खेलाडीहरु खेलेरै बाँच्न सक्छन् भन्ने एनपीएलले दिएको गतिलो उदाहरण



काठमाडौं । दिपेन्द्र सिंह ऐरी ओमोडा ई ५ को कार चढेर त्रिवि क्रिकेट मैदानमा घुम्दा नेपाली खेलकुदलाई नै एउटा खुसीको दिन बन्न पुग्यो । खेलेर खेल जीवन चल्दैन भन्ने सबैलाई दिपेन्द्रको त्रिवि मैदानको ड्राइभिङले मज्जाको झापड मिल्यो ।

नेपाली खेलकुद क्षेत्रमा आफ्ना छोराछोरीलाई लगाउनु हुन्न भन्ने परिवारलाई एउटा राम्रो ‘सबक’ पनि बन्यो । नेपाली क्रिकेटमा उत्कृष्ट खेलाडीले कार पाएको यो पहिलो पटक हो ।

खेलाडीलाई ब्रान्ड एम्बास्डर बनाएर विभिन्न कम्पनीले कार उपहार दिएको कुरा नौलो भने होइन । उदाहरणका लागि दिपालले भर्खरै मात्र नेपाली टोलीका पूर्व कप्तान पारस खड्कालाई ब्रान्ड एम्बास्डर बनाएर एस०७ कार दिएको थियो ।

फुटबल खेलाडीको हकमा भने उत्कृष्ट खेलाडी बन्दा कार उपहार पाउने कुरा अहिले नौलो बनेको छ ।

एन्फामा पूर्व अध्यक्ष गणेश थापा नेतृत्वमा हुँदा ‘ए’ डिभिजन लिगको उत्कृष्ट खेलाडीलाई टोयोटाको यारिस कार प्रदान गरिन्थ्यो । खेलाडीहरु हरी खड्का, उपेन्द्र मान सिंह, सागर थापाले कार पाएका थिए । अहिले एन्फाले वर्षको उत्कृष्ट खेलाडीलाई कार दिने बताएको छ ।

अबदेखि नेपाली क्रिकेट खेलाडीले पनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा कार पाउने विषय केही सामान्य तरिकाले हेरिनेछ । ब्रान्ड एम्बास्डर पारस खड्काले ओमोडा र सन्दीप लामिछानेले टाटाको टियागो इभी पाएका थिए । दिपेन्द्रले पनि क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै कार चढ्न सफल भए ।

यति त भयो कारको कुरो ।

प्रतियोगितामा खेलाडीहरु एक सिजनका लागि नै २० लाखसम्म बिक्री हुन्छन् भन्ने विषय पनि नेपाली खेलकुदका लागि नौलो र खेलाडीको पक्षको कुरो हो ।

नेपाली ८ जना क्रिकेट खेलाडीले नेपाल प्रिमियर लिग (एनपीएल)को मार्की खेलाडी बनेकै कारण २० लाख रुपैयाँ कमाउन पुगे । प्रतियोगितामा ‘ए’ क्याटेगोरीका खेलाडीले १५ लाखसम्म प्राप्त गरे । खेलाडीले हरेक महिनामा पाउने १ लाख रुपैयाँ पनि नेपाली खेलाडीले खेलेरै पाएको उपलब्धि हो ।

एनपीएललाई अब एउटा ठूलो ब्राण्ड मात्र हो भन्ने नबुझेर नेपाली खेलाडीहरु खेलेर बाँच्न सक्छन् भन्ने आधार पनि बनेको छ । खेल प्रेमी र खेलसँग सम्बन्धित व्यक्तिहरुले कुरा मजाले बुझेका छन् ।

खेलकुदमा लाग्दा घरबाट एउटा रोटी खाएर क्रिकेट खेल्न जाने र ब्याटबल किन्न पैसा समेत नभएको दिन पूर्व खेलाडीहरु सम्झन्छन् ।

पूर्वखेलाडी समेत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटा नेपाली क्रिकेटमा आएको यो परिवर्तन र खेलाडीको अवस्था देख्दा आफूलाई खुसी लाग्ने बताउँछन् ।

