रवि लामिछाने चलाख रहेछन्, म त छक्कै परेँ: देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले पार्टीले संसदमा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको बताए ।

संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भए पनि अहिले प्रमाणित भएको उनको भनाइ छ । पार्टी महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएकोमा देउवाले धन्यवाद दिए ।

रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरु सही भएको बताए ।

‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भने,’ उनले भने, ‘सहकारीको विषय । मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।’

सभापति देउवाले पार्टीको संगठन बिस्तारमा ध्यान दिन र आन्तरिक झगडाहरुलाई मिलाउनेतिर लाग्न पनि निर्देशन दिए ।


क्लिकमान्डु