बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप दुई उद्योगको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास स्टीलको लाइन काटिदिएको हो ।

प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टीलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ । प्राधिकरणले योसँगै ५ वटा उद्योगको लाइन काटेको छ ।

मंगलबार प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ रअर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता छ । यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको थियो ।

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेपछि लाइन काट्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सन्देश ऊर्जामन्त्री बस्नेतले कुलमानलाई सुनाएपछि लाइन काटिएको हो ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको थियो । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । प्राधिकरणले दिएको समय सोमबार सकिएपछि लाइन काट्न थालेको हो ।

मंगलबार उद्योगीहरुले पत्रकार सम्मेलन आयोजना गरेका थिए । प्राधिकरणले लाइन काट्ने तयारी गरेको जानकारी पाएपछि उनीहरुले पत्रकार सम्मेलन गरेका हुन् ।  उनीहरुले न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर नेपाल विद्युत प्राधिकरणले तर्साउने र धम्काउने काम गरेको भन्दै आपत्ति जनाए । उनीहरुले सर्वोच्चका पूर्वन्यायधिश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

पीडित तथा प्रताडित उद्योगीहरुको समूहले डेडिकेटेड तथा ट्रंकलाइन विवाद बारे अध्ययन गर्न गठन भएको समितिको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रिपरषद्ले निर्देशन दिएको भए पनि प्राधिकरणले त्यसको कार्यान्वयनको सट्टा उद्योगीलाई धम्क्याउने काम गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । उद्योगीहरुले प्राधिकरणले पठाएको बिल फर्जी भएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् ।


क्लिकमान्डु