१०० करोड लगानी थपेर राजेन्द्र शाक्यले गुण एयरलाइन्सलाई पुनर्जीवन दिए, भन्छन्- अब सफल हुन्छु
काठमाडौं । बन्द भएको ८ वर्षपछि गुण एयरलाइन्सका विमानहरु फेरि नेपाली आकाशमा उड्ने भएका छन् । ०७८ बैशाखदेखि गुण एयरलाइन्सका विमानहरुले आन्तरिक उडान भर्ने भएका छन् ।
एयरलाइन्सले आफूसँग पहिल्यै भएका २ वटा बीच क्राफ्ट र यति एयरलाइन्ससँग खरिद गरेका ५ वटा विमान गरी कुल ७ वटा विमानबाट उडान भर्ने अन्तिम तयारीमा छ ।
कम्पनीले यति एयरलाइन्ससँग विमान खरिद गर्दा प्रतिविमान १.२ मिलियन अमेरिकी डलर अर्थात् १४ करोड रुपैयाँ खर्च गरेको छ । यसरी हेर्दा ५ वटा विमानका लागि मात्रै कम्पनीले ७० करोड रुपैयाँ खर्च गरेको छ ।
कम्पनीले विमानबाहेक पाटपुर्जा पनि किन्दैछ । विमानका लागि मात्रै ६० देखि ७० करोड रुपैयाँ र स्पेयर पार्टससँगै अन्य पूर्वाधार तथा व्यवस्थापनमा गरी १०० करोड रुपैयाँ पुनर्जीवन पाएको गुण एयरलाइन्समा लगानी थपिने कम्पनीका अध्यक्ष राजेन्द्र शाक्यका बताए ।
‘गुण एयरलाइन्सले ०७८ बैशाखदेखि उडान भर्छ,’ शाक्यले क्लिकमाण्डूसँग भने ।
अहिले कम्पनीसँग भएका २ वटा बीच क्राफ्ट विमानमा रंगरोगन तथा इन्टेरियर डिजाइनको काम भइरहेको छ । यति एयरलाइन्सबाट खरिद गरेका विमानमा रंगरोगन तथा डिजाइनको काम शुरु हुने तयारीमा छ ।
बन्द भएको ८ वर्षपछि उडान गर्दै गुण एयरलाइन्स, ५ वटा विमान खरिद गर्दै
गुणले बैशाखबाट काठमाडौंदेखि पोखरा र भरतपुरमा दुई उडानबाट शुरु भर्नेछ भने यति एयरलाइनसँग खरिद गरेका विमान सञ्चालनमा आएपछि काठमाडौंदेखि सबै ट्रंक रुटमा उडान भर्नेछ । त्यसका साथै माउण्टेन फ्लाइट पनि गर्ने योजना कम्पनीको छ ।
‘हाम्रो योजना तत्कालका लागि धनगढी बाहेकका सबै ट्रंक रुटमा उडान गर्ने हो, विस्तारै धनगढी उडान गर्ने योजना पनि छ,’ शाक्यले भने ।
उनका अनुसार यसका लागि कम्पनीले थप १५० जना कर्मचारी थप गर्दैछ । हाल कम्पनीमा करिब १०० जना कर्मचारी कार्यरत छन् भने आगामी दिनमा २५० जना कर्मचारीले प्रत्यक्षरुपमा गुण एयरलाइन्सका तर्फबाट सेवा दिनेछन् ।
आन्तरिक उडानमा अग्रणी वायुसेवा कम्पनी बुध्द एयरसँगै यति एयरलाइन्स, श्री एयरलाइन्स र सौर्य एयरलाइन्ससँगै नेपाली आकाशमा उडान भर्न अन्तिम तयारी गरेको गुण एयरलाइन्सले भने प्रतिष्पर्धाभन्दा पनि सेवामा आफूलाई समर्पित गर्ने योजना बनाएको शाक्यले बताए ।
‘एयरलाइन्स ग्लामर बिजनेस हो, पहिले हामीले जुन गल्ती गर्यौं, अब त्यो गल्ती दोहोरिन्न,’ उनले क्लिकमाण्डूसँग भने, ‘हामी न त प्राइस वारमा लाग्छौं न त प्रतिष्पर्धीका रुपमा अघि बढ्छौं, हाम्रो सोच एयरलाइन्सलाई दीगोरुपमा सञ्चालन गर्ने नै छ । र, यसलाई सफल बनाएरै छाड्छौं ।’
७ वटा विमानबाट एकैसाथ उडान गर्दा दैनिक १ हजार जना यात्रुलाई सेवा सक्नेछन् । आगामी दिनमा ठूलो लगानीमा एटीआर जहाज थप्ने योजना रहेको पनि शाक्यले सुनाए ।
यस्तो छ गुणको तीतो विगत
