विद्युतीय गाडीमा बिवाइडी एट्टो थ्री र टाटा टियागोको रजगज, कुन गाडीको हिस्सा कति ?



काठमाडौं । यसवर्ष बजारमा थपिएकामध्ये दुईतिहाई कार इलेक्ट्रिक रहेको पाइएको छ । चालु आर्थिक वर्षको १० महिनामा ११ हजार ८ सय ९ कार आयात भएका छन्, जसमध्ये ७ हजार ८ सय २९ वटा कार इलेक्ट्रिक हुन् ।

आयात भएका कारमा विद्युतीयको हिस्सा ६६.१ प्रतिशत रहेको पाइएको छ ।

यस अवधिमा बीवाईडी कारको एकछत्र राज भएको पाइएको छ । आयात भएका हरेक चारमध्ये एक बीवाईडीको कार छ । आयातीत २३.६ प्रतिशत कार बीईडी कम्पनीको रहँदा टाटाको २०.२ प्रतिशत, ह्युन्डाईको ९.९ प्रतिशत, एमजीको ९.३ प्रतिशत, सुजुकीको ६.३ प्रतिशत, महिन्द्राको ५.१ प्रतिशत, सेरेसको ३ प्रतिशत, कियाको २.९ प्रतिशत, निशानको २.५ प्रतिशत, चेरी र ओमोडाको २.३-२.३ प्रतिशत तथा सिट्रोनको २.१ प्रतिशत बजार हिस्सा रहेको छ ।

१० महिनामा आयात भएका ७ हजार ८ सय २९ कारमध्ये बीवाईडी कारको संख्या २ हजार ७ सय ८४ छ । यसैगरी टाटाको २ हजार ३ सय ८८ कार आयात भएका छन् । ह्युन्डाईको भने मात्रै ११ सय ७३ कार आयात भएका छन् भने ११ सय एमजी कार आयात भएका छन् ।

मोडलमा एट्टो थ्री र टियागो अगाडि

चालु आर्थिक वर्षको १० महिनामा आयात भएका १ सय ३५ मोडलका कारमध्ये सबैभन्दा बढी बीवाईडीको एट्टो थ्री आयात भएको छ भने टाटाको टियागो ईभी दोस्रो स्थानमा छ । यस अवधिमा १,९२० वटा एट्टो थ्री आयात भएका छन् । यसैगरी १,४७६ वटा टियागो इभी नेपाल भित्रिएका छन् ।

बढी आयात हुने मोडलको सूचीमा बीवाईडीकै डल्फिन ८६० वटा, एमजीको जेडएस ईभी ६२५ वटा, टाटाको एक्स्प्रेस टी ६८० वटा, महिन्द्राको स्कोर्पियो ४०० वटा, ह्युन्डाईको भेन्यु, क्रेटा र आईटेन क्रमशः ३८२, ३६३ र ३३८ वटा, टाटाको नेक्सन ईभी ३२९ वटा, सेरेसको सेरेसथ्री २९५ वटा, सुजुकीको ब्रिजा २६६ वटा, एमजीको एमजीफोर र कमेट क्रमशः २६५ र २०३ वटा, चेरी र ओमोडा २७१–२७१ वटा, सिट्रनको ईसीथ्री २३८ वटा, नेटा भी २२५ वटा र निशानको म्याग्नाइट २०० वटा आयात भएका छन् ।

यस वर्ष आयात भएका १३५ वटा कार मोडलमध्ये ३० वटा इलेक्ट्रिक हुन् । देशमा आयात भएका हरेक ४ विद्युतीय कारमध्ये एउटा बीवाईडीको एट्टोथ्री पर्छ । एट्टो थ्रीको ईभी बजार हिस्सा २५ प्रतिशत हुँदा टियागो ईभीको १९ प्रतिशत छ । ईभीमा ५ प्रतिशतभन्दा बढी बजार हिस्सा रहेका कारमा डल्फिन ११ प्रतिशत, जेडएस ईभी ८ प्रतिशत र एक्स्प्रेस टी ६.८ प्रतिशत मात्र हुन्।

