‘नेपालको संसदीय इतिहासमा मेट्नु पर्ने कालो दिन’, वा क्या स्वाद आयो !



काठमाडौं । पूर्वपत्रकार तथा राजनीतिज्ञ रवीन्द्र मिश्रलाई धेरैले आरोप लगाउँछन्, उनले नेपालको राजनीतिमा वैकल्पिक शक्तिको संभावनालाई जरैबाट उखेलेर फाले भनेर ।

मिश्रले लामो समय विश्वकै उत्कृष्ट समाचार संस्था बीबीसीमा काम गरे, ख्याती कमाए । अनि देश प्रेमको हुटहुटीले नेपाल फर्केर राजनीति, त्यो पनि पुरातन नभएर वैकल्पिक शक्तिको, राजनीति गरे, साझा पार्टीको नाममा ।

भलै पछि उज्जव थापा नेतृत्वको विवेकशील नेपाली दलसँग मिल्न गए । मिल्न त मिले, तर, न साझा भए, न विवेकशील बन्न सके । त्यसैले उनले विवेकशील साझा पाटीको अध्यक्ष पदबाट पनि राजीनामा दिए र हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष छन् ।

मोरल अफ द स्टोरीः कुनै एउटा मान्छे वा मान्छेहरुको समूहले नयाँ दल बनाउँदैमा वैकल्पिक वा नयाँ राजनीति हुँदैन रहेछ । नयाँ भन्नुको अर्थ, रुपमा र सारमा पनि नयाँपन हो, ब्यवहार र विचारमा पनि नयाँ हो । उस्तै, ब्यवहार, उस्तै चिन्तन अनि उस्तै कृयाकलाप तर, नाम चाहिँ नयाँ भन्दैमा नयाँ हुँदैन, अझ नेपाली समाजमा त हुँदै नहुने रहेछ ।

आइतबार नेपालको सार्वभौम संसद्मा यस्तै, आफूलाई नयाँ र युवा दाबी गर्ने तर, पुरातन रुढिवादी मानसिकता बोकेको एक बहालवाला गृहमन्त्रीले धम्कीयुक्त भाषण गरे र खुलेआम वार्गेनिंग गरे । जुन देशमा सरकार, अझ गृहमन्त्री नै सार्वभौम संसद्मा धम्की दिन्छ भने, त्यो देशका जनताको हैसियत ठगिनु नै हो, चाहे सहकारी होस् वा गिरीबन्धु । फेरि यो पहिलो पटक भएको पनि होइन ।

फरक के भने, एकै दिनमा देशै बदल्ने ताकत राख्ने नयाँ युवा दाबी गर्नेले वर्षौदेखि जे गरेका कारण पुराना दलहरुप्रति जनतामा वितृष्णा छ, ठयाक्कै त्यस्तै गरे । अझ त्योभन्दा बढी गरे । संसद्को रोष्ट्रममा उम्भिएर खुलेआम धम्की दिए र बार्गेनिङ गरे ।विपक्षी दल तथा तिनका नेतालाई ब्यक्तिगतरुपमा नै धम्की दिए, ‘तिमिहरुका फाइल खोलौ कि मलाई खान दिने ? तिमिहरुले अर्बौ खाने मैले खान नपाउने ?’

यो सायद उनको पुरानै बानी होला ।

तर, उनी त्यतिमा मात्र रोकिएनन्, उनले आफ्नो मात्र नभएर समग्र युवा पुस्ताको सपनाको पनि हत्या गरे, युवाका नाममा, नातीपुस्ताका नाममा भावनात्मकरुपमा ब्ल्यकमेल गरेर । अब कोहि युवा किन नेपालको राजनीतिमा आओस् । अब त खुलमखुल्ला सहकारी ठग, अपराधी अनि ब्ल्याकमेलरहरुले संरक्षण लिन आउने सुरक्षित ठाउँ पाए नेपालको राजनीतिमा ।

सकेजति लुट्नुस् अनि राजनीतिमा आउनुस्, कसले कारबाही गर्ने ?

