अर्बौंको साम्राज्यबाट शून्यमा झरेका राजेन्द्र शाक्यले व्यवसायमा कसरी पाए पुनर्जीवन ? यस्तो छ नालीवेली



काठमाडौं । नेपाली मिडियामा व्यवसायी र व्यावसायिक घरानाको सफलताका कथा तपाईं/हामीले पढ्न, हेर्न र सुन्न पाइरहेकै छौं । र, फाट्टफुट्ट असफलताका कथा पनि ।

आज हामी तपाईंलाई यस्तो कथा प्रस्तुत गर्न गइरहेका छौं, जो सामान्य सतहबाट सफलताको शिखरमा पुग्यो । र, ग्वार्लम्म शून्यमा झर्यो । अनि कठोर संघर्षपछि शिखरबाट झर्दा लागेका गम्भीर चोटको उपचार गराएर अहिले फेरि त्यही शिखर चुम्ने यात्रामा निस्किएको छ । र, अहिलेको यात्रामा उत्साहपूर्ण पूर्व संकेतहरु देखिदै गइरहेका छन् ।

त्यो नाम हो दिजेन्द्र अर्थात् राजेन्द्र शाक्य ।

अवसर र सफलता मात्रै देख्ने शाक्यले सोचेकै थिएनन् आफ्नो व्यावसायिक यात्रामा यस्तो कठिन परिस्थिति आउँछ र आफूले दशकौं संघर्ष गरेर तयार पारेको व्यापारिक साम्राज्य पलभरमै गर्ल्याम्गुर्लुम्म ढल्छ । अनि शून्यमा पुगिन्छ ।

गुण ज्वेलर्स, गुण सिनेमा हल, गुण हाउजिङ तथा अपार्टमेन्ट, गुण कोलोनी, गुण रियलस्टेट, गुण एयरलाइन्स, गुण को-अपरेटिभलगायत १० वटा सहकारी संस्थाका अध्यक्ष थिए शाक्य । तत्कालीन किष्ट बैंकको अध्यक्षसमेत थिए उनी । त्यसबाहेक पनि उनका थुप्रै व्यवसाय थिए । अहिले पनि छन् ।

गुण समूहका नाममा व्यवसायमा जमेका शाक्य दशकअघि घरजग्गा र सेयर बजारमा छाएको मन्दीका कारण करीब करीब शून्यमै झरे ।

‘म करीब करीब शून्यमै झरेको थिएँ,’ शाक्यले क्लिकमाण्डूसँग भने, ‘अहिले व्यवहार मिलाइसकेको छु । अब मेरा कारणले बिग्रिएका संस्थाहरुलाई रिभाइभ गर्दै अघि बढ्ने छु ।’

यसरी उदाए व्यवसायमा

शाक्यको परिवार ललितपूरमा सुनचाँदी व्यवसाय गर्थ्यो । उनले पनि २०४३ सालमा आफैं सुनचाँदी पसले खोले ।

समयसँगै उनको परिचय पनि फेरिँदै गयो । सुनचाँदी व्यवसायबाट अघि बढ्दै गए । सुनचाँदी व्यवसायबाट भएको कमाइले जग्गा प्लटिङ गरेर बिक्री गर्न थाले । २/४ वर्ष व्यक्तिगतरुपमा जग्गा किन्ने र प्लटिङ गरेर बेचिरहे । कमाइ राम्रो भएपछि २०५० सालमा कम्पनी नै खडा गरेर उनी घरजग्गा व्यवसायमा आक्रमकरुपमा अघि बढे ।

‘एउटै व्यापारमा केन्द्रित हुनु हुँदैन भन्ने सोचले व्यवसाय बिस्तार गर्ने रणनीति अबलम्बन गरेँ,’ शाक्य भन्छन् ।

कामको शिलशिलामा भारत गइरहन्थे उनी । भारतमा भने त्यसबेलै व्यवस्थित बसोबासको अवधारणा शुरु भइसकेको थियो ।

‘भारतमा अपार्टमेन्ट देखेपछि यहाँ पनि अपार्टमेन्ट चल्छ भन्ने सोचले अपार्टमेन्ट बनाएर बिक्री गर्न थालेँ,’ उनले भने ।

नेपालमा अपार्टमेन्टको अवधारणा पहिलोपटक उनैले भित्र्याए । ०५३ सालमा बानेश्वरस्थित बुद्धनगरमा ५० युनिटको अपार्टमेण्ट बनाएर प्रतियुनिट ४ लाख रुपैयाँका दरले हस्तान्तरण गरे उनले ।  फाइदा पनि राम्रै भयो । उत्साहित भए । र, धमाधम अर्पाटमेन्ट तथा बंगलाहरु बनाउँदै बेच्न थाले ।

