समस्याग्रस्त सहकारीका बचतकर्ताको डेढ अर्ब फिर्ता, ४० अर्ब अझै अन्योलमा

सरकारले सहकारीको बचत दिँदैन्ः मन्त्री अधिकारी



काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ हजार ५९३ बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ बचत फिर्ता गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मंगलबार आयोजित कार्यक्रममा केही बचतकर्तालाई बचत फिर्ता गरेको हो ।

समितिका अनुसार ६२ हजार ७६० बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ माग दाबी परेको थियो । उक्त माग दाबी परेकामा १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ बचत फिर्ता भएको हो ।

समितिका आव २०८०/०८१ असार मसान्तसम्म १२ ससय ९९ बचतकर्ताको ८३ करोड ६५ लाख २० हजार ८७४ रुपैयाँ, आव २०८१/०८२ कात्तिक १२ गतेसम्म ४ हजार ८६५ वटा माग दाबीको ६४ करोड ८६ लाख १६ हजार ८४१ रुपैयाँ, हालसम्म १०० प्रतिशत राफसाफ भएको मागदाबीकर्ता ६१ सय ५५ लाई १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार ७१५ रुपैयाँ फिर्ता भएको छ ।

यस्तै साउदेखि कात्तिक १२ सम्म ४३८ बचतकर्ताबाट आएको माग दाबीको ३ करोड १ लाख ९९ हजार १८४ रुपैयाँ फिर्ता गरेको छ । अब ५६ हजार ६०५ माग दाबीको ३८ अर्ब ४२ करोड ३ लाख २९ हजार ८११ रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।

समितिले आव २०८१/८२ असार मसान्तसम्म थप ९ वटा सहकारी संस्थाको राफसाफ गर्ने लक्ष्य रहेको जनाएको छ । अहिलेसम्म तीन वटा सहकारीको राफसाफ भएको जनाएको छ।

समितिले १३ हजार ७५ ऋणी सदस्यबाट २३ अर्ब ६२ करोड ९६ लाख ५८ हजार ७९४ रुपैयाँ असुलीका लागि अन्तिम कारबाहीको तयारीमा रहेको जनाएको छ ।

समितिले ओरेन्टलसहित पुराना १२ सहकारीका बचतकर्ताको बचत चालु आवभित्रै राफसाफ गर्ने र २०८० यता समस्याग्रस्त घोषणा भएकाबाहेक १० सहकारीका बचतकर्ताको बचत चालु आवभित्र ५० प्रतिशत राफसाफ गर्ने लक्ष्य रहेको जनाएको छ ।

कार्यक्रममा मन्त्री अधिकारीले एक लाख भन्दा कम बचत भएकाहरुको पूरै चुक्ता गरिएको र सो भन्दा बढी भएका ४३८ जनालाई पनि दामासाहीले बचत बचतकर्ताको खातामा समितिले पठाएको जानकारी गराए ।

मन्त्री अधिकारीले सहकारीका बचतकर्ताको बचत सरकारले फिर्ता गर्न नसक्ने बताए । उनले सम्बन्धित सहकारीबाटै ती रकमहरु असुलगरी बचतकर्तालाई दिने गरी काम अघि बढाइएको बताए ।

‘६२ हजार ७ सय ६० माग दाबी मध्ये हामीले ६ हजार ५९३ दिईसकेको छ । अब ५६ हजार ६०५ माग दाबीको बाँकी छ’ उनले भने ‘हामी जुन सहकारी हो, त्यसैको पूँजी, भौतिक सम्पत्ति, उनीहरुले लगानी गरेको ऋण असुली यो ३ वटा प्रक्रियाबाट हामी जम्मा गर्छौ । त्यो जम्मा भएको रकम वितरण गर्दै जान्छौं ।’


क्लिकमान्डु