![](https://clickmandu.com/wp-content/uploads/2024/07/mahaprasad-adhikari-new.png)
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताएका छन् ।
इकोनोमिक मिडिया एसोसिएसन नेपालले काठमाडौंमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
राष्ट्र बैंकको अन्य उद्देश्य नरहेको भन्दै उनले नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउने बताए ।
उहाँले बैंकिङ क्षेत्रलाई कसरी चुनौतीसँग सामना गर्नसक्ने बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताउनु भयो । उहाँले बैकिङ क्षेत्रमा सबैको संधै आकर्षण रहने बनाउन सक्नुपर्ने बताउनु भयो ।
तर कुनै व्यवसायलाई असर पर्ने नीति नआउने पनि उनको प्रतिबद्धता थियो । यस्तै बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादनको क्षेत्रमा लैजाने र थोरै भए पनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरु लाग्न आवश्यक रहेको पनि उनको भनाइ थियो ।
यस्तै निर्यात उद्योग स्थापना गर्ने काममा बैंकको स्रोत प्रयोग हुन आवश्यक रहेको पनि उनले औंल्याएका थिए । साथै राष्ट्र बैंक मौद्रिक नीति बनाउनका लागि अन्तिम चरणमा पुगेको र अब बैंकर्स एसोसिएसनसँग छलफलमा बस्ने गभर्नर अधिकारीले जानकारी दिए । राष्ट्र बैंकले गर्न सक्ने जति नीतिहरुमा सीमाभित्र रहेर काम गर्ने उनको भनाइ थियो । अधिकारीले मुलुकको अर्थतन्त्रका समग्र सूचकहरु हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको बताएका थिए ।
‘मौद्रिक नीति बनाउन राष्ट्र बैंक अन्तिम चरणमा पुगेको छ । अब बैंकर्स एशोसिएशनसँग छलफलमा बस्दैछौं । प्रायःसबै निकायहरुसँग छलफल सकेका छौं । सबैको आकंक्षा मौद्रिक नीतिमा छ । त्यो भन्दा बाहिरका नीतिहरुमा पनि चासो दिनुपर्छ । पहिलादेखि भन्दै आएका छौं । राष्ट्र बैंकले गर्न सक्ने नीतिहरुमा सीमाभित्र रहेर गर्छौं । मुलुकको अर्थतन्त्रका समग्र सूचकहरु हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको अवस्था छ,’ गभर्नर अधिकारीले भनेका छन् ।
यस्तै होटल, ऊर्जा लगायत अन्य केही क्षेत्रमा उत्साहजनक वृद्धि भएको पनि अधिकारीले बताएका थिए । उनले भने, ‘होटल,ऊर्जा क्षेत्र राम्रो छ । समग्र सबै क्षेत्र नकारात्मक छ भन्ने धारणा राखेर बस्नुपर्ने अवस्था छैन । मौद्रिक नीतिले उद्योग व्यवसाय सहज वातावरण बनाउने राष्ट्र बैंकको न्युनतम चासो नै हो । कुनै व्यवसायलाई असर पर्ने नीति ल्याउने अवस्था हुन सक्दैन । बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादन मुलक क्षेत्रमा लैजाने र थोरै भएपनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरु लागुन् । निर्यात मुलुक उद्योग स्थापना गर्ने काममा स्रोत प्रयोग होस् । जसले गर्दा समग्र अर्थतन्त्रलाई प्रत्येक उद्योग व्यवसायको योगदान रहन्छ । बैंकिङ उद्योगको पनि योगदान रहन्छ भन्ने उद्देश्यले मौद्रिक नीति तय गर्ने हो ।’
प्रतिक्रिया