१७ मे २००९ मा पहिलो पटक गुण एयरलाइन्स नेपाली आकाशमा उडान भरेको थियो । गुण एयरलाइन्सका नामबाट सन् २०१३ सम्म २ वटा विमान निरन्तर नेपाली आकाशमा उडिरहेका थिए ।
विभिन्न व्यवसायमा हात हालेका सफल व्यवसायी राजेन्द्र शाक्यमाथि सन् २०१३ मा वित्तीय संकट आइलाग्यो । फलस्वरुप गुण एयरलाइन्समाथि आर्थिक भार थपियो । एयरलाइन्स घाटामा गयो । नतिजा एयरलाइन्स बिक्री गर्नु पर्यो । र, उनी एयरलाइन्स क्षेत्रबाट बाहिरिए ।
गुण एयरलाइन्सले नाम परिवर्तन गरी सिम्रिक एयरलाइन्स भएको ८ वर्षपछि शाक्यले गुण एयरलाइन्स फेरि ब्यूँताएका छन् । अर्थात् पुनर्जीवन दिएका छन् । यसका लागि उनले यसबीचमा गरेको मिहेनत निकै लोभलाग्दो र व्यवस्थापकीय दृष्टिले प्रेरणादायी छ ।
सन् २०१३ मा शाक्यले गुण एयरलाइन्सलाई क्याप्टेन रामेश्वर थापाको जिम्मामा छाडेका थिए । त्यो बेलामा थापाले सिम्रिक एयर कम्पनीबाट हेलिकोप्टर सञ्चालन गरिरहेका थिए । शाक्यको गुण एयरलाइन्सका २ वटा विमानलाई पनि नाम र रंग परिवर्तन गरी सिम्रिक एयरलाइन्स बनाए र सञ्चालन गर्न थाले ।
शाक्य गुणबाट बाहिरिएपछिको करिब ४ वर्षपछि सिम्रिक एयरलाइन्समै प्रवेश गरे । यता बिग्रेको आर्थिक अवस्थालाई उकास्दै थिए । उता केही समयमै सिम्रिक एयरलाइन्समा शाक्यले प्रबन्धक निर्देशकको जिम्मेवारी सम्हाल्न थाले ।
‘क्याप्टेन थापाले यो एयरलाइन्स बचाउने कार्य मात्रै मैले गरेको हुँ । तर, जुन सुकैबेला फिर्ता लैजान सक्छौं” भन्दै राजेन्द्र शाक्यको हौंसला बढाउने कार्य गर्दै रहे ।
त्यसैले, राजेन्द्र शाक्यले पुनः आफैले एयरलाइन्स चलाउने निर्णय गरे । तर, कसरी सञ्चालन गर्ने, व्यवसापकीय संरचना कस्तो हुने, एयरलाइन्सको नाम के राख्ने भन्नेमा करिब १ वर्ष बित्यो ।
करिब एक वर्षसम्म पनि नयाँ नाम राख्ने कि पुरानै नामबाट सञ्चालन गर्ने दोधारमा परेपछि उनले अन्नतः पुरानै नाम गुण एयरलाइन्स नै राख्ने निधो गरे ।
पुरानै नाममा ल्याउने प्रक्रिया पूरा गर्न थप एक वर्ष लाग्यो । हालै मात्रै कम्पनीले मन्त्रालयबाट पनि यसका लागि स्वीकृति पाइसकेको छ। र, गुण एयरलाइन्सले पुनर्जीवन पाएको छ । र, विमान थप्नका लागि पर्यटन मन्त्रालयले अनुमति पनि दिइसकेको छ ।
यसरी जहाजहरु थपेर गुण एयरलाइन्स अझ बृहत र परिष्कृतरुपमा संचालन गर्ने तयारी गर्न पाउनुको सम्पूर्ण श्रेय भने राजेन्द्र शाक्यले क्याप्टेन थापालाई दिन चाहन्छन् ।
‘दुःखको बेलामा मानिसको पहिचान हुन्छ भन्छन्, हो रहेछ उहाँकै सहयोगले एयरलाइन्स बचाउन सकियो,’ उनी भन्छन् ।
शाक्यले सन् २००९ मा गुण एयरलाइन्स शुरु गर्दा बुध्द एयरसँग करिब ३५ करोडमा खरिद गरेका २ वटा बीच क्राफ्ट र थप एउटा विमान खरिद गरेर एयरलाइन्सको शुरुवात गरेका थिए ।
तर केही समयपछि एउटा बीच क्राफ्ट क्यानडाको कम्पनीलाई बिक्री गरेका थिए । जसका कारण सिम्रिक एयरलाइन्सलाई बिक्री गर्ने समयमा कम्पनीसँग २ वटा बीच क्राफ्ट एयर थिए । जुन अब गुणका नामबाट उड्नेछन् ।