नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा



भरतपुर । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । शुक्रबार बिहान १ बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुइतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सिमलतालमा दुइतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए ।

सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजीकार्य जारी छ । अहिले बस र यात्रुको खोजीका लागि ५ सय सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयले जानकारी दिएको छ । साथै नदीमा बस र यात्रु खोजीका लागि गोताखोर खटाइएको छ ।

शुक्रबार बिहान बसलाई पहिरोले बगाउँदा ६० जनाभन्दा धेरै यात्रुसहितका दुई वटा बसको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । चितवनमा रात्रिकालीन दुईवटा बस दुर्घटना भएपछि सरकारले रात्रिकालीन बस चलाउन प्रतिबन्ध लगाएको छ ।


क्लिकमान्डु