घजग्गा र सेयर बजारमा आएको मन्दीका कारण समस्यामा परेका केही चर्चित व्यवसायीहरु अहिले पनि समस्यामै छन् । उनीहरुका लागि राजन्द्र शाक्यको व्यावसायिक पुनर्जीवनको कथा अत्यन्तै उपयोगी हुनसक्छ ।

‘अहिलेसम्म १ हजारभन्दा बढी युनिट अपार्टमेण्ट र १ हजार बढी व्यक्तिगत घर (बंगला) बनाएर बिक्री गरिसकेको छु,’ उनले भने ।

शाक्यको यात्रा अपार्टमेन्टमा मात्रै रोकिएन । पहिलो अपार्टमेन्ट बनाएपछि ग्वार्कोमा गुण सिनेमा हल बनाए । एउटै छानामुनि ८ वटा हल र नयाँ प्रविधि भित्र्याएर गुण सिनेमा हल सञ्चालनमा आयो । फिल्म हलबाट पनि मालामाल कमाइ भयो ।

त्यसपछि उनले वित्तीय क्षेत्रमा पनि हात हाले । १० वटासम्म सहकारी चलाएका शाक्य तत्कालिन किष्ट बैंकको अध्यक्ष समेत थिए ।

उनको व्यवसायिक यात्राले आकाश छुन लागेको थियो । जहाँ हात हाल्यो त्यहाँ सफलता मिल्थ्यो । त्यसैले शाक्यले उड्ययन क्षेत्रमासमेत लगानी गर्ने निर्णय गरे ।

‘पैसा कमाएपछि एयरलाइन्स पनि चलाउँ न भन्ने लाग्यो,’ उनले भने, ‘एयरलाइन्सको ‘ए’ पनि थाहा थिएन । तर महत्वाकांक्षी भएर जहाज किनेँ । पहिला जहाज किनेर पछि कम्पनी दर्ता गरेको थिएँ ।’

सन् २००९ मा १५ करोड लगानीमा शुरु गरेको गुण एयरलाइन्स २०१३ सम्म चल्यो । र, बन्द भयो । त्यसपछि साझेदार खोजेर सिम्रिक एयरको नामबाट एयरलाइन्स सञ्चालन गरे ।

यसरी शुरुभयो ओरालो यात्रा

तर, व्यवसायिक यात्रा सोचे र भने जस्तो सजिलो हुँदैन ।

२०४३ सालदेखि व्यवसाय शुरु गरेपछि पछाडि फर्केर नहेरेका शाक्यलाई २०६६ सालमा भने ठूलो धक्का लाग्यो ।

राष्ट्र बैंकले २०६६ पुस २ गते घरजग्गा र सेयर कर्जामा कडाइको नीति लियो । त्यो बेलासम्म घरजग्गा र सेयरमा जति पनि बैंकहरुले ऋण दिएका थिए । विजयनाथ भट्टराई गभर्नर हुँदा ल्याएको सो नीतिले शाक्यलगायत घरजग्गा र सेयर कारोबार गर्नेको जग नै हल्लियो । बैंक तथा वित्तीय संस्थाले घरजग्गामा कम कर्जा दिन थाले । जसको प्रभाव घरजग्गा मूल्यमा पर्यो । यस्तै असर सेयर बजारमा पनि थियो ।

नगद प्रवाहको व्यवस्थापन गर्न नसक्दा आकाशमा उड्नुपर्ने गुण एयरलाइन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा थन्कियो ।

त्यो बेला पत्रिकाहरुमा समाचार भने ‘गुण’ बन्द भनेर आयो । जबकी गुण समूहका अन्य व्यवसाय सहजरुपमा चलिरहेका थिए ।

‘गुण’ बन्द भएको समाचार आएपछि शाक्यले चलाएको सहकारीमा त्यसको असर पर्यो । निक्षेपकर्ताहरुले गुण सहकारी बन्द भएको भन्ने बुझे । र, बचत फिर्ता माग्न लाइन बस्न थाले ।

‘सञ्चारमाध्यममा ‘गुण’ बन्द भनेको समाचार आएपछि सहकारीका बचतकर्ता पैसा फिर्ता माग्न लाइन बसे, जुन संकट टार्न मैले ठूलो कष्ट भोग्नुपर्यो,’ शाक्यले भने ‘एउटा समाचारले कति प्रभाव पार्छ त्यसको महत्व र प्रभाव त्यो बेला बुझेँ ।’