‘म खेल्दा नेपाली खेलाडीले एउटा ब्याट र बल किन्न सक्ने अवस्था थिएन, पाँच तारे होटलमा बस्न पाउनु त सपना मात्र थियो । तर, अहिले नेपाली क्रिकेटमा यो प्रगति देख्दा खेलाडी खेलेर बाँच्न सक्छन् भन्ने कुरामा दुईमत छैन,’ टमाटाले भन्छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल पनि नेपाली खेलाडीका लागि एनपीएल खेलेर बाँच्न सकिने एउटा मुख्य आधार बनेको बताउँछन् । टिमहरुको लगानी र खेलाडीको आर्थिक आम्दानी देख्दा नेपालमा अब अर्को काम गर्नु नपर्ने दिएको आएको उनी बताउँछन् ।

‘मलाई लाग्छ नेपाली क्रिकेट खेलाडीले मार्की खेलाडी बनेर २० लाख पाउने कहिले सोचेका थिएनन् । भर्खरै क्रिकेटमा भिझ्न लागेका खेलाडीले पनि २ लाख पाएका छन् । ए क्याटेगोरीमा हुनेले १५ लाख पाएका छन् । पहिलो सिजनमै यो अवस्था छ, आउने सिजन त झन् बढ्ला, पौडेलले भने ।

पारस र मोन्टीले बनाए एनपीएललाई बलियो ब्रान्ड ?
२ वर्ष पहिला नेपाली समर्थकको लागि नेपाली क्रिकेट निराशाको विषय थियो । नेपालले खेल्ने हरेक खेलमा निराशजनक प्रदर्शन रहन्थ्यो । प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन र प्रायः आउने हारको नतिजाले निराश समर्थकका लागि आशाको किरण बने, प्रशिक्षक मोन्टी देसाइ ।

मोन्टी देसाइ २ वर्षअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भए । उनले प्रशिक्षकको जिम्मेवारी सम्हालेको दिनदेखि नेपाली क्रिकेटको मुहार फेरियो । क्रिकेटले सफलता हात पार्न थाल्यो, मोन्टीले नेपाललाई दोस्रोपल्ट विश्वकपसम्म पु¥याए ।

नेपालले विश्वकप खेल्यो । एसिया कपमा भारत र पाकिस्तान क्रिकेटमा ठूला शक्ति राष्ट्रसँग खेल्न पायो । विश्वकपमा दक्षिण अफ्रिका, बंगलादेशजस्ता टोलीसँग उत्कृष्ट प्रदर्शन गर्न सफल भयो नेपाली टोली ।

त्यसयता क्रिकेटसँग विभिन्न ब्रान्ड जोडिन थाले । अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलदेखि सन्दीप लामिछाने, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी नेपालमा रहेका कम्पनीका ब्रान्ड एम्बासडर नियुक्त भए ।

नेपाली क्रिकेटलाई ब्रान्ड बनाउने अर्काे व्यक्ति बने, पूर्व कप्तान पारस खड्का । जताततै निराशाका माझ खड्का क्यान सचिव बनेपछि आशाको लहर छायो । पारस २०८० मा नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा निर्वाचित भए । नेपाली क्रिकेटले राम्रो लय समातेको अवस्थामा कुशन नेतृत्वको खाँचो थियो । भनिन्छ नि, सही नेतृत्व सही ठाँउमा । नेपाली क्रिकेटले उचाइ लिएको समयमा थप उडान भर्ने क्रममा कोशेढुङ्गा सावित भयो, पारसको क्यान सचिव बन्ने उपलब्धि ।

यसअघिसम्म नेपाली क्रिकेटको फ्रेन्चाइजी लिग चार प्राइभेट कम्पिनीले गर्थे । खड्काले क्यानले नै गर्न सक्ने भन्दै आँट गरे । यसअघि क्यानले नेपाल टी–ट्वान्टी लिग भारतीय कम्पिनी सेभेन थ्री स्पोट्सलाई गर्न दिएको थियो । म्याच फिक्सिङ गरेको भन्दै नेपाल टी–ट्वान्टीको चौतर्फी विरोध, नेपाली खेलाडीमा प्रतिबन्धलगायत घटनापछि प्रतियोगिता अन्योल बन्यो । सचिव खड्काले क्यानले नै फ्रेन्चाइजी लिग आयोजना गर्न सक्ने गरी आँट गरे ।

