
काठमाडौं । बीआईडी नेपालका प्रमुख यमुना श्रेष्ठले महिला उद्यमशीलताले तुलनात्मक रुपमा फड्को मारेको बताएकी छन् ।
नेपाली कांग्रेसले आयोजना गरेको स्टार्टअप तथा एसएमई सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।
‘नेपालमा उद्यम स्थापना गर्न केही अप्ठ्याराहरु भए पनि काम गर्दै जाँदा चुनौती सामना गर्ने क्षमता पनि हुने’ उनले भनिन् ‘मिहनत गरे सफल असम्भव हुँदैन ।’
पछिल्लो समय महिला उद्यमशीलताले सहरदेखि गाउँसम्म नै आर्थिक रुपान्तरणमा योगदान गरिरहेको समेत उनले बताइन् । श्रेष्ठले उद्यम गर्नका लागि उद्यम सेन्टरको पनि स्थापना हुनुपर्ने बताइन् ।
‘अहिले महिला उद्यमशीलताले सहरदेखि गाउँसम्म आर्थिक रुपान्तरणको योगदान गरिरहेको छ’ उनले भनिन् ‘अहिले महिला उद्यमीको सहभागीताले आफ्नो आन्तरिक खर्च धान्नका लागि केही न केही गर्दा अरुमा भर पर्नुपर्ने हुँदा सजिलो भएको छ ।’
कार्यक्रममा जेसीआई नेपालकी अध्यक्ष रजनी थापाले समय अनुसार महिलाहरुले आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताइन् । महिला उद्यमीले समय अनुसार परिस्थितिलाई सहजरुपमा सामना गर्ने क्षमता विकास गर्दै लैजानुपर्ने बताइन् ।
आफू उद्यमी भइरहँदा कामप्रतिको इमानदारीताका साथै सक्छु भन्ने कमिटमेन्ट पनि हुनुपर्ने अध्यक्ष थापाले बताइन् । ‘राज्यको पोलिसी महिलाको नाममाभन्दा पनि पुरुषको नाममा धेरै छ’ उनले भनिन् ‘सम्पत्ति भएको ब्यक्तिले सहजै धितो राखेर सम्पत्ति राखेर ऋण लिन सक्छ त्यसका साथै व्यावसाय पनि गर्दछ । त्यसकारण महिलामैत्री कानुन आवश्यक छ ।’
युजी केक्सकी संस्थापक निकिता आचार्यले आफुले २०१२ मा सानो लगानीमा सुरु गरेको व्यवसायले अहिले ठूलो फड्को मारेको बताइन् । उनले थपिन्, ‘हामीले तालिम दिएका धेरै जना अहिले आत्मनिर्भर भएको र कयौं सफल उद्यमीको रुपमा समेत परिचित हुनुहुन्छ ।’
उनले समाजमा पुरुषको तुलनामा महिलालाई बढी नै चुनौती रहेको उल्लेख गर्दै आचार्यले भनिन्, ‘महिलालाई उद्यमप्रती उत्प्रेरित बनाउन राज्यले विभिन्न नीति त ल्याएको छ । तर महिलाहरु त्यसमा समावेश भएका छैनन् । महिलालाई उद्यममा सहज प्रवेशको लागि राज्यले आफ्ना कानुन र नीतिमा सुधार र परिवर्तन गर्न आवश्यक छ ।’
एनआरएनकी पूर्व अध्यक्ष रविना थापाले अर्थतन्त्र सबल बनाउन महिला उद्यमीको महत्वपूर्ण भूमिका रहने बताइन् । ‘मैले नेपालको एक गाउँबाट सुमद्रपारीको सहरमा पुगेर यहाँसम्म परिचय बनाउन थुप्रै चुनौती र कठिनाइको सामना गर्नुपरेको थियो’ उनले भनिन्, ‘हामीले विदेशमा पनि नेपाली महिलाहरुलाई उद्यमशीलताका लागि प्रेरित गरेका थियौं ।’
उनले नेपालमा सहज रुपमा उद्यम गर्नका लागि राज्यले विश्वास पनि नगर्ने परिस्थिति भए पनि अहिले सहज भएको बताइन् । उद्यम दर्तादेखि धेरै विषयमा झन्झट भएकाले त्यसका लागि सहजीकरण गर्न अवश्यक रहेको उनको बुझाइ छ ।
प्रतिक्रिया