पर्यटन बोर्डको बजेट पारित, १ अर्ब ८२ करोड खर्च हुने अनुमान
काठमाडौं । नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । बोर्डको बुधबार बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षको लागि बजेट स्वीकृत गरेको हो ।
नेपाल नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षको लागि करिब १ अर्ब ८२ करोड रुपैयाँको बजेट पारित गरेको हो । लामो समयदेखि अन्तर्राष्ट्रिय प्रवर्द्धनकाे काम रोकिएकोले यो वर्षको प्राथमिकता पर्यटन प्रवर्द्धन र प्रचारप्रसारमा दिइने गरी बजेट पारित गरेको पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य ऋषी भण्डारीले बताए ।
उनका अनुसार पर्यटन बजार व्यवस्थापन गर्न हुने यस्तो प्रवर्द्धन तथा प्रचार प्रचारमा ७० प्रतिशत र बाँकी ३० प्रतिशतको खर्च कर्मचारी प्रशासनसहितमा हुने भएको छ ।
बोर्डको प्रमुख उद्देश्य पनि नेपालको पर्यटनका अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन नै हो । बोर्डले आफ्नो उद्देश्य पूरा गर्न पनि प्रर्वद्धनलाई नै जोड दिएको उल्लेख छ ।
विगतका वर्षहरुमा बोर्डको बजेट प्रवर्द्धन भन्दापनि पूवार्धारमा बढी जान थालेकोले एकातर्फ बोर्डको बजेट खर्च हुने नसक्ने र अर्कोतर्फ मूल उद्देश्य बाहिर गएका कारण पनि पर्यटन प्रवर्द्धनमा पर्याप्त बजेट खर्च गर्न पाएको थिएन ।
पर्यटन बोर्डको बजेटलाई जति धेरै प्रवर्द्धनमा खर्च गर्न सकियो उत्ति नै बढी विदेशी पर्यटक आकर्षित गर्न सकिने बुझाइ बोर्डको बजार प्रवर्द्धन विभागको छ । बोर्डले पछिल्लो समय भने पूर्वाधारलाई छोड्ने, प्रवर्द्धनलाई जोड्ने गरी योजना र कार्यक्रमसहित यो वर्षको बजेट ल्याएको पनि बोर्डले जानकारी दिएको छ ।
बोर्डको बजेट २५ असारभित्रै तय भएर साउनदेखि कार्यान्वयनमा जानुपर्ने भएपनि बोर्डमा प्रमुख कार्यकारी नियुक्तिको प्रक्रियाका कारण ढिलो गरी बजेट आएको हो । बोर्डले समयमा नै सीईओ नपाउँदा र अरु प्राविधिक कारण बजेट ढिलो भएको बताएको छ ।