विद्युतीय गाडीको ‘सेकेन्ड ह्यान्ड’ बजार तयार भइसकेको छैन: निराकार श्रेष्ठ



लक्ष्मी समूह नेपाली अटो बजारमा लिडिङ व्यवसायिक घराना हो । कम्पनीले नेपालमै गाडी एसेम्बल गर्न प्लान्टसमेत लगाइसकेको छ । अहिले यो प्लान्टबाट भेन्यु गाडी एसेम्बल भइरहेको छ । सन् २०२५ भित्रै नेपाली बजारमा असाध्यै रुचाईएको क्रेटाको ईभी भर्सन एसेम्बल गर्ने तयारी कम्पनीको छ । कम्पनीले चिनियाँ ब्राण्ड केईका तीनवटा मोडल नाडा अटो शोमार्फत् सार्वजनिक गर्न लागेको छ ।

प्रस्तुत छ, लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्ठसँग क्लिकमान्डुका लागि दिनेश खड्काले गरेको कुराकानी:

गाडीहरुको कुम्भ मेला नाडा अटो शो २०२४ मंगलबारदेखि सुरु हुँदैछ । तयारी कस्तो छ ?

नाडा अटो शोमा लन्च गर्ने कि भनेर नयाँ क्रेटा राखेका थियौं तर गाडी चाँडै नै आइपुग्यो । किन एक महिना कुर्ने भनेर लन्च गर्‍यौं । यो पटकको नाडा अटो शोमा नयाँ जेनेरेसनको हुन्डाई क्रेटा मुख्य आकर्षण हुनेछ ।

हामीले हालसालै नेपालमा चिनियाँ केई ब्राण्डको केई एक्स थ्री प्रो सफ्ट लन्च गरेका छौं । अहिले ३ वटा मोडल आइपुगेकाले लन्च गर्न लागेका छौं । केई चिनियाँ ब्राण्ड हो । यसमा चेरी होल्डिङ्सले लगानी र प्रविधि प्रयोग गरेको छ । केईको तीनवटा मोडल सार्वजनिक गर्न लागेका छौं । एक्स थ्री प्रो एसयुभी कार हो । ह्याच ब्याकमा ईक्युट ४  र इक्युट २ मोडल छन् ।

अटो शो को अधिकांश स्टल चिनियाँ ईभी ल्याउने कम्पनीले बुक गरेका छन् । चिनियाँ ईभी नल्याइकन नेपाली बजारमा अटो व्यवसायीहरु सर्भाइभ हुँदैनन् ?

नेपालको अटो बजार गएको दुई वर्षमा एउटा दिशातिर सिफ्ट भइरहेको छ । यहि दिशा‍ निरन्तर भइरहन्छ भनेर भन्न सक्ने अवस्था अहिले तत्काल छैन । संसारभर ग्रिन र दिगो प्रविधिको लहर चलेको छ । १०/१५ वर्षभित्रमा धेरै देशहरुले ग्रिन मोबिलिटीमा जाने लक्ष्य राखेका छन् । सन् २०४० देखि २०५०सम्म गइसक्ने लक्ष्य राखेका छन् । यसलाई कुन प्रविधिले पूरा गर्छ भन्ने कुरा आजको दिनमा ठ्याक्कै भन्न सक्ने अवस्था छैन ।

अहिले प्रविधिको विकास द्रुत गतिमा भइरहेको छ । कुनै नयाँ प्रविधि आउन समय नै लाग्दैन । अटो मोबाइलको इतिहास हेर्नु भयो भने सन् १९०० सुरु भएपछि १०० वर्ष कम्बसन इन्जिनले राज गर्‍यो । त्यसपछि अरु प्रविधिमा अनुसन्धान हुन थाल्यो । हाईब्रिड आयो । प्लग इन हाइब्रिड आयो । अरु सीएनजी, एलपीजी रिलेटेड आए । ब्याट्री इलेक्ट्रिक भेहिकल प्रमिसिङ देखिएको छ ।

