माथिल्लो अरुण ‘ब्लेन्डेड फाइनान्सिङ’ को मोडलमा बनाउन खाजेका छौंः कुलमान (भिडियो)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडीबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन् ।
घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आगामी जुन (असार) भित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताए ।
असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।
प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ‘ब्लेन्डेड फाइनान्सिङ’ (मिश्रित लगानी) को नमूना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको घिसिङको भनाइ छ ।
१ हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना नेपालको लागि अत्यावश्यक रहेको भन्दै उनले तत्काल बन्न जरुरी रहेको बताए ।
घिसिङले विश्व बैंक,एडिबी लगायत अन्य विकास साझेदारहरुबाट वित्तीय व्यवस्थापन नभए आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरुबाट नै बन्नसक्ने अवस्था रहेको पनि बताए ।
निर्देशक घिसिङले अहिले आयोजनास्थलमा निर्माण पूर्वको तयारी भइरहेको भन्दै आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिट्टो निर्माणमा लैजान जरुरी रहेको बताए । उनले आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको पनि जानकारी दिए । उनले दुधकोशी पनि ६७० मेगावट आयोजनाको तयारी पूरा भएको जानकारी दिए ।
‘तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न हुँदा नेपालको रिजर्भर आयोजनामा ठूलो योगदान गर्छ,’ घिसिङले भने, ‘ ट्रान्समिसन लाइनमा वुटवलदेखि बर्दघाटसम्मको १२० केभीको ट्रान्समिसनलाई लामो समयदेखि सम्पन्न भएको थिएन । अहिले सम्पन्न गरेर चार्ज भएपछि म्यादीको दाना देखि कुशमा हुँदै बुटवल भरतपुरसम्म पूर्णरुपमा चार्ज भयो । पावर निर्यात गर्नलाई ठूलो सहयोग गर्छ । ठूलो नेटवर्क बनेको छ हेटौँडा देखि ४०० के.भी सकिन लागेको छ । प्राधिकरणले शुरु गरेको ट्रान्समिसनलाई सबै सम्पन्न हुने चरणमा छ ।’
उनले नेपालमा उत्पादित विद्युत गुणस्तरीय सप्लाईको लागि आवश्य ट्रान्समिसन लाइनहरु पनि क्रमिक रुपमा बनाउँदै गएको बताए ।