२२ हजार सदस्य भएको गुण सहकारीसहित १० वटा सहकारी चलाएका शाक्यलाई निक्षेपकर्ताहरु पैसा फिर्ता माग्नका लागि बिहानदेखि लाइन बसेपछि व्यवस्थापन गर्न सक्ने अवस्था नै रहेन ।

नगद व्यवस्थापन कठिन हुँदै गएपछि शाक्यले बैंक तथा वित्तीय संस्थामा नियमित बुझाउनुपर्ने किस्ता बुझाउन संघर्ष गर्न थाले । त्यसपछि बैंक तथा वित्तीय संस्थाले ऋण तिर्न आउनू भन्दै सूचना निकाल्न थाले ।

नेपालीमा चर्चित उखान छ- ‘ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ ।’

त्यस्तै भयो शाक्यको ओरालो यात्रामा । हिजोसम्म घरमै पुगेर ऋण दिने बैंकमध्ये कतिपयले पर्याप्त समय नदिई ऋण तिर्न आउने सूचना निकाल्न थाले । हिजोसम्म तँछाडमछाड गर्दै सहकारीमा बचत गर्ने बचतकर्ता घरमै पुगेर पैसा फिर्ता माग्दै धर्ना दिन थाले ।

त्यो बेला बजार मूल्यका हिसाबले ५/६ अर्ब रुपैयाँभन्दा बढी लगानी घरजग्गामा र ५/६ अर्ब रुपैयाँकै हाराहारीमा सेयर बजारमा लगानी थियो शाक्यसँग । सयौं रोपनी जग्गा र विभिन्न कम्पनीमा करीब १ करोड कित्ता सेयर थियो उनीसँग ।

‘एकातिर आफूले सञ्चालन गरेका व्यवसाय र लगानी गरेका क्षेत्र मन्दीमा फसेका कारण नगद प्रवाहको चरम संकट भोगिरहेको थिएँ,’ उनी भन्छन्, ‘अर्कातिर धितोको मूल्य घटेकै बेला बैंकले किस्ता र ब्याज तत्काल तिर्न दबाब दिए, त्यो क्षण मेरो जिन्दगीको कठिन क्षण नै हो । अहिले त सम्झिँदा पनि आङ सिरिङ्ग हुन्छ ।’

शाक्यलाई विश्वास गरेर उनी अध्यक्ष भएको सहकारीमा ५ हजारदेखि करोडौ रुपैयाँसम्म बचत गर्ने बचतकर्ता थिए । नियमअनुसार नै करीब १० प्रतिशत तरलता व्यवस्थापन गरेर चलाएको सहकारी पनि बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि सरकारले समस्याग्रस्त घोषणा गरिदियो ।

ललितपुरमा अहिले लाबिमल भएको ठाउँमा गुण सहकारीमा बचतकर्ताको बिहानैदेखि लाइन हुन्थ्यो । बचतकर्ताको लाइन सहकारीको कार्यालय अगाडि मात्रै होइन शाक्यको घरमै पनि पुग्यो ।

‘बिहान साढे ३ बजेदेखि रातको १२ बजेसम्म पैसा फिर्ता माग्नेहरु लाइन लागेका हुन्थे,’ उनले भने, ‘त्यो बेला मसँग सुत्नका लागि पनि समय हुँदैन्थ्यो ।’

कसरी टारे महासंकट ?

सहकारीका बचतकर्ताको करीब ५ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व थियो उनमा । २२ वटा बैंक तथा वित्तीय संस्थामा गरेर ५ अर्ब रुपैंयाँ जति ऋण तिर्नुपर्ने थियो ।

समस्यामा परेपछि शाक्यले निधो गरेका थिए- आफूले लिएको दायित्व इमान्दारिताका साथ पूरा गर्ने । जसको पैसा फिर्ता गर्नुपर्ने थियो उसलाई जसरी पनि पैसा फिर्ता गर्ने । यसका लागि शाक्यले आफूसँग भएको घरजग्गा र सेयर बेच्ने नीति लिए । ठूला निक्षेपकर्ता जसको बढी रकम फिर्ता गर्नु थियो नेगोसिएसनमा उनले जग्गा र सेयर दिएर पैसा फिर्ता गरे । अर्थात् स्थिर सम्पत्तिको लोभ गरेनन् ।

‘मैले सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्न र ऋण तिर्न परिवारका सदस्य र साथीभाईसँग एक रुपैयाँ पनि ऋण लिइँन,’ शाक्यले भने, ‘मसँग भएको जग्गा र सेयर बेचेर ब्यवहार सल्ट्याउने नीति लिएँ ।’