प्रविधिको विकासका कारणले अरु प्रविधि आइरहेका छन् । नयाँ आउने प्रविधिहरु अहिले भएका भन्दा धेरै एफिसियन्ट र वातावरणमैत्री हुनेछन् । त्यसो हुँदा अहिलेको एडप्सन जतापनि जान सक्छ । अहिलेको स्टेज भनेको ट्रान्जिसनको फेज हो । हामी कता जान्छौं भन्नका लागि अझै ५/७ वर्ष कुर्नुपर्ने हुन सक्छ ।

तपाईंले भन्न खोज्नु भनेको अहिलेको हाम्रो अटो बजार आईसीईतिर फर्कन सक्छ भन्ने हो ?

जसले अहिले आएका प्रविधिका सवारीसाधनहरु प्रयोग गरिरहेका छन्, उनीहरुलाई त्यसले आफ्नो जीवनमा भ्यालु एड गरेको छ कि छैन भन्ने थाहा हुन्छ ।  पहिला हामीले अनुमान गर्ने हो । त्यसमा विश्वास गर्ने र प्रयोग गर्ने हो ।

नेपालभन्दा धेरै अगाडी नै संसारमा अरु देशहरु ग्रिन मोबिलिटीमा गइसकेका छन् । नर्वेमा ८० देखि ८५ प्रतिशतसम्म ग्रिन मोबिलिटी एडप्सन छ ।  कतिपय देशमा हाइब्रिड र प्लग इन हाइब्रिडलाई पनि ईभीमा काउण्ट गरिएको हुन्छ । ८०/८५ प्रतिशत एडप्सनमा हाइब्रिड र प्लग इन हाइब्रिड पनि समावेश छ । चीन संसारमा सबैभन्दा धेरै ईभी र ब्याट्री  उत्पादन गर्ने देश हो ।

नेपाललाई हेर्ने हो भने गएको वर्ष ६२ प्रतिशत ईभी एडप्सन छ । यो वर्ष त पूरा नभएकाले आँकडा छैन । हामी ईभी एडप्सनमा संसारकै दोस्रो देश भएका छौं । ६२ प्रतिशतमा पुग्दै गर्दा युजर बेसमा आयो । इकोसिस्टममा लगानी गर्ने, स्थापित गर्ने र मानिसहरुको सहभागिता हुने विषयमा प्रश्न छ । ईभी गाडीको संख्या र चार्जिङ पूर्वाधार हेर्‍यौं भने हामी धेरै पछाडि छौं । 

जुन देशमा इकोसिस्टम बनाएर ईभी गाडीहरु ल्याइएको छ, त्यो देशमा इकोसिस्टम सञ्चालनको खर्च धेरै ठूलो छ । जुन निकाय र संस्थाहरुले लगानी गरेका छन् , ती फाइनान्सियल्ली सस्टेन्ड छैन भनेर रिपोर्टहरु आएका छन् । इकोसिस्टम बनाउन ठूलो लगानी चाहिन्छ । 

चीनले अहिले हाइब्रिड, प्लग इन हाइब्रिड र अहिले रेन्ज एक्स्टेन्डेट भेहिकल हो । जुनमा इलेक्ट्रिक मोटर र ब्याट्री हुन्छ । ब्याट्री चार्ज गर्न इलेक्ट्रिक अन बोर्ड जेनेरेटर हुन्छ । त्यो जेनेरेटरलाई फ्युलले नै पावर गर्छ । तर त्यसले ब्याट्रीलाई चार्ज गरेर बस्छ । ब्याट्रीको मानौं सेल्फ ५०० किमी रेन्ज मानौं, जेनेरेटर ब्याट्रीलाई चार्ज गरेर अर्को ५०० किमी दिएर १००० किमी रेन्ज दिइरहेको छ । त्यस्ता भेहिकलहरु पनि पपुलर भइरहेका छन् । 

