सुनकोशी मरिनको बाँकी कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

245
Shares

काठमाडौं । सरकारको राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ ले बाँकी रहेका निर्माण कार्यहरू सम्पन्न गर्न अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको छ ।

जलस्रोत तथा सिँचाइ विभागले आज एक सूचना जारी गर्दै सिन्धुलीको कमलामाईमा निर्माणाधीन यस आयोजनाको सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्ट र अन्य सम्बन्धित संरचनाहरूको निर्माणका लागि प्रस्ताव माग गरेको हो ।

आयोजनाका अनुसार, यसअघिको ठेक्का रद्द भएपछि बाँकी रहेका कामहरू पूरा गर्न यो नयाँ बोलपत्र आह्वान गरिएको हो । यो बोलपत्र ‘एकल चरण दुई खाम’ प्रक्रियामार्फत अगाडि बढाइनेछ । जसमा नेपाली र विदेशी दुवै योग्य निर्माण व्यवसायीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यस ठेक्कामा सहभागी हुन निर्माण कम्पनीहरूको वित्तीय क्षमता मजबुत हुनुपर्ने सर्त राखिएको छ । सूचनाअनुसार, इच्छुक बोलपत्रदाताको पछिल्लो १० वर्षमध्ये उत्कृष्ट ३ वर्षको औसत वार्षिक निर्माण टर्नओभर कम्तीमा ४ करोड २१ लाख ८१ हजार अमेरिकी डलर हुनुपर्नेछ ।

सुनकोशी नदीको पानीलाई सुरुङमार्फत मरिन खोलामा खसालेर तराईका जिल्लाहरूमा सिँचाइ सुविधा पुर्‍याउने र विद्युत उत्पादन गर्ने यस आयोजनाको मुख्य लक्ष्य हो । सुरुङ खन्ने काममा ठूलो सफलता पाएको यस आयोजनाको सिभिल र हाइड्रोमेकानिकल कामलाई तीव्रता दिन यो ठेक्का प्रक्रिया महत्त्वपूर्ण मानिएको छ ।

योग्य इच्छुक कम्पनीहरूले आयोजनाको कार्यालय वा तोकिएको प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । 

सार्वजनिक खरिद अनुगमन कार्यालयले डाइभर्सनको ठेक्का पाएको रमण कन्स्ट्रक्सन र भारतको मुम्बईस्थित पटेल इन्जिनियरिङ लिमिटेड (जोइन्ट भेन्चर) लाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ ।

गत जेठ १२ मा कम्पनीका मुख्य व्यक्तिहरू रमण महतो र भारतका रुपिन प्रविणभाइ पटेललाई कालोसूचीमा राखिएको हो ।
त्यसपछि नयाँ ठेक्का खुलाइएको हो ।