१६ वर्ष पुग्दा पुष्पलाल मध्यपहाडी राजमार्गमा ७६.९५% प्रगति, अन्य आयोजनाको अवस्था कस्तो छ ?



काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामध्ये पुष्पलाल मध्यपहाडी राजमार्गले करिब दुई दशकको अवधीमा जम्मा ७६.९५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ भने खर्च भने दोब्बरभन्दा बढि भइसकेको छ ।

आर्थिक बर्ष २०६४/६५ देखि सुरु भएको आयोजनाले गत आर्थिक बर्ष २०८०/८१ सम्ममा भौतिक प्रगति कममात्र नभएर वित्तिय प्रगति पनि ८०.८२ प्रतिशत मात्र प्रगति हासिल गरेको छ ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार आयोजना सम्पन्न गर्ने अवधी आर्थिक बर्ष २०७९/८० तोकिएको थियो ।

तर, नियमित रुपमा आवश्यकताअनुसार बजेट अपर्याप्तता, जग्गा अधिग्रहण समस्या, मुआब्जा वितरण र ठेकेदारको लापरवाहीको कारण आयोजना सम्पन्न गर्ने अवधी आर्थिक बर्ष २०८४/८५ तोकिएको छ ।

आयोजना सुरु गर्दा यसको लागत खर्च ३३ अर्ब ३६ करोड रुपैयाँ तोकिएको थियो । तर, अहिले संशोधन गरी ८४ अर्ब ३३ करोड रुपैयाँ लागत लाग्ने पोखरेलले जानकारी दिए । हालसम्म ६८ अब १५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

‘आयोजनाअन्तर्गत पाँचथरको चियोभञ्ज्याङ्गदेखि सुदुरपश्चिमको बैतडी जिल्लाको झुलाघाटसम्म १ हजार ८ सय ७९ किलोमिटर सडक र १ सय ३७ वटा पुल निर्माण हुनेछ,’ महानिर्देशक पोखरेलले भने, ‘यो सडक खण्डले २३ जिल्लालाई जोड्ने गरी निर्माण कार्य गर्दैछौं ।’

सडक विभागका अनुसार गत आर्थिक बर्षसम्म आयोजनाबाट ९९० र अन्य निकायबाट ४६२ किलोमिटर गरी १ हजार ४ सय ५२ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने १ सय ५ वटा पुलको निर्माण सम्पन्न भएको छ ।

‘१ सय १६ किलोमिटर सडक र १५ वटा पुल निर्माण गर्न ठेक्का व्यवस्थापन हुन बाँकी छ, बजेटको अवस्था हेरेर यसमध्ये कति किलोमिटर चालु आर्थिक बर्षमा गर्न सकिन्छ, त्यो बिषयमा छलफल भइरहेको छ,’ पोखरेलले भने, ‘गत आर्थिक बर्षमा ६ अर्ब १५ करोड रुपैयाँबराबरको बहुवर्षिय ठेक्का गर्न सहमति सरकारले प्रदान गरेको थियो ।’

यस्तै, उत्तर दक्षिण व्यापारिक राजमार्गअन्तर्गतको कोशी सडक योजनाअन्तर्गत १ सय ६२ किलोमिटर सडक कालोपत्रे गर्ने योजना विभागको छ । जसमध्ये हालसम्म १ सय ५९ किलोमिटर खण्डमा ट्रयाक खोलिएको छ भने ८० किलोमिटर खण्डमा ग्राभेल गर्न काम सम्पन्न भएको छ ।

गत आर्थिक बर्षसम्म २ किलोमिटर खण्डमा कालोपत्रे र २३ पुलमध्ये ११ पुलको निर्माण सम्पन्न भएको छ । गत आर्थिक बर्षमा ५४ किलोमिटर सडक निर्माण गर्न सहमतिसमेत प्राप्त भएको थियो ।

यस्तै ५८ किलोमिटर सडकको स्तरोन्नती गर्न र ११ वटा पुलको ठेक्का लगाउन बाँकी रहेको पनि विभागले जनाएको छ । गत आर्थिक बर्षमा २ अर्ब रुपैयाँबराबरको बहुवर्षिय ठेक्का गर्न सरकारले सहमतिसमेत प्रदान गरेको थियो ।

कालिगण्डकी कोरिडर (गैंडाकोट-राम्दी-मालढुङ्गा) सडकतर्फ २ सय ९६ किलोमिटर सडक खण्ड कालोपत्रे र स्तरोन्नती गर्ने लक्ष्य छ । जसमध्ये गत आर्थिक बर्षसम्म सम्पूर्ण दूरीमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । यस्तै, ३० किलोमिटरमा ग्राभेल र १९० किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । यसैगरि, ५९ पुलमध्ये ३३ वटा पुलको निर्माणसमेत सम्पन्न भएको पनि विभागले जनाएको छ ।

