
काठमाडौं । नवगठित नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आउँदो साउनमा नेपाल मोबिलिटी एक्स्पो गर्ने घोषणा गरेको छ ।
बुधबार संस्थाको औपचारिक उद्घाटन कार्यक्रममा नाइमाले काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म मोबिलिटी एक्स्पो गर्ने घोषणा गरेको हो । नाइमाको यो घोषणासँगै एक साताकै अन्तरालमा काठमाडौंमा दुई अटो शो हुने भएको छ ।
अटो व्यवसायमा लामो लिगेसी बोकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले यसअघि नै आगामी भदौ ३ देखि ८ सम्म १७ औं संस्करणको नाडा अटो शो गर्ने घोषणा गरिसकेको छ । साथै, गत फागुन २७ देखि चैत ४ गतेसम्म नाडाले स्टल बुकिङका निम्ति रजिस्ट्रेसन पनि खुला गरेको थियो । तर, नाइमाले एक साता अघि मोबिलिटी शो गर्ने घोषणा गरेसँगै नाडा अटो शोमा धक्का लाग्ने देखिएको छ ।
यसै पनि नाडा फुटेर नाइमा बनेसँगै अटो व्यवसायी दुई धारमा विभाजित भएका छन् । विगतका वर्षमा एकै ठाउँमा अटो प्रदर्शनी गर्ने व्यवसायीहरु यसवर्ष दुईतर्फ विभाजित हुँदा त्यसको असर नाडा अटो शोमा देखिनेछ । यसका अलावा एक साताको छोटो अन्तरालमा नै दुई प्रदर्शनी हुँदा दुबै अटो शोमा उत्साह र रौनक कम हुने निश्चित छ ।
नाडा र नाइमा दुबै संस्थामा रहेका आकाश गोल्छा एउटै ब्रान्ड दुबै प्रदर्शनीमा सहभागि हुन सम्भव नरहेको बताउँछन् । ‘एक साताको अन्तरालामा दुई अटो शो हुँदैछन् । एउटै ब्रान्डले दुईतर्फ भाग लिन सक्ने स्थिति पनि रहँदैन,’ गोल्छाले भने, ‘ब्रान्डहरु दुईतर्फ विभाजित हुँदा पहिलाको जस्तो रौनक नरहन सक्छ ।’
उनले अटो ब्रान्डहरु जता सस्तो पर्छ उतै सहभागि हुने भएकाले पहिला एकै ठाउँमा हुँदाको जस्तै अवस्था नरहने बताए ।

ऋतुसिंह वैद्य नेतृत्वको नाइमाको कार्यसमिति सदस्यहरुमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदायन काब्रा आदि रहेका छन् । यसबाट पनि नाडा अटो शोमा विगतका वर्षमा आकर्षक रुपमा रहेका ब्रान्ड यस वर्ष नाइमातर्फ सर्ने देखिन्छ जसले गर्दा नाडा अटो शोको रौनक कम भएर जाने निश्चित देखिन्छ ।
हुन, त गत चैत २४ गते नाडाका अध्यक्ष करण चौधरी र नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए । दुवै संस्थाको कार्यक्षेत्र, भूमिका र सहकार्यबारे प्रस्ट पार्दै मिलेर अगाडि बढ्ने संकेत उनीहरुले दिन खोजेका थिए । तर, अटो शो कसले अघि गर्ने भन्ने प्रतिस्पर्धा र एकले अर्कोलाई अप्ठ्यारो पार्ने प्रवृत्ति सुरु भएको संकेत नेपाल मोबिलिटी एक्स्पोको घोषणाले गरेको छ ।
नाइमाले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तो र व्यवस्थित स्टल दिने दाबी गरेको छ भने अवलोकनकर्तालाई कम मूल्यमा टिकेट दिनेदेखि मिडिया र बिजनेश डेको लागि अलगै दिनको व्यवस्था गर्ने समेत घोषणा गरेको छ । यसबाट पनि दुई बीचमा ब्रान्ड तान्ने राम्रे होडबाजी चलेको देखिन्छ । बुधबार नाइमा अटो शो कमिटीका सदस्य गौरब शारडाले मोबिलिटी एक्स्पो उदाहरणीय हुने तर्क गरे ।
‘नेपाल मोबिलिटी एक्स्पो अटो उद्योगका लागि एक कोशेढुंगा सावित हुने छ,’ शारडाले भने, ‘यसले अत्याधुनिक मोबिलिटीलाई विकास गर्दै नेपाल विकसित मोबिलिटी संस्कृतिलाई थप प्रवद्र्धन गर्ने छ ।’ उनले ‘मोबिलिटीमार्फत् विकासलाई शसक्त बनाउने’ दृष्टिकोणका साथ प्रदर्शनी गर्न लागेको बताए ।
नाइमाको स्टल मूल्य सस्तो रहेका कारण पनि कतिपयले नाडाको तुलनामा बढी अटो ब्रान्ड नाइमातर्फ जाने तर्क गरिरहेका छन्।
बुधबार नाइमाको घोषणा कार्यक्रममा यस विषयलाई नाइमा संस्थापक सदस्य सुहृदराज घिमिरेले स्वीकार गरेका थिए ।
‘नेपाली अटोमोबाइल्स क्षेत्रमा अहिले पछिल्लो तीन दशक यताकै भिन्न किसिमको उतारचढाव देखिएको छ । यसले लामो समयदेखि एक ठाउँमा उभिँदै आएका अटो व्यवसायीलाई भिन्न ठाउँमा उभिने अवस्था सिर्जना गरेको छ,’ घिमिरेले भने, ‘नीतिगत रुपमा सही बाटो पहिल्याएर अगाडि बढ्न नसक्दा नाडा टुक्रिन पुगेको छ ।’ उनले ठूलो पुँजी लगानी गर्ने व्यवसायी र उद्योग यो अवस्थामा पुग्नु उचित नभएको संकत गरेका थिए ।
नाइमा अध्यक्ष वैद्यले भने प्रगतिशील नीतिहरूको वकालत गरेर, दिगो नवप्रवर्तनहरूलाई सक्षम पार्दै, शिक्षा र जागरूकता मार्फत उपभोक्ताहरूलाई सशक्त बनाएर नेपालको अटोमोटिभ परिदृश्यलाई सक्रिय रूपमा आकार दिन लागि पर्ने तर्क गरिन् । उनले नाइमा सबैका लागि गतिशील समाधान, सुरक्षा र पूर्वाधार अभिवृद्धि, नीति र नियामक वकालत, मानव पूँजी र उद्योगका उत्कृष्ट अभ्यास तथा उपभोक्ता सशक्तिकरण र साझा गतिशीलतामा केन्द्रीत हुने बताइन् ।
‘सडक सुरक्षा र पूर्वाधार विकासको प्रवद्र्धन गर्ने, कार्यबल उत्कृष्टतालाई बढावा दिने, र सहयोगी पारिस्थितिक प्रणालीलाई प्रवद्र्धन गर्ने, जसले गर्दा नैमालाई उद्योगको विकास र सामाजिक लाभको लागि एकीकृत आवाज र विश्वसनीय प्राधिकरणको रूपमा स्थापित गर्नेछ,’ अध्यक्ष वैद्यले भनिन् । तर, कतिपयले भने व्यवसायी दुईतर्फ विभाजित हुँदा उनीहरुको आवाज बलियो नहुने तर्क गर्दै आएका छन् ।









प्रतिक्रिया