ट्रम्पमाथि गोली प्रहार: अमेरिकामा राजनीतिक हिंसा सामान्य बन्दै गएको संकेत



अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई हत्या गर्ने उद्देश्यले गोली प्रहार गरिएपछि अमेरिकामा बढ्दो राजनीतिक हिंसाका विषयमा बहस चल्न थालेको छ ।

शनिवार (१३ जुलाई) मा पेन्सिल्भेनियास्थित बटलर काउन्टीमा चुनावी अभियानका क्रममा भाषण गरिरहेका ट्रम्पमाथि टमस म्याथ्यु क्रूक्स नामक एकजना बन्दूकधारीले १३० गज पर रहेको एक भवनको छतबाट गोली चलाएका थिए । त्यो गोली ट्रम्पको दाहिने कानको माथिल्लो भागमा लागेको थियो । उनको कानबाट रगत बगिरहेको थियो भने रक्ताम्मे अवस्थामा उनले दाहिने मुट्ठी उचालेर हामी लडिरहन्छौं भनेका थिए ।

ट्रम्पलाई गम्भीर चोटपटक नलागेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बन्दूकधारीलाई तत्कालै सिक्रेट सर्भिसका सैन्य अधिकारीले गोली हानेर मारेका थिए । तर खुला ठाउँमा ट्रम्पलाई ताकेर गोली हान्ने अवस्था आउनुमा सिक्रेट सर्भिसको लापरबाही जिम्मेवार रहेको आरोप लगाइएको छ ।

अझ त्यसमाथि ट्रम्पको भाषण सुन्न आएका केही मानिसले बन्दूकधारी छततर्फ घस्रिँदै चढिरहेको देखेर चिच्याएको बताइएको छ । तर उनीहरूको आवाजलाई सुरक्षाकर्मीहरूले बेवास्ता गरेको खबर छ ।

चुनावी कार्यक्रममा सहभागी एकजनाको गोली लागेर मृत्यु भएको समाचारहरू प्रकाशन भएका छन् ।

घटना भएलगत्तै बहालवाला राष्ट्रपति जो बाइडनका साथै प्रमुख अमेरिकी राजनीतिकर्मीहरूले राजनीतिमा हिंसाको कुनै स्थान हुँदैन भनी निन्दा गरेका थिए । बाइडनले ट्रम्पसँग फोनमा कुराकानी गरी उनको हालखबर सोधेको खबर छ ।

अमेरिकी राजनीतिकर्मीहरूले राजनीतिक हिंसाको विरोध गरेको भए पनि विगत केही वर्षयता अमेरिकाको राजनीतिमा चरम ध्रुवीकरण बढ्दै गएकाले हिंसाको सम्भाव्यतालाई ह्वात्तै बढाएको छ । यस चुनावी वर्षमा विभिन्न राजनीतिकर्मी र अधिकारीहरूले हिंसाको धम्की बेहोरिरहेको बताइएको छ ।

ट्रम्पलाई पुनः राष्ट्रपति बन्न नदिनका लागि हिंसाको बाटो समेत अपनाउन उचित हुने भनी शिकागो विश्वविद्यालयले गरेको एक सर्वेक्षणमा सहभागी १० प्रतिशत व्यक्तिले आफ्नो धारणा दिएका थिए । विगतमा ट्रम्पको पक्षमा रही विरोधीहरूमाथि हिंसा गर्न जायज हुन्छ भन्ने विचार राख्ने व्यक्तिहरूको संख्या ठूलो थियो भने अहिले ट्रम्पमाथि नै हिंसा गर्नुपर्नेको जमात बढ्दै गएको उक्त सर्वेक्षणले देखाएको छ ।

यसमा विरोधी पक्षको भाष्यका साथै ट्रम्प स्वयंको अभिव्यक्तिले पनि उत्प्रेरणाको काम गरेको देखिन्छ । विरोधी डेमोक्रेटिमक पार्टीका नेताहरूले ट्रम्प लोकतन्त्रविरोधी तानाशाह हुन् र उनी पुनः निर्वाचित भएमा उनले अमेरिकाको राजनीतिक तथा सामाजिक स्वतन्त्रता अन्त्य गरिदिनेछन् भन्दै आएका छन् ।

अनि ट्रम्प आफैंले पनि निर्वाचित भएको पहिलो दिनदेखि नै बाइडनका सबै नीतिलाई उल्ट्याउने र आफूलाई दुःख दिनेहरूका विरुद्ध आक्रामक कारवाही थाल्ने भनी निर्वाचन अभियानका क्रममा भनिसकेका छन् । त्यसैगरी अमेरिकामा प्रवेश गरेका विशाल संख्याका अवैध आप्रवासीहरूलाई जबर्जस्ती देशनिकाला गर्ने र अमेरिकी शहरमा बढिरहेको अपराधलाई निर्मूल गराउनका लागि सैन्यबलको उपयोग गर्ने प्रतिज्ञा पनि उनले गरेका छन् । क्यालिफोर्निया लगायतका राज्यमा बढ्दो पसल डकैतीका दोषीलाई मृत्युदण्ड दिने नीति ल्याउने पनि उनले बताएका छन् ।

यस्ता कदमलाई ट्रम्पको तानाशाही चरित्रका रूपमा व्याख्या गरी उनी अमेरिकी लोकतन्त्रका लागि ठूलो जोखिमका रूपमा रहेको भनी विरोधीहरूले भाष्य खडा गरेका छन् । त्यसमाथि उनीविरुद्ध ९० भन्दा बढी आरोप लगाएर कतिपय आरोपमा उनलाई अदालतले दोषी समेत ठहर गरेको अवस्था रहेकाले उनका विरोधीहरूले एक अपराधीलाई पुनः राष्ट्रपति बन्न नदिनका लागि गर्न सकिने सबै उपाय अपनाउन खोजिरहेका छन् ।

