै गरेको बैंक थप १८ योजनाका साथ थप अब्बल र सुदृढ बन्ने योजना बनाएको छ ।

२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंकको पूँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ । तर कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन । यसो त विवादित रहेको १ अर्ब ३२ करोड रुपैयाँ बराबरको कर सरकारलाई बुझाउँदा बैंकको जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको छ ।

गत आर्थिक वर्ष अर्थात् आव २०८०/८१ मा बैंकको सञ्चालन मुनाफा ८ अर्ब ८६ करोड र कर पछिको मुनाफा ६ अर्ब १४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको तुलनामा ३ अर्ब ४७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकको ब्याज खर्च पनि बढेको छ भने बैंकले गत आवको तुलनामा १६ करोड रुपैयाँ बढी कर तिरेको छ ।

यसो त चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा बैंकको निक्षेपमा २४ अर्ब ५१ करोडले बढेर ५ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि २७ अर्ब ८६ करोडले वृद्धि भई ४ खर्ब १८ अर्ब ६३ करोड पुगेको छ । चालु वर्षको प्रथम त्रैमास अवधिमा बैंकले १ अर्ब ५१ करोड भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तमा बैंकको निष्कृय कर्जा ४.६७ प्रतिशत कायम भएकोले कर्जा असुलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडी बढ्नु पर्ने अवस्था देखिन्छ ।

ग्लोबल आईएमई देशकै ठूलो ब्यालेन्स सिट भएको बैंक हो । बैंकको वासलातको आकार ७ खर्ब २७ अर्बको छ । यता निक्षेपमा पनि सबैभन्दा अगाडि रहेको बैंक ग्लोबल नै हो ।

ग्राहकको हितलाई ध्यानमा राख्दै ग्लोबल आईएमई सरल, सहज र बहुउपयोगी बैंकिङ सेवा, राष्ट्रिय प्राथमिकताको क्षेत्रमा लगानी, वित्तीय पहुँच अभिवृद्धिका लागि निरन्तर क्रियाशील छ । बैंकको हाल मुलुकको सातवटै प्रदेशमा गरी ३ सय ५४ वटा शाखा ६८ वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय ३७ वटा शाखारहित बैंकिङ सेवा, ३ सय ८४ वटा एटीएम, विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य र अस्ट्रेलियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय समेत सञ्चालनमा छन् ।

ग्लोबल आईएमईले औपचारिक र सहज बैंकिङ कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने अपेक्षा रहेको छ । बैंकले समग्रमा (शाखा, एटीएम, एक्सटेन्सन काउन्टर, सेवाकेन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत) करिब ११ सय सेवा केन्द्रमार्फत ५० लाख भन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

यसरी स्थापनाको १८ वर्ष पार गर्दै गदाए ग्लोबल आईएमई बैंक दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढेको छ । पुँजी, वित्तीय सेवा, ग्राहकको संख्या, शाखा सञ्जाल र प्रभावकारिताका हिसाबले अब्बल र सफल बैंक वित्तीय परिसूचकमा पनि अगाडि छ ।

व्यावसायिक उतारचढाव र विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गर्दै बनेको ग्लोबल आईएमई बैंक देशकै ठूलो र बिजनेसमा पनि अग्रस्थानमा रहन सफल भएको छ ।

अब कुरा गरौं आगामी दिनमा कसरी थप अब्बल हुने भन्ने बारे । बैंकले ग्राहकहरुलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, सेयरधनीहरुलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रिणी बैंकको रुपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ ।

बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरु समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्‍याउने लक्ष्य लिएको छ ।

भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिङले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संशाधनको लागत समेत घट्न जाने विश्वास बैंकले गरेको छ । आधुनिक प्रविधिमा आधारित व्यावसायिक सेवाबाट बैंकको दीर्घकालिन मजबुतिकरणमा मद्दत पुगी सेयरधनीलाई उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति दिलाउने अपेक्षा बैंकले गरेको छ ।

यस्तो उपलब्धि हासिल गर्न बैंकले १८ विभिन्न काम गर्ने योजना बनाएको छ ।

पहिलो, बैंकले मुलुकभर अझै पनि ठूलो संख्यामा बैंकिग पहुँच बाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति प्राथमिकतामा राखेको छ ।

