रवि लामिछानेलाई अदालत उपस्थित गराइयो, आज छुट्लान् ?



पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य व्यक्तिहरुलाई अदालतमा पेश गरिएको छ ।

सहकारी ठगी प्रकरणमा छानबिनका क्रममा कास्की प्रहरीले लामिछानेसँगै गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लिला पछाईंलाई आज अदालतमा उपस्थित गराएको हो।

लामो समयको अनुसन्धानपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार, ५१ जनालाई प्रतिवादी बनाइएको छ भने ३७ जना अझै फरार छन् । प्रहरीले प्रतिवादीहरुबाट १ अर्ब ५१ करोड माग दाबी गरेको छ ।

संसदीय समितिको प्रतिवेदनले विभिन्न सहकारी संस्थाका रकम अपचलनमा रवि लामिछानेसहित अन्यको संलग्नता रहेको ठहर गरेको थियो ।

यसअघि, छविलाल जोशीलाई ६ असोज र रवि लामिछानेलाई २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो। अभियोजन तयारीका लागि अझै केही समय आवश्यक रहेको भन्दै प्रहरी प्रशासनले अदालतसमक्ष थप म्याद माग्ने तयारी गरिरहेको छ ।

लामिछानेलाई कार्तिक २ गते सहकारी ठगी र संगठित अपराधमा संलग्न रहेको आरोपमा रास्वपा पार्टी कार्यालय काठमाडौंबाट पक्राउ गरि कास्की लगिएको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई समेत अनुसन्धानको दायरामा राख्दै प्रहरी टोलीले लामो अनुसन्धानपछि प्रतिवेदन तयार पारेको हो ।

लामिछाने लगायतमाथि कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको हो । संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरणमा ९० दिन हिरासतमा राख्न पाइने कानुनी व्यवस्था छ । यही कसुरमा सरकारी वकिलले अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पूरक अनुसन्धानमा प्रहरीले सुरुमा असोज ६ गते पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेको थियो । सोही दिनदेखि ९० दिनको समयसीमा गणना हुन्छ । त्यसअनुसार सरकारी वकिलसँग आगामी शुक्रबार (पुस ५) गतेसम्मको समय छ ।


क्लिकमान्डु