पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप



काठमाडौं । कोशी प्रदेशमा रहेको तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा झडप भएको छ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० काफ्लेपाटीमा स्थानीयबीच झडप भएको हो । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममाका बीचमा झडप भएको हो ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार, दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

केवलकार निर्माण भए प्राकृतिक स्वरुप बिग्रने भन्दै केहीले निर्माणको विरोध गर्दै आएका छन् । पाथीभरा लिम्वूहरुको मुन्धुमीस्थल भएकाले निर्माण गर्न नहुने भन्दै केही पहिचान पक्षधरहरुले केबलकारको बिरोध गर्दै आएका छन् ।

आज निर्माण सामग्री लिएर काफ्लेपाटी जाँदै गरेको टोलीलाई केहीले रोकेपछि मजदूर र स्थानीयबीच झडपको स्थिति बनेको हो।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केवलकार निर्माणका लागि सरकारले अनुमति दिएको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर पुग्न पैदलयात्रीले जाँदा र फर्किंदा १० किलोमिटर हिड्नुपर्छ ।

पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको व्यापारिक घराना आइएमई समूह अन्तर्गतको कम्पनी हो ।


क्लिकमान्डु