नेपालको राजनीतिको परिभाषा तथा परिचय बदलेकोमा धेरैले आशा गरेका युवा नेताहरु क्यावात् स्वर्णिम, क्यावात् मनिष, क्यावात् हरि, अनि क्यावात् सुमना, सोभिता, गणेश, अनि डा तोसिमा कार्की !

यसकारण पनि तपाईहरुलाई क्यावात् कि अब नेपाली जनताले आगामी एक दशक फेरि तिनै पुराना नेता नै भोग्नु पर्ने भयो । तपाईका नेताले नेपालमा जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान सहि सिद्ध गरे । तपाईहरुको सकृय सहयोग र योगदानका कारण अब नेपालको राजनीतिमा ठग, भ्रष्ट तथा अपराधीले मज्जैले संरक्षण पाउने भए, क्या स्वाद आयो हगी !

त्यसैले, २०८१ साल जेठ ६ गते आइतबार नेपालको संसदीय इतिहासमा युगौंसम्म स्मरण योग्य रहने छ । किनकि सार्वभौम संसद्मा एउटा जिम्मेवार गृहमन्त्री देशका गोप्य सूचना बेचेको आरोप लगाउँछ तर, कारबाही गर्न सक्दैन । यस्तो नालायक र निकृष्ट गृहमन्त्री छ नेपालमा, जो संसद्मा सबैलाई आरोप लगाउँछ अनि बार्गेनिंग गर्छ, ‘फाइल खोलौं ?’

हैसियत भएको औकात भएको गृहमन्त्री हुन्थ्यो भने, गिरीबन्धु टी इस्टेट, टिकापुर जग्गा, ललिता निवास, वाइडबडि वा जे जे आरोप लगाएको छ, सबको फाइल बोकेर ल्याएर आजै सबैलाई संसदबाटै सिधै जेल लैजान्थ्यो । तर, हैसियतबिहीन कलाबिहीन खेलौना गृहमन्त्रीले बार्गेनिंग मात्र गर्छ, रवि लामिछानेले त्यहि गरे । जसको जे क्षमता हो, त्यहि नै गर्ने त हो नी ।

प्रहरी प्रशासन आफनो हातमा छ, तर, गृहमन्त्री त्यसको सदुपयोग गरेर बिधि प्रकृयामा गएर दोषीलाई कारबाही गर्दैन, आफना काला करतुत लुकाउन, ढाकछोप गर्न राज्य संयन्त्र दुरुपयोग गर्दछ । अनि सार्वभौम संसद्मा उभिएर भावना बेच्छ, धम्की दिन्छ, ‘मेरो फाइल खोले, यस्को, उस्को, सबको खोल्छु । तिमीहरु सबैजना खाने, मैले खान नपाउने ? तिमिहरु मात्र बर्षौदेखि अर्बौ खाने ? हामीले करोड पनि खान नपाउने ?’

आज नेपाल बिग्रेको राजनीतिक दलले भागबन्डा लगाएर मिलाएर खाए, गिरीबन्धुदेखि ललिता निवाससम्म, वाइडबडिदेखि सहकारीसम्म भन्ने सबै नेपालीले बुझेका छन् । तर, उ खुल्लमखुल्ल चुनौती दिन्छ, जनताको रगत पसिना सबैले खाँदा, मैले पनि खान पाउनु पर्छ । क्यावात् !

रुस-युक्रेन युद्धको एउटा कारण आलोकाँचो राष्ट्रपति भएको आरोप लाग्ने गर्दछ, भ्लोदिमिर जेलेन्स्कीलाई । अझ नेपालका कम्युनिष्ट पार्टीहरु त रुससँगको आफनो परम्परागत संगतका कारण रुस युक्रेन युद्धको प्रमुख कारक नै जेलेस्कीलाई मान्दछन्।