दोस्रो, आगामी समयमा बैंकले दिगो व्यवसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यवसायिक कार्ययोजना अनुरुपका रणनीतिहरु कार्यान्वयन गर्दै जाने योजना बनाएको छ । यसका लागि बैकले निक्षेपतर्फ कासा डिपोजिट र कर्जा प्रवाह तर्फ एसएमई, खुद्रा, एमएसएमई, प्राथमिकता प्राप्त क्षेत्र कर्जालाई प्राथमिकता प्रदान गर्ने तथा शुल्कमा आधारित आम्दानीमा समेत जोड दिई कार्यहरु सञ्चालन गर्दै जानेछ । यसबाट सेयरधनीलाई उचित प्रतिफल प्राप्त हुने विश्वास बैंकको छ ।

तेस्रो, हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यलाई आत्मसाथ गर्दै दिगो, न्यून कार्बन, सर्कुलर अर्थतन्त्रको दिशामा सहयोग सिद्ध हुने गरी बैंकले व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधीहरुलाई थप प्रवर्द्धन गर्ने छ । यसैगरी, लैंगिक एवं सामाजिक समावेशिता र वातावरणीय सुरक्षा कायम हुने गरी दिगो विकासको लक्ष्यलाई थप टेवा पुर्‍याउन केन्द्रिय स्तरमा बैंकले हरित तथा दिगो बैंकिङ इकाई स्थापना गरी कार्यक्रम अगाडि बढाइरहेकोमा सो कार्यलाई निरन्तरता दिने छ । यसले बैंकलाई नेपालको अग्रणी बैंकको रुपमा स्थापित गराउने छ ।

चौथो, बैंकले थप भ्यालु एड गर्ने उत्पादन तथा सेवा बजारमा पुर्‍याउने कार्ययोजना बनाएको छ । निक्षेप तथा कर्जाका विभिन्न प्रोडक्टको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी आवश्यकता अनुरुप थप परिमार्जन गर्ने तथा नयाँ प्रोडक्टको विकास गरी कार्यान्वयन गर्दै जाने योजना बनाएको छ । हालै बैकले प्रविधिमा आधारित ग्लोबल जुनियर एप र फ्ल्यास कार्यान्वयनमा ल्याएको छ । बैंकले प्रविधिमा आधारित बैंकिग सेवालाई प्राथमिकता राखेको छ ।

पाचौं, बैंकले विगत वर्षमा अन्तर्राष्ट्रिय वित्त निकाय तथा वित्तीय संस्थाहरुबाट बाह्य कर्जा लिई लगानीको श्रोतको व्यवस्थापन गर्दै आएको छ । चालु आवमा समेत बैंकको ओपेक, एडीबी, डीएफसी, एआईआईबीजस्ता निकायबाट आवश्यकता र औचित्यताको आधारमा श्रोतको व्यवस्थापन तथा परिचालन गर्ने योजना रहेको छ । यी अन्तर्राष्ट्रिय वित्तीय संस्थासँगको व्यवसायिक सम्बन्धले लगानीको श्रोत प्राप्त गरेको मात्र नभई बैंकको अन्तर्राष्ट्रिय साखमा समेत अभिवृद्धि भएको र बैंकले गरेको श्रोतको उपयोग तथा कार्य सञ्चालनवाट अन्तर्राष्ट्रिय वित्तीय साझेदारहरु थप उत्साहित भई बैंकसँग थप कारोवारको लागि अनुरोध गरिरहेका छन् । बैंकको व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राखी आगामी दिनहरुमा यस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँगको कारोबार अगाडि बढाउने नीति रहेको छ ।

छैटौं, घरेलु कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगको बिकासबाट मात्र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने मान्यतासहित आगामी वर्षमा समेत यस क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राख्ने योजना बनाएको छ ।

सातौं, मुलुकभर विकासको पूर्वाधार निर्माण सम्वन्धी कार्यहरु निरन्तर रुपमा वृद्धि भइरहेको र पूर्वाधार बिकास मुलुकको ३ वटै तहका सरकारहरुको प्राथमिकतामा भएको परिप्रेक्ष्यमा सो अवसरलाई सदुपयोग गर्ने गरी निर्माण व्यवसायीहरुको आवश्यकता र सुबिधालाई ध्यानमा राखी आपसी सहकार्यलाई प्राथमिकता दिने छ ।

आठौं, संसारभर विभिन्न राष्ट्रहरुमा रहेका बैंकका आधिकारिक प्रतिनिधिहरुको साथै स्वदेशी र विदेशी व्यावसायिक साझेदारहरुसँगको सहकार्यबाट हालसम्म विश्वका विभिन्न मुलुकबाट उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याउँदै आएकामा बैंकले बैंकमार्फत भित्रिने रेमिट्यान्सलाई थप वृद्धि गर्नका लागि रेमिट्यान्स बजार विस्तार तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने तय गरेको छ ।

