कान्स कर्पोरेट मिडिया अवार्डको जुरी सदस्यमा रञ्जीत आचार्य

56
Shares

काठमाडौं । प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनित हुनु भएको छ ।

कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) तथा ब्रान्डेड मिडिया निर्माणको क्षेत्रमा विश्वकै प्रतिष्ठित अवार्डमध्ये एक मानिने यस प्रतियोगिताको निर्णायक मण्डलमा नेपालीको प्रतिनिधित्व हुनु समग्र नेपालका लागि तथा विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि समेत ऐतिहासिक उपलब्धि भएको प्रिज्माले जनाएको छ ।

सन् २०१० मा स्थापना भई अष्ट्रियाको भियना शहरमा मुख्यालय रहेको कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्डस् प्रत्येक वर्ष फ्रान्सको कान्स शहरमा आयोजना गरिन्छ, जुन विश्व चलचित्र उद्योगको प्रसिद्ध केन्द्रका रूपमा परिचित छ ।

यस अवार्डमा प्रदान गरिने गोल्ड, सिल्भर, ब्ल्याक, ब्लु र ह्वाइट डल्फिन ट्रफीहरू कर्पोरेट फिल्म क्षेत्रका सर्वोच्च सम्मानका रूपमा मानिन्छन् । १७औँ संस्करणका रूपमा आयोजना हुन लागेको सन् २०२६ को अवार्डमा ६३ प्रतिस्पर्धात्मक विधा समावेश छन् र विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी, ग्राहक संस्था, प्रसारण संस्था तथा विद्यार्थीहरूको सहभागिता रहनेछ ।

आचार्यका अन्तर्राष्ट्रिय उपलब्धिहरूमध्ये सन् २००० मा अमेरिकाको जोन्सन एण्ड जोन्सनबाट प्राप्त बेल रिङ्गर अवार्ड, सन् २००७ मा एड क्लब मुम्बईबाट प्राप्त एबी अवार्ड तथा हालै सिंगापुरमा प्राप्त ब्रान्डलरिएट बेस्ट ब्रान्ड्स अवार्ड २०२५ उल्लेखनीय रहेका छन् । प्रिज्मा एड्भर्टाइजिङ उक्त अवार्ड प्राप्त गर्ने पहिलो नेपाली एजेन्सी पनि हो । विज्ञापन क्षेत्रबाहेक नीलबाराही फिल्म्सका प्रबन्ध निर्देशक आचार्य, बाईस्कोप सिनेमाका संस्थापक निर्देशक, संस्कृति इन्टरनेसनल स्कुलका अध्यक्ष तथा डीएनए प्रालिका अध्यक्ष पनि हुन् ।