विभागका अनुसार १८ किलोमिटर दूरीको राम्दी-रानीमहल, १४.५ किलोमिटर दूरीको अर्मादी-फलेवास र १७ वटा पुलको निर्माण गर्न ठेक्का व्यवस्थापन गर्न बाँकी छ ।

आर्थिक बर्ष २०६६/६७ मा सुरु भएको यो सडक खण्ड निर्धारित समयमा सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरी आर्थिक बर्ष २०८४/८५ पुर्याइएको छ । लागत खर्च पनि १७ अर्बबाट बृद्धि गरी २० अर्ब रुपैयाँ खर्च हुने देखिएको छ ।

कालिगण्डकी कोरिडरअन्तर्गतको बेनी जोमसोम कोरला योजनाअन्तर्गत २ सय २ किलोमिटर सडक कालोपत्रे र स्तरोन्नती गर्ने लक्ष्य राखिएको छ ।

जसमध्ये सम्पूर्ण भागमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ भने १२० किलोमिटर खण्डमा ग्राभेल गरिसकिएको छ । ५५ किलोमिटर खण्डमा कालोपत्रे र २७ मध्ये १२ वटा पुलको निर्माण गत आर्थिक बर्षसम्ममा सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०७३/७४ मा सुरु भएको यो आयोजना चालु आर्थिक बर्ष २०८१/८२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्धारित समयमा यो योजना सम्पन्न हुन नसक्दा म्याद थप गरी सम्पन्न गर्ने समय आगामी आर्थिक बर्ष २०८४/८५ तोकिएको छ।

यो सडक खण्डअन्तर्गत ९७ किलोमिटर दूरी भएको कागवेनी-कोरला खण्ड कालोपत्रे गर्न र ८ वटा पुल निर्माण गर्न ठेक्का व्यवस्थापन गर्न बाँकी छ ।

यस्तै, कर्णाली कोरिडरअन्तर्गत हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न खुलालु-सलिसल्ला-सिमिकोट हुँदै हिल्सासम्म २ सय ६९ किलोमिटर खण्डमा ट्रयाक खोल्ने र कालोपत्रे गर्ने योजना छ ।

यसमध्ये खुलालुदेखि सलिसल्ला हुँदै सर्केगाडसम्म १ सय ३५ किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । ३८ किलोमिटरको सर्केगाड-सिमिकोट खण्डमा ३ वटा ठेक्का व्यवस्थापन गरी नेपाली सेनाबाट ट्रयाक खोल्ने काम सुरु भएको छ । यसमध्ये १ किलोमिटर खण्ड भगाौलिक अवस्थाका कारण निक्कै चुनौतीपूर्ण रहेको विभागले जनाएको छ ।

त्यस्तै खुलालु सलिसल्ला सडक योजनाअन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म १ सय २३ किलोमिटर सडकको स्तरोन्नती र १३ वटा पुल निर्माणको लागि ठेक्का व्यवस्थापन गर्न बाँकी रहेको विभागले जनाएको छ । यो सडक खण्डअन्तर्गत अहिले ४ वटा पुल निर्माणाधिन अवस्थामा छ ।

राष्ट्रिय गौरबको आयोजनाअन्तर्गत नै सूचीकृत भएको हिल्सा सिमिकोट सडक योजनाअन्तर्गत १ सय ४६ किलोमिटर सडक खण्डमध्ये ११ किलोमिटर खण्डमा ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा लगाइएको छ ।

बाँकी १ सय ३५ किलोमिटरमध्ये १ सय ३४ किलोमिटर खण्डमा ट्रयाक खुलिसकेको छ भने १ किलोमिटर दूरीको सिमिकोट–स्यामने सडकको ट्रयाक खोल्ने काम भइरहेको विभागले जनाएको छ ।

यो योजनाअन्तर्गत च्याछरा–एलवाङ्ग खण्ड अन्तर्गत १ किलोमिटर क्षेत्र भगौलिक अवस्थाका कारण निक्कै चुनौतिपूर्ण भएकाले सुधारको लागि सेनालाई जिम्मेवारी दिने बिषयमा छलफल भइरहेको महानिर्देशक पोखरेलले जानकारी दिएका छन् ।

विभागकाअनुसार हुलाकी राजमार्गअन्तर्गत १ हजार ८ सय ५७ किलोमिटर सडकखण्ड मध्ये गत आर्थिक बर्षसम्ममा १ हजार २ सय ३३ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । यस्तै २ सय ९९ पुलमध्ये १३५ वटा पुलको निर्माण सकिएको छ ।

गत आर्थिक बर्ष २०८०/८१ मा यो राजमार्ग सक्ने लक्ष्य राखिए पनि वन क्षेत्रको जग्गा अधिग्रहण, बजेट अभाव, मुआब्जा वितरण, अदालतमा मुद्दा दायरलगायतका कारण यो आयोजनाको म्याद थप गरी अहिले २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य तोकिएको छ ।

