राजस्व, भन्सार र सम्पत्ति शुद्धीकरणका महानिर्देशकसँग ढकालले भने: अस्थीर नीतिले लगानी निरुत्साहित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्वशर्त भएको बताएका छन् ।
महासंघमा मंगलबार आयोजित राजस्व सम्वद्ध चार महानिर्देशकहरुसँगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक वर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको बताएका हुन् ।
भूतप्रभावी कानुन, करका दरहरुमा हुने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजस्व पनि अपेक्षित रुपमा उठन नसकेको उनको भनाइ थियो ।
आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरुको उपस्थितिमा महासंघमा आयोजि कार्यक्रममा अध्यक्ष ढकालले कृषिजन्य वस्तुको आयातमा लागेका अग्रिम आयकर, फलामे छडको अन्त:शुल्कका बिषय आउन थालेको विवाद, नयाँ करका दरहरु लगायतका बिषयमा सरकार सम्मेवदनशील हुनपर्ने बताए ।
यसैगरि नेपालमा सयौ वर्षदेखि निरन्तर व्यवसाय चलिरहेको र आधुनिक कर सम्बन्धि कानुनहरु पछिमात्रै आएको हुँदा सम्पत्ति अभिलेखीकरणको अवसर सबैलाई प्रदान गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल राष्ट बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण अनुसन्धान विज्ञ हरि नेपालले सम्पत्ति अभिलेखीकरणको मोडालिटिबारे थप छलफल आवश्यक रहेको बताए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगका महानिर्देशक कमल भट्टराईले यो बिषय अन्तर्राष्ट्रिय स्तरमा पनि रहेको हुँदा लगानी निरुत्साहित नहुने गरि सुधार गर्दै जानुपर्ने बताए ।
यसैगरि, राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढाले राजस्व अनुन्धानले निजी क्षेत्रसँगको सहकार्यमा काम गर्न चाहेको बताए ।
भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौलाले भन्सार सहजीकरणका लागि थप छलफल गरि सहजीकरण गरिने जानकारी दिए ।
आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले निजी क्षेत्र मैत्री कर प्रशासन बनाउन सरकार प्रयासरत रहेको भन्दै बजेटमा भएको व्यवस्था कार्यान्वयनमा जाने बताए । केहि कतै समस्या भए सुधार गरिने पनि उनको भनाइ थियो ।
छलफलमा महासंघका सदस्य जिल्ला नगर, वस्तुगत, द्विराष्ट्रिय र एसोसिएट गरि एक सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो । यस वर्षको बजेटमा गरिएको व्यवस्थाले व्यवसायमा परेको प्रभावबारे उनीहरुले धारणा राखेका थिए ।