पर्यटन बोर्डले हालसम्मकै कम बजेट खर्चियो, डेढ अर्बको बजेटमा ४५ करोड मात्रै खर्च



काठमाडौं । पर्यटन क्षेत्रको प्रवर्द्धन र विकास गर्ने एक मात्रै सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलको संस्था नेपाल पर्यटन बोर्डले गत आर्थिक वर्ष २०८०/८१ मा जम्मा ४५ करोड रुपैयाँ मात्रै खर्च गरेको छ ।

बोर्डले गत वर्ष १ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेकोमा कुल बजेटको ३० प्रतिशत खर्च गर्न पनि गाह्रो भएका देखिएको छ।

नेपाल पर्यटन बोर्डका सहप्रवक्ता मणिराज लामिछानेका अनुसार गत वर्ष खर्च कार्यविधि स्वीकृत नभएको र पर्यटन बोर्ड सञ्चालक समितिले समयमा नै बजेट नल्याउँदा पेश्की बजेटसमेत नछुट्उन नसक्दा भएको ढिलाइको असर बजेट खर्चमा परेको छ ।

बोर्डले गत वर्ष २०८०/८१ मा ९८ करोड रुपैयाँ आम्दानी गरेको थियो । नेपाल भित्रिएका विदेशी पर्यटक बाहिरिदा प्रति पर्यटक एक हजार रुपैयाँ भ्याट बाहेक नै तिर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार संकलन भएको आम्दानी बोर्डले बार्षिक रुपमा बजेट बनाएर खर्च गर्ने गरेको छ ।

पर्यटन बोर्डले पर्यटकबाट उठाएको पैसा पर्यटक ल्याउनमै खर्च गर्ने गरेको पनि लामिछानको भनाइ छ । ‘बोर्डको काम विभिन्न देशबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने नै हो । यसैका लागि बोर्डले विभिन्न अन्तर्राष्ट्रिय स्तरमा पुगेर पर्यटन प्रवर्द्धन गर्ने काम गर्छ,’ उनले भने ।

गतवर्ष बोर्डले बजेट ल्याउन गरेको ढिलाइले अन्तर्राष्ट्रिय स्तरमा हुने मेला महोत्सवसहितको कार्यक्रममा सहभागि हुन सकेन । बोर्डले गत वर्ष अन्तर्राष्ट्रिय मेला महोत्सवमा जाँदा गर्ने खर्च कार्यविधि ल्याएर मात्रै काम गर्ने भनेर बोर्डले बजेटै लेखिदियो विडम्बना कार्यविधि भने आएन् । विगतका वर्षहरुको तुलनामा खर्च गर्न बाटो खुलाउने र विगतका अभ्यास भन्ने व्यवस्थामसेत नभएकोले खर्च हुन नसकेको बुझाइ पर्यटन बोर्डको छ ।

पर्यटन बोर्डले यो वर्षको लागि पनि बजेट बनाइरहेको छ । यो वर्ष पनि बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओं) खाली भएको कारण समयमा बजेट आउँन सकेन । सीईओ आएपछि तत्काल हुनुपर्ने बजेटको काममा पनि प्राविधिक पक्षबाट भएको ढिलाईले बजेट आउनै ढिलो भएको बुझाइ बोर्डका सहप्रवक्ता लामिछानेले बताए ।

१ अर्ब १७ करोड बजेटको तयारीमा बोर्ड

नेपाल पर्यटन बोर्ड चालु आर्थिक वर्ष २०८१/८२ को लागि भने एक अर्ब १७ करोड रुपैयाँको बजेट ल्याउने तयारीमा छ । बोर्डले चालु आवको लागि तयारी गरेको उक्त बजेटमध्ये ७० प्रतिशत पर्यटन प्रवर्द्धनमै रहेको छ । बोर्डको प्रमुख उदेश्य पनि नेपालको पर्यटनका अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन नै हो ।

विगतका वर्षहरुमा बोर्डको बजेट प्रवर्द्धन भन्दापनि पूवार्धारमा बढी जान थालेकोले एकातर्फ बोर्डको बजेट खर्च हुने नसक्ने र अर्कोतर्फ मुल उदेश्य बाहिर गएका कारण पनि पर्यटन प्रवर्द्धनमा समस्या हुने गरेको उल्लेख छ ।

पर्यटन बोर्डको बजेटलाई जति धेरै प्रवर्द्धनमा खर्च गर्न सकियो उत्ति नै बढी विदेशी पर्यटक आकर्षित गर्न सकिने बुझाइ बोर्डको बजार प्रवर्द्धन विभागको छ । बोर्डले पछिल्लो समय भने पूर्वाधारलाई छोड्ने, प्रवर्द्धनलाई जोड्ने गरी योजना र कार्यक्रम बनाइरहेको पनि उल्लेख छ ।


क्लिकमान्डु