ऋण तिर्नका लागि थप ऋण लिएको भए आफू झन् ठूलो संकटमा पर्छु भन्ने बुझेका थिए उनले ।

‘ऋण तिर्नलाई ऋण थपेको भए आज म यो स्थितिमा हुने थिइँन,’ उनले भने ।

करिब ४ वर्ष भयो शाक्यले सहकारीको बचतकर्ताको पैसा फिर्ता गरेको । अहिले १० करोड रुपैयाँ जति निक्षेप गुण सहकारीमा छ भने ३० करोड रुपैंयाँ जति ऋण उठाउन बाँकी छ । ब्याजसहित जोड्दा उठाउन बाँकी ऋण ६० करोड रुपैयाँ जति हुन्छ ।

‘अहिले हामीलाई विश्वास गरेर नवीकरण गरेको बचतमात्रै हामीसँग छ,’ उनले भने ।

गुण सहकारी समूदायमा आधारित थियो । जसमा पाटनबासीको बचत धेरै थियो । जसकारण उनी संकटमा पर्दा पनि समूदायबाट एक प्रकारको विश्वास भने पाइरहे ।

‘सहकारी बिग्रियो भनेपनि पछि दिन्छ भन्ने धेरैलाई विश्वास थियो,’ उनले भने, ‘२२ हजार बचतकर्तामध्ये २/३ हजार मात्रै पैसा फिर्ता माग्न आएका थिए, हल्लामात्रै बढी भयो ।’

गुण कोअपरेटिभ एकदिन पनि बन्द नभएको बताउँछन् उनी ।

‘७ वर्ष लाग्यो म्यानेज गर्न, ४ वर्ष निकै कठोर जिन्दगी बिताइयो, जुन अहिले कल्पना पनि गर्न सक्दिन,’ उनले भने, ‘सुखद पक्ष भनेको यस्तो अवस्थामा पनि सहकारीचाहीँ बन्द गर्नु परेन ।’

यो संकट टार्नका लागि आफूले धैर्यता नगुमाएको उनको भनाइ छ ।

‘म कहिल्यै समस्यासँग डराइँन र धैयर्ता पनि गुमाईँन,’ उनले भने, ‘डराएको वा धैर्यताको बाँध फुटेको भए यो व्यवस्थापन गर्न सकिन्नथ्यो । र, कहिल्यै माथि उठ्न सक्ने थिइँन ।’

नियत गलत नभएकाले र आफूमा लोभ लालच नपलाएको बताउँछन् उनी ।

‘तपाईं पत्याउनुहुन्न होला, मैले संकट टार्न सम्पत्तिको लोभ गरिँन,’ उनले सुनाए, ‘जे-जे गर्दा यो समस्याबाट मुक्त हुनसक्छु, ती सबै काम गरेँ । आफ्नो नाममा भएको सेयर र जग्गा बेचेँ ।’

यो संकटको व्यवस्थापन गरेरै छाड्छु भन्ने दृढ संकल्प थियो उनमा । त्यसैले २६ वर्षअघि बनाएको घरमै बसे । मोबाइल नम्बर पनि परिवर्तन गरेनन् । निरन्तर बचतकर्ताहरुसँगको सम्पर्कमा रहिरहे ।

‘घरमा आउनेहरुसँग बिहान म डिल गर्थेँ, दिउँसो श्रीमतिले गर्थिन् र साँझ फेरि मै गर्थेँ,’ उनी भन्छन्, ‘एकजना मान्छेसँग ५ देखि १० सेकेण्ड गफ गरिदिँदा पनि उनीहरु कन्भिन्स भएर जान्थे ।’

जति पैसा कमाए पनि आफूले कहिल्यै पैसाको धाक नलगाएको उनको भनाइ छ ।

‘पूरानै घरमा बसेँ, सामान्य गाडी चढेँ,’ उनी भन्छन्, ‘मैले कहिल्यै पैसाको हिसाबकिताब गरिँन । मेरो मोह पैसासँग भन्दा कामसँग हो, पैसाको फिल गरेको भए सायद धेरै ठूलो पीडा हुन्थ्यो ।’

आफू बस्ने घर धितो राखेर ऋण नलिएका कारण उनलाई घर छाड्नुपर्ने टर्चर भएन । धितो राखिएका अन्य सम्पत्ति पनि बैंकले लिलामी गर्न पाएनन्, उनी आफैंले बेचेर ऋण सल्ट्याए ।

