बिचौलियाहरूबीच विवाद हुँदा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ: प्रचण्ड

63
Shares

रुपेन्देही । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाहरूबीच विवाद हुँदा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भएको टिप्पणी गरेका छन् ।

बिहीबार रुपन्देहीमा सञ्चारकर्मीहरूसँग कुराकानीमा अध्यक्ष प्रचण्डले गभर्नर नियुक्तिको विषय दलहरूबीच नभई बिचौलियाहरूबीच विवाद हुँदा प्रक्रिया ढिला भएको दाबी गरे।

‘गभर्नर नियुक्तिमा अहिले बिचौलियाबीच तानातान छ,’ प्रचण्ड भने, ‘जनतालाई लागिरहेको हुनसक्छ कि पार्टीबीच सहमति छैन, तर यथार्थमा बिचौलियाहरूबीच कुरा नमिलेकाले ढिलाइ भएको हो । कहिले कांग्रेस, कहिले एमालेलाई पकड्ने प्रयास भइरहेकाले टुंगो लागेको छैन ।’

उनले स्वार्थ समूहहरूको प्रभाव बढ्दै गएको बताउँदै यस्तो संवेदनशील पदमा योग्यत को आधारमा नियुक्ति गर्न सरकारलाई सुझाव दिए । उनले बिचौलियाहरूको प्रभावमा गभर्नर नियुक्ति भए अर्थतन्त्रमा देखिएको गम्भीर समस्या समाधान हुने सम्भावना कम हुने उनले बताए ।

प्रचण्डले सरकार बिचौलियाहरूको इशारामा चलिरहेको आरोप लगाए । इमानदार र सक्षम कर्मचारीलाई अपमानित गर्दै हटाउने काम गर्दै सरकारले अयोग्यलाई नियुक्त गर्ने प्रवृत्ति देखाएको उनको आरोप छ ।

उनले यस्तो चलखेल गणतन्त्रका लागि खतरनाक भएको भन्दै सन्तुलित, उत्तरदायी र निष्पक्ष व्यवस्थापनका लागि बिचौलियाको हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उनले कांग्रेसका महामन्त्रीले समेत प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच रहेको भन्दै सार्वजनिक रूपमा बोलेको प्रसंग स्मरण गराउँदै आफूहरुले भन्दा पूर्वाग्रह ठानिएको बताए ।

‘पहिले माओवादी र मले भनेको पूर्वाग्रह ठानिन्थ्यो होला, तर अहिले कांग्रेसकै वरिष्ठ नेताहरूले कुरा उठाएपछि हामीले उठाएको आवाज सत्य साबित भएको छ’ उनले भने।