त्यस्तै ट्रम्पका समर्थकहरू पनि विपक्षी डेमोक्रेटिक पार्टीका समर्थकहरूका विरुद्ध हिंसा भड्काउने अभिव्यक्ति दिइरहेका हुन्छन् । ट्रम्पलाई ३४ वटा अपराधमा एक अदालतले दोषी ठहर गरेपछि उनको समर्थक समूह प्राउड बोइजले ट्रम्पलाई दण्डित हुनबाट बचाउनका लागि युद्ध शुरू गर्नुपर्ने भनी चर्का कुरा गरेको थियो । उक्त युद्धमा विरोधी डेमोक्रेटिक पार्टीका नेता कार्यकर्तालाई छानीछानी कारवाही गर्ने धम्की दिइएको थियो ।

त्यस्तै गत जुन महिनामा टेक्ससमा टिमोथी मुलर नामक व्यक्तिले अमेरिकी अनुसन्धान निकाय एफबीआईका एक अधिकारीलाई ज्यान मार्ने धम्की दिएका थिए । ती अधिकारीले राष्ट्रपति बाइडनका छोरा हन्टरविरुद्धको बन्दूक सम्बन्धी अपराधको अनुसन्धान गरी उनलाई दोषी ठहर गराउन मद्दत गरेका थिए । तर मुलरलाई त्यतिले चित्त नबुझेपछि एफबीआईका अधिकारीविरुद्ध हन्टरको बालयौन दुराचारका फाइलहरू लुकाएको आरोप लगाउँदै “देशद्रोहीको घरमा पसेर कुकुरलाई झैं गोली हानेर मारिदिने” धम्की दिएका थिए । अहिले उनी पक्राउ परी थुनामा छन् ।

सन् २०२१ को आरम्भमा बाइडनलाई राष्ट्रपति बन्न नदिनका लागि संसद् भवनमा ट्रम्प समर्थकहरूले आक्रमण गरेका थिए । त्यतिखेर ट्रम्पलाई छलकपट गरी चुनावमा हराइएको र यो डकैती भएको भन्दै उनीहरूले ६ घन्टासम्म संसद् भवनमा उपद्रो गरेका थिए । यसपालि पनि कथंकदाचित् ट्रम्पको पराजय भएछ भने उनका समर्थकहरू हातहतियार सहित विरोधमा उर्लिएर हिंसाको नयाँ दौर चल्ने सम्भावनालाई नकार्न सकिन्न ।

उता डेमोक्रेटिक पार्टीका कतिपय समर्थकहरू पनि उत्तिकै हिंस्रक छन् । दुई वर्षअघि अमेरिकाको सर्वोच्च अदालतले महिलालाई गर्भपात गराउनबाट रोक्ने गरी रो विरुद्ध वेडको पुरानो निर्णयलाई उल्ट्याएपछि कन्जर्भेटिभ न्यायाधीश ब्रेट कभानाको घरमा पुगेर उनको हत्याको योजना बनाइरहेको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । ट्रम्पले राष्ट्रपति हुँदा नियुक्त गरेका कन्जर्भेटिभ न्यायाधीशहरूले गर्भपातविरुद्धको निर्णय उल्ट्याएपछि त्यसलाई स्वतन्त्रताविरोधी कदम भन्दै डेमोक्रेटहरूले विरोध गरेका थिए । न्यायाधीशमाथि आक्रमण गर्ने व्यक्तिले उक्त विरोधलाई हिंसाकै तहमा ओराल्न खोजेका थिए ।

ट्रम्पमाथिको यो पछिल्लो हिंस्रक आक्रमणले उनको चुनाव जित्ने सम्भावनालाई थप बढाएको छ । कतिपय अनिर्णित (स्विङ) राज्यहरूमा बाइडनको तुलनामा ट्रम्पको समर्थक सूचकांक झिनो अन्तरले अगाडि रहेको छ । तर यस घटनाले ट्रम्पप्रति मतदाताको सहानुभूतिलाई बढाएर उनको सम्भावनालाई बलियो बनाएको देखिन्छ ।

त्यसमाथि बहालवाला राष्ट्रपति बाइडनको मानसिक स्थिति दिनप्रतिदिन खस्किँदै गइरहेको देखेका कतिपय अमेरिकीहरू उनी नै अन्तिमसम्म राष्ट्रपतिको उम्मेदवार रहिरहने हो भने बरू उनको साटो ट्रम्पलाई भोट दिनु उचित होला भन्ने धारणा बनाइरहेका छन् । यसले गर्दा पनि ट्रम्पको पुनः निर्वाचित हुने धोको पूरा हुने सम्भावना छ ।

जे होस्, ट्रम्पमाथिको आक्रमणको यस घटनाले अमेरिकामा राजनीतिक हिंसा अब बिस्तारै सामान्य बन्दै गएको स्थितिलाई उजागर गरेको छ । विभिन्न सर्वेक्षणहरूमा सहभागी मानिसले अमेरिकाका समस्याहरूको समाधानका लागि हिंसा अपरिहार्य रहेको प्रतिक्रिया दिइरहेबाट नै यसको पुष्टि हुन्छ । अझ त्यसमाथि अमेरिकामा जसले पनि हतियार बोक्न पाउने भएकाले हिंसाको सम्भाव्यतालाई थप प्रबल बनाउने गर्छ । यसले अमेरिका गृहयुद्धको स्थितिमा गएर विस्फोट हुन लागेको अनि अमेरिकी साम्राज्य पनि द्रुत गतिमा पतनको बाटोमा हिँडिरहेको स्पष्ट संकेत समेत दिएको छ ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।