नवौं, बैंकले अस्ट्रेलिया, भारत तथा संयुक्त अधिराज्यमा प्रतिनिधि कार्यालयमार्फत् सेवा दिइरहेकामा आर्थिक रुपले सम्पन्न एशियाको महत्वपूर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयास गरेको छ । यसबाहेक बेलायत, अमेरीकाजस्ता विभिन्न सम्भाव्य राष्ट्रमा शाखा कार्यालय खोल्ने योजना बनाएको छ । त्यसैगरी डिजिटल मनी कारोबार इजाजतको लागि समेत प्रयत्न गर्ने भएको छ ।

दशौं, बैंकले सूचना प्रविधिको प्रयोगलाई बढाउन छुट्टै डिजिटल बैंकिङ इकाइ गठन गरी आवश्यक पूर्वाधार समेत खडा गरी कार्यारम्भ गरिसकेको परिप्रेक्ष्यमा प्रविधिको प्रयोगबाट हुने लाभको सूक्ष्म विश्लेषण गर्दै सम्पूर्ण बैंकिग सेवा डिजिटल बैंकिङको प्रविधिमार्फत प्रदान गर्दै कारोवारलाई अघि बढाउने नीतिलाई निरन्तरता दिएको छ ।

एघारौं, बैंकले आन्तरिक काम कारवाही बढी मात्रामा स्वचालित गरी मितव्ययी बनाउने नीति लिएको छ । सोहीअनुसार आर्थिक वर्ष २०८०/८१ मा ग्राहकले खाता खोल्न, डलर कार्ड, क्रेडिट कार्ड, एटीएम कार्ड प्राप्त गर्ने, भुक्तानी गर्ने लगायत कार्डसम्बद्ध सेवा, एलसी/ग्यारेन्टी सुविधा, सेयर कर्जा लगायतको कारोबार अनलाइनबाटै गर्न मिल्ने कस्टुमर सेन्ट्रिक बीपीएम कार्यान्वयनमा ल्याएको छ । कर्मचारीको प्रत्यक्ष संलग्नता बिना नगद तथा चेकको कारोवार गर्न सकिने डिजिटल युनिभर्स सञ्चालनमा आएको छ । प्रविधिमा आधारित सेवाबाट व्यवसायिक प्रभावकारिता बढाएको भन्दै बैंकले आगामी दिनमा समेत नयाँ नयाँ प्रविधिमैत्री सेवाहरु थप गर्दै लैजाने नीति लिएको छ ।

बाह्रौं, कर्मचारीको ज्ञान र अनुभवलाई बैंकको व्यावसायिक उद्देश्य प्राप्तिसँग जोड्दै कर्मचारीहरुको वृत्ति विकासका लागि वार्षिक तालिम कार्यतालिका तर्जुमा गरी कार्यान्वयन गर्दै आएकोमा यसलाई अझ प्रभावकारी तथा डिजिटल प्रविधिको सहयोगमा सम्पूर्ण कर्मचारी वर्गमा निरन्तर ज्ञान आदान प्रदान गर्ने व्यवस्था मिलाउने छ ।

तेह्रौं, मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आईएमईमास माहित भएका छन् । ती विभिन्न संस्थाबाट आएका कर्मचारीको उचित व्यवस्थापन एवम् व्यावसायिक दक्षता अभिवृद्धि गरी बैंकको व्यावसाय वृद्धिमा टेवा हुने गरी कार्यक्रमलाई निरन्तरता दिनेछ ।

चौधौं, मुलुकले अबलम्बन गरेको संघीय संरचना बमोजिम ७ वटै प्रदेश कार्यालयहरुको काम, कर्तव्य अधिकार थप गर्दै अधिकार सम्पन्न बनाउँदै लग्नेछ ।

पन्ध्रौं, समाजको जिम्मेवार कर्पोरेट सदस्यको हैसियतमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअनुसार शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण लगायत एवम् विपन्न वर्गको जीवनस्तर उठाउनका लागि सक्दो सहयोगको नीति अबलम्बन गरेको छ ।

सोह्रौं, बैंकले जोखिम व्यवस्थापन तथा अनुपालनामा हाल कार्यान्वयनमा रहेका विभिन्न विधि र प्रकृयाहरुमा थप पुनरावलोकन गरी आवश्यकता अनुसार जोखिम व्यवस्थापन तथा अनुपालनालाई प्रभावकारी बनाउने छ ।

सत्रौं, बैंकले जोखिम व्यवस्थापनकार्यलाई अझ बढी प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय असल अभ्यासहरुलाई अनुसरण गरी कार्यान्वयन गर्ने गराउने कार्यलाई जोड दिनेछ । यसका लागि आईएफसीको एड्भाइजरी सेवा लिई कार्य सुरु गरेको छ ।