नेपालको सन्दर्भमा ईभीको इतिहास हेर्ने हो भने २०१०/११ तिर रेभा भन्ने गाडी आयो । त्यो ब्याट्री इलेक्ट्रिफाइड थियो । इलेक्ट्रिक भेहिकलमात्रै भन्ने हो भने त हामीले ट्रली बसलाई सम्झनै पर्ने हुन्छ । सुरुमा ब्याट्री ईभीलाई आईएनजीओ भेहिकल भनेर चिनिन्थ्यो । यसको स्पाइक चाहीँ २०१५ मा नाकाबन्दी हुँदा डिजेल/पेट्रोलको सर्टेज भयो । त्यहि बेला भएको थियो ।

नेपालमा त्यहीबेला ईभी प्रमोसन गर्नुपर्छ भनेर राज्यले नीति बनायो । अरु नीतिभन्दा पनि ईभी सस्तो बनाउनुपर्छ भन्ने नीति बन्यो। भन्सार दरलाई घटाएर एफोर्डेबल बनाउने नीति लिइयो ।  त्यही बेलाबाट सुरु भएको इलेक्ट्रिक भेहिकलको अहिले नेपालमा राम्रो प्रवर्द्धन भइरहेको छ । उपभोक्ताको दृष्टिकोणबाट प्राइसवाइज फाइदाजनक छ । एक्सेस टु फाइनान्स र ब्याजदरका हिसाबले पनि राम्रो छ । सबै हिसाबले अहिले ईभी किन्न राम्रो वातावरण छ । गएको दुई वर्ष र अब ईभीको नीति कस्तो हुन्छ भन्ने रहला । यो गोल्डेज फेज छ, सरकारको नीति र अन्य कारणले । 

उपयुक्त समय हो । तर त्यो प्रोडक्ट उपभोक्ताका लागि हो कि होइन भन्ने चाहीँ दोस्रो विषय हो । एउटा मान्छेले भेहिकलको लाइफ टाइममा प्रयोग गरेपछि छलफल हुनेछ ।

ईभीमा करेक्सन आउँछ भन्न खोज्नु भएको हो ?

सरकारले भन्सारमार्फत ईभीलाई अनौपचारिक रुपमा सब्सिडाइज दिइरहेको हो । कति समयसम्म रहन्छ रहँदैन भन्ने एउटा कुरा रह्यो । भारतमा पनि सरकारले ५ वर्षअघि सब्सिडाइज दिन थालेको थियो । अहिले घटाउँदै लगेको छ । १५ लाखभन्दा कमको गाडीमा सरकारले सब्सिडाइज भनेर डेढ लाख रुपैयाँ दिएको छ । नेपालको तुलनामा हेर्ने हो भने भारत सरकारले दिएको केहि पनि सब्सिडाइज होइन । अरु देशका सरकारले सब्सिडाइज दिइरहेको छ । हामी कहाँ दिइरहेको ठाउँ र स्पिरिट चाहिँ सही भएन कि भन्ने छ । यो छलफल गर्न सकिने विषय हो । 

तपाईंहरु नेपाली अटो बजारको नेतृत्वदायी कम्पनी हो । नेपालमा एसेम्बल प्लान्ट खोल्नु भएको छ । भेन्यु एसेम्बल गरिरहनु भएको छ । क्रेटा ईभी कहिलेबाट थाल्ने हो ?

