कांग्रेस-एमालेका नेताहरूबाटै सुनेको हुँ- यो सरकार टिक्दैन, हामीलाई हतार छैन

231
Shares

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । तर अहिलेको सरकार संशोधनप्रति गम्भीर नभएको उनको आरोप छ ।

जागरण अभियानअन्तर्गत रुपन्देही पुगेका प्रचण्डले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन जनतालाई थप अधिकार दिनका लागि आवश्यक भएको स्पष्ट पारे ।

‘सरकार गठनको बेला जनतालाई झुक्याउन संविधान संशोधनको कुरा गरियो, तर अहिलेको सरकार गर्न चाहँदैन। स्थायित्वका लागि संविधानको समीक्षा र आवश्यक संशोधन अनिवार्य छ,’ प्रचण्डले भने, ‘तर यो संशोधन अधिकार कटौती गर्न होइन, थप अधिकार सुनिश्चित गर्न हो। हामी त्यसमा प्रतिबद्ध छौं ।’

उनले सरकार बदल्ने कुनै हतारो वा चाहना आफूहरूमा नरहेको बताए । ‘हामी सरकार चाहेर सडकमा आएका होइनौं । जनताले दुःख पाए पनि हामी खबरदारीका लागि मैदानमा उत्रिएका हौं,’ उनले भने ।

प्रचण्डले अहिलेको सरकारलाई षड्यन्त्रबाट बनेको, अपारदर्शी र संविधान विपरीतको गठबन्धन भएको टिप्पणी गरे । ‘यो सरकार दुई तिहाइको होइन, षड्यन्त्रको उपज हो। संवैधानिक प्रक्रिया नअपनाई बनाइएको गठबन्धनले लोकतान्त्रिक मान्यता पाएको छैन,’ उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नयाँ वर्ष २०८२ कटाउने अवस्था नरहेको उनको भनाइ थियो । ‘राजनीतिक विश्लेषण र कांग्रेस तथा एमाले नेताहरूको धारणा सुनेरै मैले यो सरकार टिक्दैन भनेको हुँ,’ प्रचण्डले स्पष्ट पारे।

उनले माओवादी केन्द्र सरकारमा जान आतुर नरहेको, तर जनताको पीडाप्रति संवेदनशील रहेको बताए । ‘सरकार चलिरहोस् भनेर चुप लाग्ने अवस्था पनि छैन। हामीले जनताको पक्षमा खबरदारी गर्ने जिम्मेवारी लिएका छौं,’ उनले भने।

संविधानअनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भए पनि त्यो नहुनु अहिलेको सरकारको वैधानिकता माथि प्रश्न उठाउने विषय भएको उनले बताए । साथै, आन्दोलनरत शिक्षकप्रति प्रधानमन्त्री र सभामुखको अभिव्यक्तिले अपमानजनक स्थिति सिर्जना गरेको भन्दै उनले सरकारको आलोचना गरे।

राजावादीहरूबारे बोल्दै प्रचण्डले उनीहरूको आन्दोलन चैत १५ मै समाप्त भइसकेको टिप्पणी गरे । ‘राजावादको बेलुन फुटिसक्यो, तर खबरदारी चाहिँ जरुरी छ,’ उनले भने ।