७ महिनामा भित्रियो २ खर्ब ३ अर्बको कृषिजन्य वस्तु

168
Shares

काठमाडौं । कृषिप्रधान मुलुक नेपालमा पछिल्लो सात महिनाको अवधिमा २ खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा २ खर्ब ३ अर्ब रुपैयाँबराबरको विभिन्न प्रकारका कृषिजन्य वस्तु नेपाल आयात भएको पाइएको हो ।

तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी ६६ अर्ब २० करोड रुपैयाँबराबरको जनावर र वनस्पतिजन्य बोसो र तेल आयात भएको छ । यसपछि खाद्यान्न (धान, चामल गहुँ र मकै) ३६ अर्ब ३५ करोड रुपैयाँबराबरको आयात भएको छ ।

यसमध्ये तयारी चामलमात्रै १० अर्ब ५८ करोड रुपैयाँको आएको छ । यस्तै धान १४ अर्ब ५१ करोड रुपैयाँको धान आयात भएको छ । यस्तै ९ अर्ब ५ करोड रुपैयाँको मकै आयात भएको छ।

तथ्यांकअनुसार ५ अर्ब ४८ करोड रुपैयाँको आलु, २ अर्ब १३ करोडको प्याज, ६ अर्ब ८१ करोडको लसुन, २५ अर्बको तरकारी, ३ अर्ब ९७ करोडको दाल, १२ अर्ब ३२ करोडको फलफूल, १६ अर्ब ४२ करोडको कृषिजन्य औद्योगिक कच्चा पदार्थ, ५ अर्ब ४९ करोडको चिया, कफी, २ अर्ब ६१ करोडको चिनी तथा चिनीजन्य कन्फेक्सनरी, ९० करोड ८४ लाख रुपैयाँको डेरीजन्य पदार्थ आयात भएको छ ।