
कास्की । छैटौँ संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ ।
पोखरा–३१ स्थित बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित सो प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधि कब्जा गरेको हो । महिलातर्फ एक हजार मिटरको दूरीमा भएको प्रतिस्पर्धामा २० मिनेट १६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै फेवा डुंगा व्यवसायी समितिको सन्तमाया जलारीको समूहले प्रथम स्थान हासिल गर्यो भने फेवाकै उषा गुरुङको समूहले २० मिनेट ४९ सेकेन्डमा उक्त दूरी पार गर्दै दोस्रो स्थान र दिलसुभा गुरुङको समूहले २१ मिनेट १७ सेकेन्डमा सोही दूरी पार गर्दै तृतीय स्थान हासिल गरेको हो । नानुमाया जलारीको समूहले २१ मिनेट ४१ सेकेन्डमा उक्त दूरी पार गरी सान्त्वना स्थानमा ठाउँ बनाएको छ ।
पुरुषतर्फको एक हजार ५०० मिटर दूरीको दौडमा फेवा डुंगा व्यवसायी सङ्गठनका चन्द माझीको समूहले २४ मिनेटमा उक्त दूरी पार गरी प्रथम स्थान हासिल गरेको छ भने फेवाकै सुदर्शन मगरको समूहले २५ मिनेट ४६ सेकेन्डमा उक्त दूरी पार गरी द्वितीय, दीपक मगरको समूहले २६ मिनेट १४ सेकेन्डमा सो दूरी पार गरी तृतीय स्थान हासिल गरेको छ । पुरुषतर्फको सान्त्वना पुरस्कार भने २६ मिनेट ४३ सेकेन्डमा उक्त दूरी पार गर्दै राजु जलारीको समूहले हात पारेको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा भएको डुंगा दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुन सफल हुने समूहले १५ हजार, द्वितीयले १० हजार, तृतीयले पाँच हजार तथा सान्त्वनाले तीन हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा बेगनासतालबारे प्रचारप्रसार गर्ने, तालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, बेगनासतालको महत्व बुझाउन तथा खेलको माध्यमबाट आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ २६ र महिला तर्फ नौ समूहले सहभागिता जनाएका थिए ।
सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले प्राकृतिक सुन्दरताले भरिपूर्ण एवं शान्त स्थानमा रहेको बेगनासताल क्षेत्रमा पर्यटकको आगमन बढाउने विषयमा पोखरा क्षेत्रका र लेखनाथ क्षेत्रका पर्यटन व्यवसायीहरु एकापसमा छलफल र अन्तरक्रियाको माध्यमबाट पर्यटकको आदानप्रदान गर्न सक्ने र यसका लागि आवश्यक परेको खण्डमा सहजीकरण गर्न आफूहरु तत्पर रहेको जानकारी दिए । उनले भने,’पोखरालाई चितवन र लुम्बिनीसँग जोडेर पर्यटकको बसाइ कसरी लम्ब्याउन सकिन्छ भन्ने विषयमा अवधारण तयार भएको छ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले यस किसिमका प्रतियोगिताले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
बेगनासतालमा मोटरबोट सञ्चालन गर्ने विषयमा आफूले सहयोग नपाएकामा दुःख व्यक्त गर्दै वडाध्यक्ष कँडेलले आफूहरु एक अर्ब बराबरको परियोजना बेगनासतालमा ल्याउने विषयमा पनि सकारात्मक रहेको र स्थानीयको श्रम तथा लगानीमा ल्याइसकिएको मोटरबोटको पनि उपयुक्त व्यवस्थापन हुनुपर्ने बताए ।
उक्त अवसरमा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य छत्रघर आत्रेयले डुंगा दौड प्रतियोगिता यस क्षेत्रको पर्यटकीय विकासमा कोसेढुङ्गा साबित हुन सकोस् भन्ने कामना गर्दै यस क्षेत्रको समग्र विकासका लागि विभिन्न संघसंस्था रहेका नेतृत्वको व्यवहार सामाजिक हुनुपर्ने, आपसमा मनमुटाव राख्न नहुने, पर्यटक किन भित्र्याउन सकिएको छैन भन्ने विषयमा चिन्तनशील हुनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष नवराज बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारी, बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष मित्रलाल भण्डारीलगायतले पर्यटन प्रवद्र्धनमा जोड दिएका थिए ।









प्रतिक्रिया