गुणका जहाजको प्राविधिक मूल्यांकन गर्दै प्राधिकरण, लाइसेन्स रिन्यूपछि एओसीको प्रक्रिया अघि बढ्ने



काठमाडौं । गुण एयरलाइन्सले हालसम्मको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिनुपर्ने बक्यौता चुक्ता गरेकोले यसका जहाजको प्राविधिक मूल्यांकन हुने भएको छ ।

गुण एयरलाइन्सले आइतबार हवाई क्षेत्रको नियामक निकाय उड्डयन प्राधिकरणलाई ६ करोड ७३ लाख ४८ हजार ४२५ रुपैयाँ बक्यौता तिरेपछि यसका जहाज उडायोग्य भए नभएको विषयमा आवश्यक मूल्यांकन हुने भएको छ ।

उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार गुणले हालसम्मको बक्यौता चुक्ता गरेकाले अब यसको जहाज उडान अनुमतिका लागि आवयक प्रक्रिया अगाडि बढ्ने भएको छ । त्यसक लागि प्राधिकरणले करिब डेढ वर्षदेखि थन्किएका यसका जहाजको आवश्यक प्राविधिक मूल्यांकन गर्ने पनि भुलले बताए ।

प्राधिकरणलाई तिर्नुपर्ने दायित्व चुक्ता गरेर यो कम्पनीले पुनः उडान अनुमति माग गरेको छ। गुणले कर्मचारीको दायित्व भुक्तानी गर्न नसकेको, बाँकी बक्यौता बढ्दै गएको र वायुसेवा कम्पनी आर्थिक संकटमा फसेकोले यसले हवाई उडान सुरक्षामा कमजोरी गर्न सक्ने भन्दै प्राधिकरणले गत ८ फागुन २०७९ मा गुण एयरलाइन्सलाई उडानमा रोक लगाएको थियो । गुणको उडान रोेकिएको करिब १४ महिनापछि यसले आफ्नो आर्थिक दायित्व पूरा गरेर पुन जहाज उडानको प्रयास थालेको हो ।

गुणले पहिले २ वटा बीचक्राफ्ट जहाज उडाउने र बाँकी ५ वटा जेटस्ट्रीमलाई भने विस्थापित गरेर एटीआरमा प्रवेश गर्ने तयारी गरिरहेको छ । यो वायुसेवाले उडाउने जहाजको विषयमा प्राविधिक मूल्यांकन गर्नुपर्ने भएको प्राधिकरणको भनाइ छ । जहाज नउडेको लामो समय भएकोले जहाज एयरवर्दी भए नभएको, प्राविधिकरुपमा जहाज उडानयोग्य हो वा होइन भन्नेसहितको विषयका लागि प्राविधिक मूल्यांकन गर्नुपर्ने जानकारी प्राधिकरणका सूचना अधिकारी भुलले बताए ।

भुलले क्लिकमान्डुसँग भने ‘यो वायुसेवाले पर्यटन मन्त्रालयबाट पाएको इजाजतपत्रको अवधि सकिएको छ । पहिले इजाजतपत्र नवीकरण गराउनुर्छ । यो प्रक्रियाका लागि मन्त्रालयले प्राधिरकणसँग राय माग्ने छ ।’

प्राधिकरणले राय पेश गरेपछि इजाजत नवीकरण भएर आउने र त्यसपछि मात्रै एओसीको प्रक्रिया अगाडि बढ्ने पनि भुलले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गुणको इजाजतपत्रको नवीकरणको लागि अहिलेसम्म आवेदन परेको छैन । मन्त्रालयमा आवेदन परेपछि मात्रै त्यसपछिको प्रक्रिया के हुने भन्ने विषयमा निर्णय हुने पनि पर्यटन मन्त्रालयको भनाइ छ ।


क्लिकमान्डु