पूरानै लयमा फर्किँदै

दायित्व पुरा गरेपछि शाक्य व्यवसायमा पुरानै लयमा फर्किएका छन् । उनी अहिले काठमाडौं इन्जिनियरिङ कलेजमा प्रबन्ध निर्देशक छन् भने किष्ट मेडिकल कलेजमा सञ्चालक । नेपालको पहिलो एचडी च्यानल एपीवानमा कार्यकारी उपाध्यक्ष । व्यवसायलाई अगाडि बढाउन बेलायतमा पढेर फर्किएका छोराले साथ दिएका छन् ।

बन्द भएको ८ वर्षपछि उडान गर्दै गुण एयरलाइन्स, ५ वटा विमान खरिद गर्दै

‘आफ्नो व्यवस्थापकीय कमजोरीको कारण जुन व्यवसाय बन्द भएको थियो त्यसलाई फेरि सञ्चालनमा ल्याउन लागी परेको छु,’ शाक्य भन्छन्, ‘गुण सहकारीले अझै निक्षेप लिन शुरु गरिसकेको छैन, तर साउन १ गतेदेखि सञ्चालनमा ल्याउने योजना बनाएका छौं, एयरलाइन्सले गुणको नामबाट उडान गर्न अनुमति पाइसक्यो ।’

घरजग्गा व्यवसायमा उनले निरन्रता दिइरहेका छन् । व्यक्तिगततर्फ निजी घर बनाउने बेच्ने कामले निरन्तरता पाएको छ । दर्जनौं निजी घर निर्माणाधीन छन् ।

ग्वार्कोमा बनाउने भनेको १३ तले अपार्टमेण्टमा डा. रुप ज्योतिसँगको साझेदारीमा २ अर्ब लगानीमा ४ तारे होटेल दि म्यासिब नाममा होटल चलाउने प्रक्रिया अघि बढिसकेको छ ।

सुकेधारामा ८८ युनिटको अपार्टमेण्ट निर्माणको काम अन्तिम चरणमा छ । ६ महिनामा निर्माणको काम सकेर बुकिङ खुल्ला हुन्छ ।

लाजिम्पाटमा अफिस अपार्टमेण्ट फिनिसिङ भइरहेको छ । यसको पनि केही महिनाभित्रै बुकिङ खुल्छ ।

जमलमा २ रोपनी जमिनमा डा. रुप ज्योतिसँगकै साझेदारीमा १ अर्ब लगानीमा दुईवटा सिनेमा हलसहितको ८ तले व्यापारिक कम्प्लेक्स निर्माण भइरहेको छ ।

शाक्य समूहले नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्सको अधिकांश संस्थापक शेयर खरिद गरी त्यसको व्यवस्थापन गर्न थालेपछि संस्था समस्याग्रस्त अवस्थाबाट बाहिर निस्किेर पूरानै लयमा फर्किएको छ । उनको लगानी रहेको लुम्बिनी विकास बैंकले पनि राम्रै प्रगति गर्दै गइरहेको छ ।

‘विगतमा जे संस्थाहरु आफ्नो कारणले बिग्रेका थिए त्यसलाई राम्रोसँग चलाउन पाए सन्तुष्टी हुन्छ,’ उनले भने ।

आफ्नो कठिन अवस्थामा सबैले साथ दिएका कारणले नै समस्याको समाधान गर्न सकेको उनको भनाइ छ ।

‘मान्छेलाई आर्थिकरुपले समस्या आउने हो, त्यो आएपछि दायित्व तिर्नका लागि सम्पत्तिको लोभ गर्नु हुँदैन, सम्पत्ति बेचेर ऋण तिर्न सकिन्छ भने भोलि त्यो कति मूल्य पुग्छ भनेर हेर्नु हुँदैन,’ शाक्यले आफ्नो कठिन दिनको अनुभव बाँड्दै भने, ‘सम्पत्तिको लोभ गरेको भए मैले यो महासंकट पार लगाउन सक्ने थिइँन ।’

घजग्गा र सेयर बजारमा आएको मन्दीका कारण समस्यामा परेका केही चर्चित व्यवसायीहरु अहिले पनि समस्यामै छन् । उनीहरुका लागि राजन्द्र शाक्यको व्यावसायिक पुनर्जीवनको कथा अत्यन्तै उपयोगी हुनसक्छ ।

आशा गरौं निकट भविष्यमै ती व्यवसायीहरुको पुनर्जीवनको कथा लेख्न पाइयोस् । पढ्न, सुन्न र देख्न पाइयोस् ।


पुष्प दुलाल