महानिर्देशक अधिकारीलाई सांसदको प्रश्न: तपाईं आएपछि ७ वटा विमान दुर्घटना भइसके त्यसको जिम्मेवारी लिनु पर्दैन ?

महानिर्देशकको जवाफ: बोल्न मिल्दैन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि संसदीय समितिमा हवाई उड्डयन सुरक्षामा गम्भीर कमजोरी गरेको आरोप लागेको छ ।

बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्ने सांसदहरुले अधिकारीकै कमजोरीले हवाई दुर्घटना बढेको आरोप लगाए ।

बुधबारमात्र सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै दुर्घटनामा पर्दा १८ जनाको ज्याएन गएको थियो । बहीबार बसेको बैठकमा सांसदहरुले नियामकको कमजोरीले दुर्घटना बढीरहेको भन्दै प्राधिकरणका महानिर्देशक अधिकारीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने माग गरे ।

अधिकारीले उड्डयन प्राधिरणको जिम्मेवारी लिएको साढे २ वर्षमा ७ वटा दुर्घटना भइसकेको भन्दै उनीमाथि नैनिकताको प्रश्न उठेको हो । नेपाली कांग्रेसका सांसद समेत रहेका समिति सदस्य उदय शमशेर जबराले प्राधिकरणका महानिर्देशक अधिकारीको क्षमतामाथि प्रश्न उठाए । ‘तपाईं आएपछि ७ वटा हवाई दुर्घटना भइसकेको छ, तपाईंले त्यसको जिम्मेवारी लिनु पर्दैन ?’ राणाले प्रश्न गरे ।

राणाले महानिर्देशकले दोष अरुलाई लगाएर पन्छन नमिल्ने बताए । ‘तपाईंले नेतृत्व गरेयता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसको जिम्मेवारी लिनुपर्दैन ? दोष जति सधैं अरूलाई नै लगाउने ?’ राणाले प्रश्न गरे ।

सौर्य एयरको विमान दुर्घटनामा इन्जिनियर, प्राविधि बाहेकका असम्बन्धित व्यक्ति र बच्चसमेत परेको भन्दै समितिका सभापति राजकिशोर यादवले महानिर्देशक अधिकारीमाथि प्रश्न गरेका थिए । तर अधिकारी भने सरकारले छानबिन समिति गठन गरिसेकोले बोल्न उपयुक्त नहुने भन्दै पन्छिए । अधिकारी सरकारले छानबिन समिति गठन गरिसेकोले बोल्न उपयुक्त नहुने भन्दै पन्छिए ।

‘घटना घटिसकेको छ, सरकारले छानबिन आयोग गठन गरिसकेको छ । यसमा हामी सबै अनुसन्धानको दायरामा छौँ,’ अधिकारीले भने, ‘आयोगले सत्य तथ्य छानबिन गर्ला । यस विषयमा मैले बोल्न उचित हुँदैन ।’

समिति सभापतिसँग भनाभनपछि पूर्वमन्त्री किरातीको बैठक बहिष्कार

निवर्तमान पर्यटनमन्त्री सुदन किराती र समितिका सभापति राजकिशोर यादवबीच समिति बैठकमै भनाभन भएको छ । विषयवस्तुमा केन्द्रित हुने विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र किराँतीबीच विवाद भएको हो ।

पूर्वमन्त्री किराती नेपालको हवाई सुरक्षा र कोरिया जाने नेपाली कामदारको विषयमा फ्लाइटको एकाधिकारको मुद्दामा बोल्दै थिए । त्यतिबेलै सभापति राजकिशोरले टेक्निकल विषयमा केन्द्रित हुन र भनाइ पनि छोट्याउन आग्रह गरे ।

‘माननीयज्यू विषयवस्तुमा केन्द्रित हुँदै टेक्निकल पक्षमा विचार राख्न र समय छोट्याउन आग्रह गर्दछु,’ सभापति यादवले आग्रह गरेका थिए ।

सभापतिको भनाइ नसकिँदै आक्रोशित हुँदै किरातीले आफू विषयवस्तुमा नै केन्द्रित भएर भनाइ राख्दै गर्दा बोल्न नदिएको भन्दै आपत्ति जनाए ।

‘सभापतिज्यू म त कुनै टेक्निसियन होइन नि, कुनै जहाज चलाउने पाइलट पनि होइन नि । फेरि म कसरी टेक्निकल विषयमा बोल्न सक्छु । म त राजनीतिक प्राणी हो नीतिगत पक्षमा बोल्ने हो’ रिसाउँदै उनले भने ।

त्यसपछि किरातीले समितिको बैठक नै बहिष्कार गरेर हिँडेका थिए ।


क्लिकमान्डु