एसेम्बल प्लान्ट कहिले पनि आईसीई गाडीमात्रै उत्पादन गर्ने भनेर परिकल्पना गरिएको होइन । हुन त यो परियोजनाको परिकल्पना  गर्न ५/७ वर्ष लाग्यो । सन् २०२१/२२ को सन्दर्भमा ईभी अलि पछाडि उत्पादन गर्ने भन्ने थियो । अहिलेको बजारस्थिति हेरे अगाडि तान्न लागेका छौं । जनवरीमा क्रेटा इलेक्ट्रिक भर्सनमा आउँदैछ । २०२५ भित्र उत्पादन गर्ने योजनाका साथ काम गरिरह‍ेका छौं  । क्रेटा एकदमै रुचाईएको एसयुभी कार हो । यसको मूल्य आईसीईभन्दा सस्तो हुनेछ ।

तपाईंहरु ईभी पनि बेच्नुहुन्छ । आइसीईमा त लिड कम्पनी नै हो । चार्जिङ पूर्वाधार पाइएन, अरु के-के पाइएन भन्दै कस्ता गुनासोहरु आइरहेका छन् ?

इलेक्ट्रिक भेहिकल आफ्ना लागि उपयुक्त हो कि होइन भन्ने कुरा उपभोक्ताले बुझ्नुपर्छ । हामीले बेचेका १००० युनिट इलेक्ट्रिक गाडीमा मेकानिकल फेलियर, इलेक्ट्रिकल फेलियर जस्तो समस्या खासै भोगेका छैनौं । 

मेजर कम्पेलन भनेको ग्राउण्ड क्लियरेन्सको कारणले प्राइमरी भेहिकल हुन सकेन भन्ने हो । अर्को गाडीमा भर पर्नुपर्‍यो भन्ने हो । यो लामो दुरीमा काठमाडौं बाहिर जाँदा हो । चार्जको एन्जाइटी छ । चार्जिङ स्टेसन कहाँ छ, त्यहाँ पुग्दा चार्ज गर्न नपाउने हो कि कुनै समस्या छ कि जस्ता एन्जाइटी छन् ।

यो कन्सर्न र एन्जाइटी छ । यो इकोसिस्टमको विषय हो । २०१८ अन्त्यमा हामीले कोना ईभी लन्च गरेको हो । सुरुवाती चरणमा लिएकाहरुको गाडी ५/६ वर्ष हुन लाग्यो । नेपालमा ५/६ वर्ष चलेपछि मानिसहरु अपग्रेड गरौं भनेर सोच्छन् । यो अपग्रेड गर्ने क्रममा पूराना गाडी बिक्री गर्न पर्‍यो ।

दोस्रो बजार अर्थात् सेकेण्ड ह्याण्ड मार्केटमा ईभीको कति मूल्यांकन गर्ने र कसरी गर्ने भनेर मूल्यांकन गर्न नसक्ने अवस्था छ ।  रिक्स लिन नसकेर मूल्यांकन गर्न नसकेको हो ।

सेकेण्ड ह्याण्ड ईभी किन्न आउने ग्राहक हुन्छन् कि हुँदैनन् भन्ने पनि शंका हुन थाल्यो । इलेक्ट्रिक गाडीको ब्याट्रीको आयु सामान्यतया: ७ देखि ८ वर्षसम्म दिएको छ । 

६ वर्ष पूरानो गाडी किन्दा २ वर्ष वारेन्टी रहन्छ ।  ९ वर्षमा ब्याट्री किन्न पर्‍यो भने कति लागत आउँछ ? भन्ने कुराले सेकेण्ड ह्याण्ड ईभी गाडी किन्नेमा झिँझक हुनसक्छ । १२ वर्ष चलिसकेको भए, चल्न सक्ने रहेछ भन्ने हुन्थ्यो ।

अहिले त हामी सम्भाव्यता हेरेर चलिरहेका छौं । त्यो अवस्थामा हामीलाई कसैले कोना दिएर आयोनिक लैजान्छु भन्यो भने त्यसको मूल्यांकन हामी आफैंले गर्दा रिक्स लिनुपर्छ । गत वर्ष हामीले एक्सचेन्ज क्याम्प गर्‍यौं । कोना दिएर आयोनिक लैजाँदा २०१९ मा ५१ लाख रुपैयाँमा लगेको कोना हामीले न्युनतम ४० लाख रुपैयाँ भ्यालुएसन दिएका छौं । यो क्याम्पेनपछि  उपभोक्ताहरु एकदमै खुसी छन् । ५/६ वर्ष चढेर ४० लाख रुपैयाँ भ्यालुएसन पाए, ८० प्रतिशत भ्यालु रिटेन्सन भयो ।

