कुशल मल्लले युएईको इन्टरनेसनल लिग टी-२० खेल्ने, कति पाए रकम ?
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ब्याटिङ अलराउन्डर कुशल मल्लले आगामी सिजन युएईको इन्टरनेसनल लिग टी-२० (आईएलटी-२०) मा डेब्यू गर्ने भएका छन् । मल्ललाई डेजर्ट भाइपर्सले नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडेको स्थानमा अनुबन्ध गरेको हो ।
बास डी लिडे चोटग्रस्त भएपछि उनले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । यसपछि डेजर्ट भाइपर्सले मल्ललाई टोलीमा समावेश गरेको हो । यद्यपि, मल्लको सम्झौता रकम सार्वजनिक नगरिए पनि यो लिगका खेलाडीको न्यूनतम पारिश्रमिक २० हजार डलर (२७ लाख २४ हजार नेपाली रुपैयाँ) रहेको जनाइएको छ । खेलाडीलाई विभिन्न चार वर्गमा विभाजन गरि आईएलटीमा पारिश्रमिक तय गरिने गरिएको छ ।
इमर्जिङ ट्यालेन्ट, प्लाटिनियम क्याटागोरी, डाइमन्ड र गोल्ड क्याटोगोरी गरि खेलाडीलाई वर्गीकरण गरिएको र त्यसअनुसार नै पारिश्रमिक निर्धारण गरिने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इमर्जिङ श्रेणीका खेलाडीले २० हजारदेखि ५० हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउँछन् भने प्लाटिनियम क्याटागोरीका खेलाडीले ४ लाख ५० हजारदेखि ५ लाख ५० हजार अमेरिकी डलर कमाउने समाचारमा जनाइएको छ ।
त्यस्तै डाइमन्ड क्याटागरीका खेलाडीले २ लाख देखि ३ लाख ५० हजार अमेरिकी डलर र गोल्ड क्याटागोरीका खेलाडीले १ लाखदेखि १ लाख ५० हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने समाचारहरुमा जनाइएको छ । यद्दपि कुशलले कति पारिश्रमिक पाउँछन् भन्नेबारे भने केही खुलाइएको छैन ।
२० वर्षीय कुशल मल्लले हालै नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजको कप्तानी गरेका थिए । उनको नेतृत्वमा चितवनले प्लेअफसम्मको यात्रा तय गरेको थियो । व्यक्तिगत प्रदर्शनमा मल्लले आठ खेलमा २२४ रन बनाए र नौ विकेट लिए ।
मल्लले सन् २०२० मा १५ वर्षको उमेरमै अमेरिका विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा उनले ४७ खेलमा एक शतक र चार अर्धशतकसहित ९१७ रन बनाएका छन् ।
डेजर्ट भाइपर्सको टोलीमा अन्तर्राष्ट्रिय स्टारहरू एलेक्स हल्स, विनन्दु हसरंगा, लोकी फर्ग्युसन, मोहमद अमिर, साम कुरानलगायत खेलाडी छन् । भाइपर्सले आफ्नो पहिलो खेल आगामी १२ जनवरीमा अबुधाबी नाइट राइडर्ससँग जायेद क्रिकेट स्टेडियममा खेल्नेछ।
कुशल मल्ल मात्र नभई नेपालका अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि यस लिगसँग आबद्ध छन् । ऐरीले गत सिजन गल्फ जायन्टका लागि खेलेका थिए ।