विभागका महानिर्देशक पोखरेलका अनुसार हुलाकी राजमार्गअन्तर्गत गत आर्थिक बर्षमा ५० वटा पुल र ४२ किलोमिटर खण्डमा कालोपत्रे गर्न बहुवर्षिय ठेक्का सहमति र श्रोत सुनिश्चितताको लागि प्रक्रिया अघि बढाइए पनि हालसम्म सरकारबाट सहमति प्राप्त भएको छैन ।

यस्तो छ रुपान्तरकारी आयोजनाको अवस्था

विभागले एशियाली विकास बैंकको (एडीबी) वित्तीय ऋण सहायताअन्तर्गत रुपान्तकारी आयोजनाअन्तर्गत ४ वटा सासेक सडक सुधार आयोजना अघि सारेको छ ।

जसमध्ये नारायणघाट-बुटबल सडक, कञ्चपुर-कमला सडक, काँकडभिट्टा-लौकही सडक, बुटवल-गोरुसिङ्गे सडक, पथलैया-हेटौडा-नारायणघाट सडक, मुग्लिङ्ग-आबुखैरनी-पोखरा सडक र काँकरभिट्टा-लौकही (इटहरी) सडक खण्ड पर्छन् ।

यसमध्ये नारायणघाट-बुटवल खण्ड १ सय १३ किलोमिटर खण्डमा सडक निर्माण, ४६२ वटा कल्भर्ट, ४२ सामान्य पुल र २१ ठूलो पुल निर्माण गर्ने लक्ष्य छ ।

यो सडक खण्ड निर्माण गर्ने ठेक्का चीनको स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशनले सन् २०१८ को डिसेम्बर १९ तारिखमा पाएको थियो ।

यस सडक खण्डको निर्माण सम्पन्न गर्नका लागि विभागले दुईवटा ठेक्का गरेको थियो । जसमध्ये एउटाको लागत १७ अर्ब २७ करोड रुपैयाँ र अर्कोको लागत १६ अब ९९ करोड रुपैयाँ थियो ।

ती दुवै ठेक्का सक्नुपर्ने अवधी गत साउन ८ गते सम्पन्न गर्नुपर्ने तोकिएको थियो । म्याद सक्ने अवधीसम्म यो आयोजनाले ५२.५३ प्रतिशत भौतिक र ४५.२६ प्रतिशत वित्तीय प्रगति मात्रै हासिल गरेको छ ।

८०.३३ किलोमिटर दूरीको मुग्लिङ्ग-पोखरा सडक खण्ड १५ अर्ब ८८ करोड रुपैयाँमा गत आर्थिक बर्ष २०७७/७८ मा ठेक्का लागेको थियो । यो सडक खण्ड सम्पन्न गर्ने अवधी गत आर्थिक बर्र्ष २०८०/८१ तोकिएपनि हालसम्म भौतिक प्रगति ४७ र वित्तीय प्रगति ३१ प्रतिशत मात्रै हासिल गरेको छ ।

यस्तै ८६.८३ किलोमिटर दूरीको कञ्चनपुर-कमला सडक १५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का लागेको छ । सन् २०२४ को डिसेम्बरसम्ममा यो सडक खण्ड ४ र ६ लेनमा स्तरोन्नतीका साथै कालोपत्रे गर्ने योजना छ ।

कूल सडक खण्डमध्ये ७०.३३ किलोमिटर ४ लेन र १६.४९ किलोमिटर ६ लेनमा स्तरोन्नती गर्ने योजना छ । हालसम्म यो सडक खण्डले ५०.३ प्रतिशत भौतिक र ४१.२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

रुपान्तरकारी आयोजनाअन्तर्गत काँकरभिट्टा-लौकही सडक गत आर्थिक बर्षमा सुरु भएको थियो । यसको लागत ३४ अर्ब ९१ करोड रुपैयाँ छ । ९५.७६० किलोमिटर दूरीको यो सडक आयोजनाले हालसम्म भौतिकतर्फ २.५ र वित्तीयतर्फ ६.५ प्रतिशत प्रगति हासिल गरेको छ ।

यस्तै १३० किलोमिटर दूरीको कमला-ढल्केवर-पथलैया सडकमध्ये कमला-ढल्केवरको (७७ किलोमिटर) ठेक्का लाग्ने प्रक्रियामा छ । ढल्केवर–पथलैया (५३ किलोमिटर) ठेक्का व्यवस्थापनको लागि परामर्शदाताबाट सम्भाव्यता अध्ययनको काम भइरहेको विभागले जनाएको छ ।

यसैगरि, बुटवल-गोरुसिङ्गे-चनौटा सडकमध्ये बुटवल-गोरुसिङ्गे (५० किलोमिटर) दुई प्याकेजमा काम अघि बढाइएको छ । साथै, गोरुसिङ्गे-चनौटा खण्डको डिजाइन गर्ने प्रक्रिया पनि सुरु भएको विभागले जनाएको छ ।


राजेश बर्मा