गृहमन्त्रीले संसदलाई ढाँटे, सहकारीको पैसा गोर्खा मिडियाबाट रास्वपा सहमहामन्त्री र ससुराको कम्पनीमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा उभिएर देश र जनतालाई ढाँटेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै लामिछानेले गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीबाट लिएको ऋणका बारेमा आफूलाई जानकारी नभएको र जिबी राईले गरेको हरेक कारोबारको जिम्मेवारी लिन नसक्ने दाबी गरेका थिए ।

त्यतिमात्रै होइन, सहकारीबाट ऋण लिने कुनै पनि कागजातमा आफ्नो हस्ताक्षर नभएको दाबी गरेका थिए । लामिछानेले चर्को स्वरमा गरेको दाबी झुट साबित भएको छ । चर्का स्वरमा भाषण गरेर, मेरो पोल खुले अरुको पनि पोल खोल्छु भन्दै हिँडेका लामिछानेले जनप्रतिनिधि सांसदलाई राखेर झुट बोलेका छन् ।

कम्पनी रजिष्टरको कार्यालयमा पेश गरेको कागजात अनुसार गोर्खा मिडिया नेटवर्क प्रालिको २२ करोड ७८ लाख ८० हजार ३५६ रुपैयाँ ६७ पैसा ऋण लिएको पाइएको छ ।

लामिछानेले उक्त ऋण लिएर गरेको लेखापरीक्षण प्रतिवेदनमा तत्कालीन प्रबन्ध निर्देशकको हैसियतले २०७८ असार ३१ गते हस्ताक्षर गरेरका छन् ।

सहकारीमा बचतकर्ताले बचत गरेको पैसा बिनाधितो ऋण ल्याएर गोर्खा मिडिया नेटवर्कका तत्कालिन प्रबन्धन निर्देशक लामिछानेले आफ्ना ससुरा उद्बव पौडेलेको कम्पनी गोपी कृष्ण मुभि प्रालिमा दिएको पाइएको छ । २०७८ असार ३१ गतेसम्मको लेखापरिक्षण प्रतिवेदन अनुसार गोर्खा मिडियाले गोपिकृष्ण मुभिमा २५ लाख रुपैयाँ दिएको पाइएको छ ।

सहकारीका बचतकर्ताको रकम लामिछाने, जिबी राईले गरेको दुरुपयोग यतिमामात्रै सिमिति छैन । रवि लामिछानेले नेतृत्व गरेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन कुमार आचार्यको कम्पनीमा पनि राम्रै लगानी गरेका छन् ।

सहमहामन्त्री आचार्यको स्वामित्वमा रहेका नोबडी प्रडक्सनलाई गोर्खा मिडियाले ५ करोड ३५ लाख रुपैयाँ दिएको छ । यो सबै पैसा सहकारीको हो । ५ करोड ३५ लाखमा २०७७ कात्तिक ६ गते नोबडी प्रडक्सन कम्पनीको एनआईसी एशिया बैंकको खातामा ७५ लाख रुपैयाँ जम्मा भएको देखिएको छ । त्यो रकम सुप्रिम बचत तथा ऋण सहकारीबाट लिइएको हो ।

त्यतिमात्रै होइन २०७८ पुस १२ गते विपिन कुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार रुपैयाँ ऋण उक्त सहकारीबाट लिइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यो सबै रकम कुनै प्रकृया पुरा नगरी लिइएको अनुसन्धानले देखाएको छ ।

‘एउटा ग्याङ नै छ, सहकारीमा पनि उही छ, मिडियामा पनि उही छ । अनि अहिले पार्टीको कोही सहमहामन्त्री छ, कोही के पदमा । पहिला मिडिया चलाउने, मिडिया चलाउँदा पनि नभएपछि सहकारी चलाउने, सहकारी चलाउँदा नभएपछि अहिले आएर एकपटक देशै पो चलाइदिउँ न एकपटक भनेर आएको अवस्था छ ।’ कांग्रेस महामन्त्री थापाले आइतबार पत्रकार सम्मेलनमा भनेका थिए ।


क्लिकमान्डु