र अठारौं, कर्जाको गुणस्तरमा सुधार गर्ने गराउने, नियमित रुपमा ऋणीको व्यावसायको अनुगमन तथा निरीक्षण कार्यको कार्यान्वयन गर्ने र पूर्व चेतावनीका लक्षण देखिएका कर्जाको समयमा नै पहिचान तथा व्यवस्थापन गर्न समीक्षा वर्ष देखिनै केन्द्रिय स्तरमा गठन गरी कार्यारम्भ गरिएको छ र यसलाई थप प्रभावकारी बनाउँदै लग्ने बैंकको नीति छ ।

मुडिजबाट बैंकको क्रेडिट रेटिङ
मुलुकले अवलम्बन गरेको वित्तीय नीति बमोजिम समग्र कर्पोरट क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विकास गर्दै लैजान अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त मुडिज इन्भेस्टर्स सर्भिसबाट बैंकको सार्वभौम साख मूल्यांकन (क्रेडिट रेटिङ) गराउने प्रक्रिया अगाडि बढाइएको छ । बैंकका विभिन्न वित्तीय सूचक एवम् सुशासनको अवस्थाको मूल्यांकन गरेर गरिने क्रेडिट रेटिङबाट बैंकको अन्तर्राष्ट्रिय साख थप विस्तार हुने विश्वास बैंकको छ ।

ईसीएल कार्यान्वयन
बैंकले हालै मात्र राष्ट्र बैंकको निर्देशनअनुसार एक्स्पेक्टेड क्रेडिट लस हिसाब गर्ने प्रणाली जडान गरेको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन, २०५३ बमोजिम नेपाल सरकारद्वारा गठित लेखामान बोर्डबाट जारी एकाउन्टिङ स्ट्यान्डर्ड एनएफआरएस ९ – ईसीएलसम्बन्धी व्यवस्थाको कार्यान्वयनको लागि नेपाल राष्ट्र बैकबाट जारी गाइडलाइन्स लागु गर्ने उद्देश्यले एनएफआरएस ९ इम्प्लिमेन्टेसन सोलुसन खरिद गरी लागु गरेको छ ।

राष्ट्रिय अर्थतन्त्रमा योगदान
राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा नेपाल सरकार, आन्तरिक राजस्व विभागले ग्लोबल आइएमई बैकलाई सम्मान गरेको छ । गत आवमा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । बैंकले नियमित र सेवा सम्झौता मार्फत ३ हजार ८ सय जना भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्व
बैंकले सामाजिक परियोजना, वित्तीय साक्षरता, तोकिएको क्षेत्रमा प्रत्यक्ष अनुदान लगायत नेपाल राष्ट्र बैंकबाट तोकिएको क्षेत्रमा तोकिएको रकम खर्च गर्ने उद्देश्यले बैकले संस्थागत सामाजिक उत्तरदायित्व नीति नै कार्यान्वयनमा ल्याएको छ ।

बैंकले २०८० कात्तिक १७ गते जाजरकोट/रुकुमपश्चिममा आएको विनासकारी भूकम्पमा परी धनजनमा भएको क्षतिलाई सहयोग गर्न प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषमा सक्दो सहयोग गरेको थियो भने फरक क्षमताका बालबालिकाको बौद्धिक, सामाजिक र भावनात्मक विकासमा प्रोत्साहित गर्ने उद्देश्यले सैनिक कल्याणकारी कोषबाट काठमाडौंँको छाउनीमा स्थापना भएको दिवा विद्यालयलाई, सामाजिक अन्याय र विभेद विरुद्धको लोकप्रिय टेलिभिजन कार्यक्रम ऐना सिजन २ लाई, महिला, जनजाति, अल्पसंख्यक पिछडिएको वर्ग वा समुदाय तथा द्वन्द्ध पिडित केन्द्रित वित्तीय सचेतना, मधेशका समसामयिक बिषय, सामाजिक घटना, बाल बिवाह, शिक्षामा पहुँच विस्तार, मिटरव्याज विरुद्धको अभियानको लोकप्रिय टेलिभिजन सो दलानलाई, राष्ट्रव्यापी वित्तीय सचेतना कार्यक्रमको लागि बैंकले सक्दो आर्थिक सहयोग गरेको छ । त्यसैगरी निशुल्क नारी स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य, खेलकुद, महामारी नियन्त्रण, वातावरण संरक्षण लगायतको शीर्षकहरुमा समेत गरी आर्थिक वर्ष २०८०/८१ मा कुल ७ करोड १९ लाख रुपैयाँको योगदान गरेको छ ।

चालु आर्थिक वर्षमा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा ४ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ ।


क्लिकमान्डु