बीवाईडी

बजार हिस्सामा बीवाईडी सबैभन्दा अगाडि छ ।

१० महिनामा भित्रिएका बीवाईडी कार मध्ये एट्टोथ्री १,९२० वटा, डल्फिन ८६० वटा र सिल ४ वटा रहेका छन् । सबैभन्दा बढी बीवाईडी गत पुसमा ५८४ वटा आयात भएका छन् भने वैशाखमा ४८६ वटा आयात भएका छन् । यसैगरी मंसिरमा ४२१ र असोजमा २७० वटा आयात भएका छन् । बीवाईडीका सबै कार इलेक्ट्रिक हुन् ।

टाटा

यस वर्षको बजार हिस्सामा टाटा दोस्रो नम्बरमा परेको छ । टाटाको सबैभन्दा चलेको कार टियागो ईभी बनेको छ । १० महिनामा १४७६ वटा टियागो ईभी आयात हुँदा ६८० वटा एक्सप्रेसटी र ६६ वटा टिगोर ईभी भित्रिएको छ । यसैगरी नेक्सन पनि राम्रै रुचाइएको कार हो । नेक्सनको ३२९ वटा ईभी आयात हुँदा पेट्रोलबाट चल्ने कार ३४ वटामात्र आयात भएका छन् ।

यसैगरी टियोगाको गैरईभी १४ वटा कार भित्रिएका छन् । यस अवधिमा २८ वटा पन्च र एउटा टिगोर आयात भएको छ ।

टाटाले सबैभन्दा बढी कार असोजमा आयात गरेको थियो । सो महिना ६४३ कार भित्राएको कम्पनीले पुसमा ५५१ वटा, माघमा ४११ वटा र भदौमा २६५ वटा आयात गरेको थियो । वैशाखमा भने टाटाले २०२ वटामात्र कार ल्याएको छ ।

ह्युन्डाई

बजार हिस्साको आधार ह्युन्डाई तेस्रो नम्बरमा छ । ह्युन्डाईको सबैभन्दा बढी रुचाइएको कार भेन्यु हो । भेन्युपछि क्रेटा ३६३ र आईटेन ३३८ पर्छन् ।

यस अवधिमा ६३ वटा एक्स्टर, १४ वटा आयोनिक, तुसान ३ वटा, आईट्वान्टी र औरा ४–४ वटा तथा नेक्सा र स्टेरिया १–१ वटा आयात भएका छन् । कम्पनीको आयोनिकबाहेक सबै गैरईभी हुन् ।

कम्पनीले असोजमा सबैभन्दा बढी २८५ कार आयात गरेको थियो ।

एमजी

बजार हिस्साका आधारमा एमजी चौथो ठूलो कम्पनी हो । कम्पनीले सबैभन्दा धेरै जेडएस ईभी कार बेचेको छ । यसैगरी एमजीफोर र कमेटले पनि राम्रै बजार पाएको छ । यस अवधिमा ६२५ वटा जेडएसईभी आयात हुँदा, २६५ वटा एमजीफोर, २०३ वटा कमेट, ४ वटा एचएस १.५, २ वटा एस्टर र एउटा हेक्टर आयात भएको छ ।

कम्पनीले भदौमा २३१ वटा र असोजमा २२७ वटा कार आयात गरेको छ ।

सुजुकी

नेपालमा मारुती सुजुकीको बजार हिस्सा ह्वात्तै घटेको छ । विद्युतीय कार उत्पादन नगर्ने यो कम्पनीले ब्रेजाबाहेक अन्य मोडल खासै बेच्न सकेको छैन ।

१० महिनामा २६६ वटा ब्रेजा आयात भएका छन् । यसैगरी १२३ वटा फ्रोन्क्स, ८९ वटा स्विफ्ट र ८८ वटा जिम्नी नेपाल भित्रिएका छन् । यस अवधिमा ५१ वटा वागन आर, ६२ वटा सेलेरियो, ४४ वटा भिटारा र २४ वटा अल्टो आयात भएका छन् ।
कम्पनीले सबैभन्दा बढी कार गत असोजमा २४९ वटा आयात गरेको थियो ।