पारसले नै क्यान अध्यक्ष चतुर बहादुर चन्दलाई प्रतियोगिता आफैं गर्न सक्ने हौसला दिए । त्यसपछि घोषणा भयो, नेपाल प्रिमियर लिग (एनपीएल) । पत्रकार सम्मेलनमा पारसले नेपाली क्रिकेट अब एक उचाइमा पुग्ने बताएका थिए । सोही आँटपछिको एउटा उपलब्धि हो, एनपीएल ।

पारसको आँटमा सुरुमा साथ दिने कोही राजी थिएनन् । विभिन्न आधार देखाएर पारसले फ्रेन्चाइजी खरिद गर्ने कम्पनीको खोजी गरे । नेपाली क्रिकेटमा लगानी गर्न १६ फ्रेन्चाइजीले रुची देखाए । जसमा क्यानले ८ फ्रेन्चाइजी अघि सार्‍यो । १८ मध्ये ८ ले फ्रेन्चाइजी टिम किने । क्यानले बढीमा १ करोडमा टिम बिक्ने आशा गरेको थियो । बोली बढाबढ हुँदा एउटै टिम करिब ४ करोडमा बिक्यो ।

त्यसपद्धि खड्काले कर्पोरेट क्षेत्रमा विभिन्न कम्पनी तथा ब्रान्डलाई एनपीएलमा जोडे । एनपीएलकै प्रायोजकदेखि टिमको प्रायोजनक बन्दै दर्जनौं कम्पनी जोडिए ।

त्यसपछि खुल्यो, दर्शकका लागि एनपीएलको टिकट । नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक टिकट खुलेको १ मिनेटमै सोल्ड आउट भयो । यो नै नेपाली क्रिकेटको सफलता भएको सचिव खड्का बताउँछन् ।

उनी अर्काे वर्ष नेपालमा विदेशमा राम्रो नाम चलेका खेलाडीहरु भित्राउने योजना भएको बताउँछन् । उनले टिमको यो प्रकारको उत्साह र स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुँदा विदेशी खेलाडीको चासो हेर्दा नयाँ सिजन अझ भव्य हुने बताए ।

‘यो सिजन धेरै राम्रा खेलाडी ल्याउन सफल भयौं । अर्काे सिजन यो भन्दा धेरै नाम चलेका खेलाडी भित्र्याउने हाम्रो योजना छ । टिमहरुको उत्साह देखेर अझै नाम चलेका खेलाडी आउने अपेक्षा गरेका छौं,’ खड्काले भने ।

हालसम्म क्रिकेट खेलाडी ब्रान्ड एम्बासडर
नेपाली राष्ट्रिय क्रिकेट टोली स्टार खेलाडी सन्दीप लामिछाने ब्रिज इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर हुन् । त्यसअघि उनी टाटा मोर्टस्, एनसेल र पोसाक कम्पनी ‘सुट द्याट फिट्स’ को ब्रान्ड एम्बासडर थिए ।

हाल ओपनर आशिफ शेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर छन् । कम्पनीले उनलाई दुई वर्षका लागि आफ्नो ब्रान्ड एम्बासडर नियुक्ति गरेको हो । आशिफ आइएमई पे र टेक्नो मोबाइलको पनि ब्रान्ड एम्बासडर हुन् ।

यसैगरी दिपेन्द्र सिंह ऐरी ईसेवा र ग्रेस इन्टरनेसलका एम्बासडर हुन् । यसअघि क्रिकेट सम्बन्धि न्युजपोर्टल क्रिकेटटिङ नेपालले ब्रान्ड एम्बासडर बनाएको थियो ।

नेपाली टोलीका कप्तान रोहित पौडेल शैक्षिक सेवा परामर्शदाता कम्पनी द नेक्स्ट कन्सल्टिङ ग्रुपको ब्रान्ड एम्बासडर हुन् । यसअघि उनी जेन नेक्स्ट, ईसेवा र एनसीसी बैंकका ब्रान्ड एम्बासडर पनि नियुक्त भएका थिए ।

