विमान दुर्घटनाबारे सांसदको प्रश्नमा क्यानका महानिर्देशकको जवाफ: बोल्न मिल्दैन



काठमाडौं । बुधबार विहान सौर्य एयरलाइन्स दुर्घटना र असम्बन्धित व्यक्तिहरु विमानमा सवार भएको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ ।

बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुले बुधबारको दुर्घटनाबारे प्रश्न गरेका थिए ।

तर नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सांसदहरुको प्रश्नलाई गम्भीर रुपमा नलिइ पन्छिएका छन् ।

सौर्य एयरको विमान दुर्घटनामा इन्जिनियर, प्राविधि बाहेकका असम्बन्धित व्यक्ति र बच्चसमेत परेको भन्दै समितिका सभापति राजकिशोर यादवले महानिर्देशक अधिकारीमाथि प्रश्न गरेका थिए । तर अधिकारी भने सरकारले छानबिन समिति गठन गरिसेकोले बोल्न उपयुक्त नहुने भन्दै पन्छिए ।

‘घटना घटिसकेको छ, सरकारले छानबिन आयोग गठन गरिसकेको छ । यसमा हामी सबै अनुसन्धानको दायरामा छौँ,’ अधिकारीले भने, ‘आयोगले सत्य तथ्य छानबिन गर्ला । यस विषयमा मैले बोल्न उचित हुँदैन ।’

कांग्रेस सांसद उदय शमशेर जबराले प्राधिकरणका महानिर्देशक अधिकारीको क्षमतामाथि प्रश्न उठाएका छन् । अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेको भन्दै त्यसको जिम्मेवारी लिनु पर्ने बताए ।

‘प्राधिकरणमा तपाईँकै नेतृत्व यता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसको जिम्मेवारी लिनुपर्दैन ? दोष जति सधैँ अरूलाई नै लगाउने ?’ राणाले प्रश्न गरेका थिए ।

बुधबार काठमाडौंबाट सीचेकका लागि पोखरा उडेको सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

कम्पनीका प्राविधिक र इन्जिनियर लिएर पोखरा उडेको विमानमा पाइलट बाहेक सबैको मृत्यु भएको छ । दुर्घटनामा एक बच्चासहितको घटनास्थलमै मृत्यु भएको हो ।


क्लिकमान्डु