महिन्द्रा

महिन्द्रा बजार हिस्साका आधारमा छैठौं स्थानमा छ । कम्पनीको सबैभन्दा चलेको मोडल स्कोर्पियो हो । एसयूभी र पिकअप गरी १० महिनामा ५२२ वटा स्कोर्पियो आयात भएका छन् । यस अवधिमा ४७ वटा एक्सयूभी ३०० आयात हुँदा २८ वटा एक्सयूभी ७०० र २ वटा एक्सयूभी ४०० आयात भएका छन् ।

नेटा

होजोन अटोले उत्पादन गर्ने नेटाभी र एक्स बजारमा उल्लेख्य उपस्थित बढाइरहेका चिनियाँ कार हुन् । १० महिनामा २२५ वटा नेटा भी र एउटा नेटा एक्स आयात भएको छ ।

सबैभन्दा बढी नेटा वैशाख र पुसमा ५१-५१ वटा आयात भएका छन् ।

अन्य

१० महिनामा उल्लेख्य संख्यामा कार आयात गर्ने कम्पनीहरु चांगन, किया, निशान, टोयोटा, वुलिङ, होजोन (नेटा), सिट्रन, चेरी, ओमोडा, सेरेस आदि हुन्।

चिनियाँ इलेक्ट्रिक कार कम्पनीहरु स्काइवेल, जीएसी, फोटोन आदिले पनि बजारमा उपस्थिति जनाउ थालेका छन् ।

चांगनको दिपाल, हन्टरलगायत कार बजारमा उपलब्ध छन् । यसैगरी ग्रेटवालको ओरालगायत कार नेपाली बजारमा छ्यापछ्याप्ति देखिन थालेका छन् । ग्रेटवालकै हाभाल जोलियोन, हाभाल एचसिक्स र पोइर पनि बजारमा उपलब्ध छन् ।

यस अवधिमा ५ वटा टेस्ला आयात भएका छन् । टेस्लाको मोडल वाई ३ वटा र मोडल थ्री २ वटा आयात भएको छ । टोयोटाले ३६ वटा प्राडो, ३४ वटा हाइलक्स र ३२ वटा रेज आयात गरेको छ । बाँकी मोडलको विक्री नगन्य छ । यस अवधिमा २३८ वटा नेटाभी आयात भएको छ भने एउटा नेटा एक्स नेपाल भित्रिएको छ । सेरेसको थ्रीसँगै ई५०२ र ईसी३५ पनि नेपाली सडकमा कुदेको देख्न सकिन्छ ।

ईलेक्ट्रिकमा किन छ रुची ?

सिप्रदी ट्रेडिङ प्यासेन्जर भेइकलतर्फको महाप्रबन्धक शावन्त जंग शिजापती अहिले इलेक्ट्रिक कारकै बजार रहेको बताउँछन् । दुई वर्षअघि र अहिले तुलना गर्दा सबैको रोजाइमा ईभी नै पर्ने गरेको अनुभव उनले सुनाए ।

कार खरिद गर्न आउनेको छनोटमा ईभी पर्नुका केही तर्क छन् । उनका अनुसार पेट्रोलियमभन्दा राम्रो फिचर भएका कार पेट्रोल कारभन्दा सस्तोमा पाउने, इन्धन भर्नु पर्ने, सञ्चालन खर्च सस्तो हुने, कर्जा लिएरै खरिद गर्न चाहनेले पनि थोरै डाउन पेमेन्ट राखे पुग्ने जस्ता कारण इलेक्ट्रिक कार रुचाइएका छन् ।

टाटाको नेक्सन, टियागो, टिगोरजस्ता ग्राहकको रोजाइमा पर्ने कारहरुमा पनि ग्राहकहरु इलेक्ट्रितर्फ बढी आकर्षित हुने गरेका छन् । शिजापतीले यो वर्षको अप्रिल र मेको बजार हेर्दा प्यासेन्जर भेइकलतर्फ बिक्री भएका ९० प्रतिशत कार इलेक्ट्रिक रहेको उनले सुनाए ।