नेपाली क्रिकेट खेलाडीहरु कुशल मल्ल, देव खनाल, शरद भेषावकर, राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका नेपाल ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लसमेत विभिन्न ब्रान्डको सद्भावना दुत रहिसकेका छन् ।

क्रिकेटमात्र होइन फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस आदि खेलका खेलाडी पनि विभिन्न कम्पनीको ब्रान्ड एम्बासडर रहिसकेका छन् ।

एनपीएमा विधागत खेलाडीले पाएको पुरस्कार
एनपीएलको पहिलो संस्करणमा इमर्जिङ खेलाडी खेलाडी बनेका विपिन शर्माले प्रेसिडेन्सियल ग्राजुयट स्कुलले १० लाख रुपैयाँ बराबरको स्कुलरसिप दिएको छ । त्यस्तै क्यानले ५० हजार रुपैयाँ दिएको छ । प्रतियोतिगामा सर्वाधिक चौका प्रहार गर्ने लाहिरु मिलान्थाले २ लाख रुपैयाँ पाए । उनलो ३५ चौका प्रहार गरेका थिए । प्रतियोगिताको सर्वाधिक स्ट्राइक रेटमा रन बनाएका जिम्मी निशमले २ लाख पाए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी सेफ अलि जेबले ५ लाख रुपैयाँ पाए । हरेक खेलका म्यान अफ द म्याच बन्ने खेलाडीले २५ हजार रुपैयाँ पाएका थिए । क्वालिफायर र फाइनल खेलका म्यान अफ द म्याच बनेका खेलाडीले ५० हजार रुपैयाँ पाएका थिए । हरेक खेलको क्याच अफ द म्याच गर्नेले २५ हजार, इनर्जेटिक प्लेअरले २५ हजार, म्याक्सिमम ४ ले २५ हजार पाए ।

प्रतियोगितामा सर्वाेत्कृष्ट नेपाली खेलाडी बनेका दिपेन्द्रले ६१ लाख बराबरको कार पाए । त्यस्तै उत्कृष्ट बलर बनेका ललित नारायण राजवंशीले १० लाख बराबरको अल्ट्राभोइलेट एफ ७७ बाइक पाए ।

हालसम्म कार र बाइक जित्ने खेलाडी
हालसम्म प्रतियोगिता दौरान कार जित्ने नेपाली खेलाडीहरुका फुटबलमा उपेन्द्र मान सिंह, सागर थापा र हरी खड्का रहेका छन् । क्रिकेट प्रतियोगितामा कार पाउने दिपेन्द्र सिंह ऐरी पहिलो खेलाडी बने ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्डमा नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी उषा भण्डारी, रेश्मा भण्डारी, सरस्वती चौधरी, मन्जु गुरुङ र सिपोरा गुरुङ, फुटबल खेलाडी किरण चेम्जोङ र अन्जन विष्ट तथा टेनिस खेलाडी सिक्का सुवालले पल्सर बाइक बाइक जितेका छन् ।

पलेशा गोभर्धन ओलम्पिकमा नेपालका लागि ऐतिहासिक कास्य पदक जित्ने पहिलो खेलाडी हुन् । उनलाई पनि बीवाईडीले डल्फिन कार उपलब्ध गराएको थियो । उनले पुर्‍याएको योगदानको कदर गर्दै कार उपहार दिएको हो ।

एनपीएलले गर्दा अब नेपाललमा आयोजना हुने धेरै प्रतियोगिताका लागि सहज भएको छ । एक सिजन आयोजना भएर रोकिएको नेपाल सुपर लिग (एनएसएल)लाई पनि सहज भएको छ । त्यस्तै भलिबलमा पनि एभरेस्ट महिला भलिबल लिगले पनि अब अर्काे सिजन आयोजनाका लागि राम्रो मौका पाएको छ । कबड्डीमा पनि प्रो लिग आयोजना हुँदैछ । त्यसका लागि पनि नेपालमा टिममा लगानी गर्ने लगानीकर्तालाई सहज बनाउने भएको छ ।


भुपेस उपाध्याय