सिप्रदी र यात्रीको ‍जेभीले काम थाल्यो, १४ महिनामा २ पाङ्ग्रे ईभीको डिजाइन तयार पार्ने

'भारत र चीनका इभी ९ डिग्री ग्रेडियन्टसम्म चढ्छन्, नेपालमा १७/१८ डिग्री छ, त्यसअनुसार बनाउँछौं'



काठमाडौं ।  सिप्रदी ट्रेडिङ र यात्री डिजाइन स्टुडियोको सयुक्त उपक्रम (जेभी) कम्पनीले काम थालेको छ । असार तेस्रो साता दुई कम्पनीबीच नेपालमै दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन (ईभी) उत्पादन गर्न सहकार्यको सम्झौता भएको थियो ।

नेपालमै उत्पादन भइरहेको विद्युतीय मोटरसाइकल यात्री र सिप्रदी ट्रेडिङले दुईपाङ्ग्रे सवारीसाधन उत्पादन, प्रवर्द्धन र बजारीकरणका लागि सयुक्त कम्पनी स्थापना गर्ने सम्झौता गरेका थिए । उक्त सम्झौतामा जेभी कम्पनी बनाएर अघि बढ्ने उल्लेख थियो ।

सोहीअनुसार सयुक्त कम्पनी बनाएर डिजाइनको काम थालेको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले बताए । उनकाअनुसार करिब १४ महिनामा डिजाइन तयार हुनेछ ।

‘सानो सानो कम्पोनेन्टलाई एउटा प्रोजेक्ट बनाएर काम गरिरहेका छौं । ब्याट्रीको एउटा, च्यासिसको एउटा गर्दै धेरैवटा कम्पोनेन्टको ५१ वटा प्रोजेक्ट बनाएर काम गरिरहेका छौं । ब्याट्री यहि बनाउने हो । यहि डिजाइन गर्ने हो । अहिले प्रोजेक्टको काम सुरु भएको छ,’ सीईओ श्रेष्ठले भने, ‘सबै काम राम्रोसँग गयो भने १२ देखि १४  महिनामा डिजाइन तयार पारेर हामी प्रोडक्ट निर्माण जान्छौं ।’

उनकाअनुसार यात्रीसँग टेक्निकल एक्सपर्टिज छ । उनीहरुसँग इन्टेलीजेन्ट्स टिम छ । अहिले यात्रीले गरेकोभन्दा फरक डिजाइन गर्न लागिएको हो । कस्तो मोडलको दुई पाङ्ग्रे बनाउने भनेर डिजाइन तयार भएपछि भन्न सकिने उनले बताए ।

श्रेष्ठका अनुसार अहिले बजारमा पाइने ४ लाखभन्दा कम मूल्यका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपालको भूगोल अनुकुल छैनन् । त्यसभन्दा मुनिका कतिपय ईभी घरमा जाँदा धकेलेर लैजानुपर्ने खालको छ ।  ‘भारत र चीनमा बनेका दुईपाङ्ग्रे ९ डिग्री ग्रेडियन्टसम्म चढ्ने हुन्छन् । त्यहाँ पहाडहरु फोडेर सडक बनाइएको छ । त्यहाँ त्यत्तिको क्षमताको राम्रो मानिन्छ,’ उनले भने,’ नेपालमा १७/१८ डिग्री ग्रेडियन्ट छ । हामीले नेपाल सुहाउँदो बनाउन लागेका हो,’ श्रेष्ठले भने ।

उनका अनुसार अब बन्ने बाइक नेपालीहरुले किन्न सक्ने किफायती मूल्यको हुनेछ । ८० देखि १०० किलोमिटर रेन्ज दिन सक्ने हुनेछ । ‘सिप्रदीले देशमा केहि गरौं भन्ने सोचमा काम गरिरहेका छ । देशमै भएको जनशक्ति र प्रविधिबाट अफडोर्यवल प्राइसमा हामी दुई पाङग्रे ईभी तयार पार्छौं,’ उनले भने,’ टेक्नोलोजीवाइज राम्रो छ । उनीहरुको मास मार्केटमा फोकस प्रोडक्ट छैन । हामीले मास मार्केटमा फोकस प्रोडक्ट ल्याउन लागेका हौं । स्क्राचदेखि नै टिम थपेर काम गरिरहेका छौं,’ उनले भने।

सीईओ श्रेष्ठका अनुसार ९७ प्रतिशत नेपाली र ३ प्रतिशत विदेशी समेत मिलेर यसमा काम गरिरहेका छन् । उनले नेपालमा नै त्यस्तो सक्षम जनशक्ति भएकोमा खुसी लागेको बताए ।

सस्तो मूल्यमा राम्रो उत्पादन गर्न सकिए बाहिर निर्यातको समेत सम्भावना रहेको उनको भनाइ छ । ‘देशभित्र दुई पाङ्ग्रे साढे दुई लाख युनिटसम्म बिक्री भए हो । अहिले युवापुस्ता विदेश जाने बढेर केहि घटेको छ । १ लाख युनिट मात्रै पुग्ला जस्तो छ,’ उनले भने, ‘दिनभरि बाइक २० रुपैयाँ बिजुलीको मूल्यमा चढ्न पाए को नचढ्ला ?’ कार्यालय जान/आउनका लागि पेट्रोलको बाइक चढ्दा एक/डेढ सय रुपैयाँ खर्च हुने अवस्था रहेकोमा विद्युतीय सवारी भए त्यो बचत हुने उनी बताउँछन् ।


क्लिकमान्डु