सायद, नेपाली जेलेन्स्की त्यसैभएर मन परेको होला । हुनत जेलेन्स्कीको पनि आफ्नै दुख छ, पश्चिमाको घोडा भयो भन्ने आरोप छ, विचरालाई । कसै न कसैको घोडा हुँदा नै शक्ति पाइने हो, जेलेन्स्कीहरुलाई राम्ररी थाहा छ ।

सहकारी ठगीमा कारबाही हुँदा नेकपा एमालेका धेरै कार्यकर्ता पर्छन् भनिन्छ, त्यसैले पनि होला, नेकपा एमाले, विशेषतः अध्यक्ष केपी शर्मा ओली चाहँदैनन्, सहकारीमा ठगीमा छानबीन गरि कारवाही गर्न ।

प्रधानमन्त्री पुष्पकमल दाहालले त झन् चाहने कुरै भएन । एकातिर सुन तस्करीको आरोपी अर्थमन्त्री अर्कोतिर सहकारी ठगीको आरोपी गृहमन्त्री राखेर मन्त्रीपरिषद्को बैठकमा सुशासनको नारा भट्याउँदा कम्ता स्वाद आउँछ ?

लौ, सदनमा गृहमन्त्री रवि लामिछानेले अर्थमन्त्री वर्षमान पुनको सुन तस्करीको आरोपको फाइल खोलौं भन्न बिर्सिए। बरा, हुनत गिरीबन्धुको फाइल खोलौं भन्न पनि बिर्सिएछन् । यी दुबै फाइल खोलौ भनेको भए क्या स्वाद आउँथ्यो ।

२०८१ साल जेठ ६ गते आइतबार नेपालको इतिहासमा यसकारण पनि स्मरणीय रहने भयो कि नेपालमा राजावादी, कम्युनिष्ट, काँग्रेस अनि नयाँ दल, युवा दल, बुढा दल सबैको कार्यशैली र एजेन्डा एउटै हो भन्ने स्थापित भयो । क्यावात्, राष्ट्रिय स्वतन्त्र पार्टी!

उस्ता उस्तै विचारधारा, उस्ता उस्तै एजेन्डा, उस्ता उस्तै कार्यशैली, उस्ता उस्तै नेतृत्वपङ्क्ति, उस्ता उस्तै सोच, उस्ता उस्तै प्रवृत्ति अनि उस्ता उस्तै चरित्र भएपछि ‘हात्ती छाप चप्पल र चप्पलछाप हात्ती’मा नेपाली जनतालाई अब उप्रान्त कुनै भ्रम हुने छैन।

अधिनायकवाद र सामन्तवादी राजनीतिक संस्कारको निरन्तरता भएका कारण राणा शासन वा राजतन्त्र हटे पनि नेपाली जनताले आफनो इतिहास मिस गरेका छैनन् । त्यसको लागि राजनीति दलहरुलाई पनि क्यावात् !

एक हदसम्म कुर्सी र जुँगाको लडाइँ बाहेक सत्ता र शक्तिमा पुग्न अनि राज्यशक्तिको दुरुपयोग गर्न, राज्यका स्रोतको दोहन गर्न सबैको प्रतिस्पर्धा भएपछि अब नयाँ भनेर ढोंग नगरेकै बेस् । सत्तामा रहन जो जहिले जोसँग पनि लपक्कै हुने भएपछि गरिब जनतालाई सबैले लुट्ने नै हो ।

आधारभुत लोकतान्त्रिक मूल्य–मान्यता नै नभएका र एकजना नेताले उठ भने उठ्ने अनि बस भने बस्ने भुइफुट्टा वर्गको शासन प्रणाली विकास गरेपछि जनताले पाउने धोका नै हो ।

बरु, समाजवादउन्मुख अर्थतन्त्र, सहकारी वा गिरीबन्धु जे सुकै नाममा भुइफुट्टा वर्गको मात्र उत्थान हुने भएकै कारण अब नेपालको राष्ट्र गान नै परिवर्तन गरे कसो होला ।

‘लुट्न सके, लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइन्न नेपालमै छ छुट ।’

वा, क्या स्वाद आउँछ !!!


कुबेर चालिसे