गृहमन्त्रीज्यू सहकारीको पैसा खोज्‍ने कि हराएको घडी ?



रविले कांग्रेससँग सिंगौरी खेल्ने समय चुनाव हो । कहिले चुनावी क्षेत्रको खुला मैदानमा कांग्रेसका नेतालाई बोलाउने, कहिले हराएको घडीबारे छानविन समिति बनाउने उनका चेतावनी अचम्मकै छैनन् त ! रविले गगनलाई त जवाफ नदिएलान्, सहकारी पीडित जनतालाई त जवाफ दिनैपर्छ- सहकारी ठगीका अभियुक्त जीबी राईलाई कहिले पक्राउ गर्ने ? ठगीका आरोपितहरुमाथि छानविनको बाटो कहिले खुलाउने ?

काठमाडौं । सहकारी ठगी प्रकरणले सत्ता राजनीति पेचिलो बन्दै गएको छ । विशेषगरी दुई युवा नेता दृश्यमा उत्रिएका छन् । रवि लामिछाने र गगन थापा । केही सातादेखि संसदीय राजनीति यीनै दुई युवा नेताको जुहारीको केन्द्रमा रुमलिएको छ भन्दा पनि फरक नपर्ला ।

केही दिनदेखि नै ‘बोल्न नपाएको’ भन्दै गुनासो गरिरहेका गृहमन्त्री रवि लामिछाने आइतबार रोस्ट्रममा उभिएर मज्जैले बोल्न पाए । तर गृहमन्त्रीको रुपमा भन्दा पनि प्रतिसोध र बदला लिनका लागि । त्यहाँ उनले धनराज गुरुङ र गगन थापा विद्यार्थी नेता छँदा नै चर्चा हुने गरेका ‘रातो पासपोर्ट प्रकरण’देखि ‘त्रिचन्द्र क्याम्पसको पार्क’ बनाउने प्रकरणसम्मको छानबिनको माग गरे । कांग्रेसका अर्का नेता रामहरि खतिवडाप्रति लक्षित गर्दै ‘घडी चोरीको प्रकरण’को पनि छानविन गर्नुपर्ने तर्क गरे ।

राजनीतिमा नयाँ भए पनि लामिछाने गृहमन्त्री नै हुन् । र संसद्‍मा उभिएर सोधिरका छन् ‘छानविन गरौं न !’ त्यो पनि २ दशकअघिका घटनाको । ती घटनामा घोटाला भएको चर्चा हुँदा सायद लामिछाने अमेरिकामै थिए । र अहिले यस्तो समयमा उनले प्रश्न गरिरहेका छन्, जतिबेला उनीमाथि सहकारी घोटालाबारे छानविनको चौतर्फी माग छ ।

हरेक दिन सडकमा सहकारी पीडित लाखौं जनताहरु न्यायको लागि आन्दोलन गरिरहेका छन् । तर आरोपित गृहमन्त्री भने २० वर्ष पुराना घटनाको छानबिन गरौं भनेर संसद्‍मा चिच्याइरहेका छन् । सहकारीकै कारण हजारौं परिवारको उठीबास भएको छ । आरोपित गृहमन्त्री भने कुन नेताले कहिले कतिवटा बाख्राको अनुदान खायो भनेर संसद्‍ तताइराखेका छन् । जनताहरु सहकारी ठगलाई पक्राउ गर भन्दै आन्दोलन गरिरहेका छन् । आरोपित गृहमन्त्री भने १० वर्षअघि कुन नेताले कसको घडी चोरेको थियो त्यसको छानविन गरौं भनेर संसद्‍मा ताली खोजिराखेका छन् ।

रविको प्रतिशोधको राजनीति

गृहमन्त्री लामिछानेलाई लागेको होला, गगन थापा र कांग्रेसले किन खेदिराखेका छन् भनेर । तर उनलाई थाहा छ कि छैन गगन र रमेश लेखकले भन्दा धेरै हजारौं पटक आम जनताले सोधिराखेका छन्, सहकारीको पैसा खै ? सहकारी ठगीका प्रमुख अभियुक्त र रवि लामिछानेका साझेदार जीबी राई खै ? रवि र रास्वपालाई त्यसै आलोकाचो भनिएको हैन रहेछ, आइतबार त उनले संसद्‍मा उभिएर राजीनामा दिँदै छानविनका लागि बाटो खुला गर्छु भन्लान् भन्ने धेरैलाई लागेको थियो ।

