झापा पुगेर प्रचण्डले भने: ओली जति जाली, झेली, कपटी कोही छैन
झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् ।
सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।
उनले ओलीमाथि आफूले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न सुरु गरेसँगै र नक्कली भूटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै सरकार ढालिएको आरोप लगाए ।
आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको उनको भनाइ छ । गिरिबन्धु टिस्टेटमा प्रधानमन्त्री ओलीले बद्मासी गरेको आरोप लगाउँदै प्रचण्डले बद्मासीको पर्दाफास गरेरै छोड्ने प्रतिवद्धता जनाए । ओली देशकै सबैभन्दा जाली, झेली, कपटी, बेइमानी भएको आरोप लगाए ।
‘अहिलेका प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी मेरो लागि त यत्ति धेरै जाली, यति धेरै झेली मान्छे, उनको ठाउँमा सायद म बोल्दैछु । म भन्न चाहन्छु, उहाँको दिमागमा जालझेल बाहेक अरु भएको देखिँदैन । उहाँले जालझेल नै गरिराख्नु हुन्छ,’ प्रचण्डले भने, ‘तर म गिरिबन्धु टिस्टेटमा उहाँले गरेको बद्मासीलाई पर्दाफास गरेरै छोड्नेछु । गिरिबन्धुको, ओम्नीको, वाइडबडीका तमाम समस्या छन् । मलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको छ । किनभने भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर नै हो । मेरो सुई अब गिरिबन्धुतिर जाँदै थियो । गिरिबन्धुतिर भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर जाँदै थियो । त्यसपछि एउटा आतंक भएको हो ।’
अध्यक्ष दाहालले नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न नदिने प्रतिवद्धता जनाए ।