हाम्रोलाई रिक्स हुने भयो । हामीले कति गाडी लिएर दोस्रो बजारमा जानै पर्छ । दोस्रो बजार तयार छैन । त्यहि कारणले रिसेल भ्यालु ह्‍वात्तै घटिरहेको छ । एकदमै भ्यालुएसन पाएको सुन्नमा आएको छ । 

एसेम्बल प्लान्ट लगाउनुभयो । विदेशबाट ल्याएर पार्टपूर्जा जोडजाड गर्नु भयो । एसेसोरिसेज उत्पादनको योजना बनाउनु भएन भन्ने छ नि ?

यो मैले बुझाउन पनि चाहेको कुरा हो । हामी कहाँ गाडी उत्पादन भनेको एउटा र एसेम्बल भनेको अर्को चिज हो भन्ने बुझाइ छ । सकेको ठाउँमा, पुगेको ठाउँमा यो कुराहरु बुझाउने प्रयास गरिरहेको छु । एसेम्बल नगरी कुनै पनि गाडी बन्दैन । गाडी उत्पादन विभिन्न चरणमा हुन्छ ।  सुरुमा त्यसको मेटल सिट बन्नु पर्‍यो । मेटल सिटलाई स्टाम्पिङ गरेर गाडीको आकार दिनुपर्छ । आकार दिएपछि वेल्डिङ र पेन्टिङ गर्नुपर्‍यो  र बाँकी कम्पोनेन्ट जोड्नुपर्छ । 

जहाँसुकै जानु चार भागमा विभाजन गरेर गाडी उत्पादन गरिन्छ । फ्रेस शप, वेल्डिङ शप,पेन्ट शप र एसेम्बल शप । हामी अहिले गरिरहेको अन्तिम चरण अर्थात एसेम्ब्लिङ शप । यो चरणमा स्थानीय सामाग्रीको प्रयोग एकदमै कम हुन्छ । हामीले त्यसमा केही गर्न खोजेका छौं । १२–१३ वटा स्थानीय उत्पादन गर्ने र प्रयोग गर्ने कुरामा काम गरिरहेका छौं ।

सरकारको नीतिअनुसार पनि हामीले एसेम्बल गरेको छैटौं वर्षमा १० प्रतिशत स्थानीय कम्पोनेन्ट पुर्‍याउनुपर्छ । त्यसमा पनि अघि बढ्नुपर्छ । हामी पहिलो वर्ष सामान ल्याएर त्यसमा फिट हुनुपर्छ । दोस्रो, तेस्रो वर्षबाट प्रयोग गर्न थाल्छौं । छैठौं वर्षमा १० प्रतिशत त पुर्‍याउनै पर्छ । त्यो भन्दा बढी पुर्‍याउने प्रयासमा छौं ।

यहाँ भएका प्लाष्टिक उद्योग, वायरिङका उद्योग छन् । उहाँहरुसँग खरिद गरेर प्रयोग गर्छौं । केही कम्पोनेन्टका लागि हामीले नै उद्योग राख्नुपर्ने हुन्छ । त्यसमा हामी लागिरहेका छौं । तोकिएअनुसार ६ वर्षमा १० प्रतिशतभन्दा बढी पुर्‍याउँछौं । सँगै अरु उद्योगहरुको पनि विकास हुने वातावरण बनाउने गरी काम गर्दैछौं । यसले देशको अर्थतन्त्रलाई योगदान गरोस् भनेर काम गरिरहेका छौं ।


क्लिकमान्डु