नयाँ आर्थिक विधेयकमार्फत् विद्युतीय सवारीमा लाग्ने कर केही बढेको छ । यसले हाल आयात भइरहेका मोडलको मूल्य बढाउनेछ ।

ग्रेटवाल मोटर्सका उपाध्यक्ष रुपेश शर्मा भट्ट नयाँ करका दरले नेपालको विद्युतीय कारको मूल्य बढाउने बताउँछन् । ग्राहकहरु पेट्रोलियम कारबाट ईभीतर्फ आकर्षिक हुँदै गर्दा सरकारले प्रहार गरेको उनको भनाइ छ ।

तर, कर बढेपनि नयाँ मोडलमा भने खासै असर नपर्ने बीवाइडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ बताउँछिन् । उनका अनुसार नयाँ गाडीहरु परिस्कृत प्रविधि, उन्नत फिचर, मास प्रोडक्सन हुने भएकाले लागत पनि घट्ने भएकाले उपभोक्तालाई खासै महँगो हुनेछैन । ग्राहकहरुले ईभी रुचाउनुको कारण यी कारमा भएको विशेषता नै रहेको उनले बताइन् ।

जानकारका अनुसार नेपालका लागि निर्यातकर्ता (विदेशी) र नेपाली आयातकर्ताबीचको सम्झौताले मूल्य तय हुने बताउँछन् । विदेशबाट कार निर्माता कम्पनीले नेपालका लागि कम मूल्यमा उत्पादन गरिदिने हो भने करको दर बढेपनि मूल्य खासै फरक नपर्ने उनीहरुको तर्क छ ।

कुन महिना कति आयात ?

साउनदेखि वैशाखसम्म ११,८०८ कार आयात भएकामा सबैभन्दा धेरै गाडी गत असोजमा भित्रिएका छ । असोजमा १९ प्रतिशत अर्थात् २,२०२ वटा कार आयात भएकामा वैशाखमा १५ प्रतिशत अर्थात् १,७७१ कार नेपाल भित्रिएका छन् ।

यसैगरी गत पुसमा १,५८५ वटा कार अर्थात् १३ प्रतिशत कार आयात भएका थिए ।

दसैं तिहार कार बजारका लागि बहारको समय हो । चाडको मुखैमा नाडा अटो शो पनि आयोजना हुने भएकाले त्यहाँ बुकिङ भएका कार असोजमै हुने गर्छ । असोजलाई पछ्याउने महिना वैशाख र जेठ हुन् । जेठमा बजेट भाषण हुने र करका दर पनि हेरफेर हुने भएकाले कर बढ्ने आशंकामा अधिकतम कार आयात गरिन्छ ।

चालु आर्थिक वर्षमा पुसमा समेत उल्लेख्य मात्रामा कार आयात भएका थिए । पुसमै विद्युतीय सवारीमा कर बढ्ने हल्ला चलेकामा सो महिना १० महिनामा आयात भएको कारको १३ प्रतिशत आयात भएका हुन् ।

वैशाख र पुसमा आयात हुने कारमध्ये अधिकांश इलेक्ट्रिक

गत पुसमा १,५७५ कार आयात भएकामा १,३२८ वटा कार इलेक्ट्रिक थिए । यसैगरी वैशामा आयात भएका १,७७१ कारमध्ये १३५१ वटा कार इलेक्ट्रिक थिए । यी महिनामा भएको कुल कार आयातमा इलेक्ट्रिकको हिस्सा क्रमशः ८४ प्रतिशत र ७६ प्रतिशत हो । जबकी १० महिनामा विद्युतीय कारको हिस्सा ६६ प्रतिशत छ । अर्थात् करको दर बढ्ने हल्लाले विद्युतीय कारको बजार प्रभावित पारेको प्रमाणित हुन्छ ।


रोविन पौडेल