तर उनी त व्यक्तिगत रुपमा प्रतिपक्षीसँग सिँगौरी खेल्न थाले । उनको भाषणले यस्तो भान हुन्छ कि, आम जनतालाई कुनै वास्ता छैन केवल कांग्रेस र गगन थापाले मात्रै सहकारीको प्रकरण उठाइराखेको छ । त्यसैले उनले आफ्नो सम्पूर्ण भाषण कांग्रेस र गगन प्रति नै लक्षित गरे ।

लामिछानेले दुईवटा गल्ती बारम्बार गरिरहेका छन् । पहिलो गल्ती-सहकारी प्रकरण छानविनमा अवरोध गर्नु । दोस्रो गल्ती-कांग्रेसलाई मात्रै छानविन चाहिएको भन्ठान्नु ।

हुन त कुनै घटनामा कसैको नाम मुछियो भने ठाडै टेलिभिजन लाइभबाट औंला तेर्स्याएर व्यक्तिगत लान्छना लगाइदिने, अनि भावना भरिएका उत्तेजक भाषण गर्ने लामिछानेको टेलिभिजनदेखिकै शैली हो । त्यही शैली आइतबारको संसद्‍मा पनि उनले देखाए । गगन थापाले पनि भने उनी आफूलाई टेलिभिजन प्रस्तोता ठान्छन् कि गृहमन्त्री ? आइतबारको उनको प्रस्तुतीले पक्कै यस्तो आशंका झन् बलियो बनायो ।

केही सातादेखि ‘बोल्न पाइनँ’ भनेर उनले गुनासो गरिराखेको केका लागि थियो ? कांग्रेसका नेतालाई ठेगान लगाउँछु भनेर धम्क्याउनकै लागि थियो ? सहकारी पीडितहरुले गृहमन्त्रीको जवाफबाट कसरी बुझ्ने ? मन्त्रालयदेखि क्वाटरसम्म पुग्ने सहकारी पीडितहरुले गृहमन्त्रीबाट आज के खोजिराखेका छन् ? फसेको पैसा, दोषीको पक्राउ, छानविन समिति कि हराएको घडी ?

गृहमन्त्री लामिछानेले फेरि गल्ती नगरुन् उनले कांग्रेससँग सिंगौरी खेल्ने समय चुनाव हो । कहिले काठमाडौं चुनावी क्षेत्र ४ को खुला मैदानमा कांग्रेसका नेतालाई बोलाउने, कहिले हराएको घडीबारे छानविन समिति बनाउने उनका चेतावनी अचम्मकै छन् । लामिछानेले गगन र कांग्रेसलाई त जवाफ नदिएलान्, सहकारी पीडित जनतालाई त जवाफ दिनैपर्छ- सहकारी ठगीका अभियुक्त जीबी राईलाई कहिले पक्राउ गर्ने ? ठगीका आरोपितहरुमाथि छानविनको बाटो कहिले खुलाउने ?

पोलिटिकल स्पेस बनाउने गगनको चलाखी

एक युवा नेताको रुपमा गगन थापाको अहिलेको अडानलाई हेर्ने हो भने यसले सहकारी पीडितलाई कुनै न कुनै रुपमा राहत नै मिल्ला । तर रास्वपा र रविसँगको यो प्रतिस्पर्धासँगै लुकेको छ गगन थापाको राजनीतिक भविष्य । पछिल्लो समय युवा नेताको रुपमा रविले छवि बनाउँदै गर्दा गगन थापाको स्पेस खुम्चिने क्रममा थियो । अर्थात् उनले भविष्यमा आफ्नै पार्टीका विश्वप्रकाशभन्दा बलियो प्रतिस्पर्धी रविलाई नै देखेका थिए । भलै रविका आफ्नै निजी विवाद र झमेलाका कारण पनि राजनीतिक भविष्य जोखिममै थियो ।

तर लोकप्रियतावादी राजनीतिमा पछिल्लो समय मिडिया र सोसल मिडियाबाट रातारात उदाएका नेताहरु अरु धेरैका लागि चुनौती बन्दै आएका छन् । क्षणिक रुपमै भए पनि बालेनदेखि हर्क साम्पाङ र रविदेखि दुर्गा प्रसाईँसम्मका व्यक्तिको राजनीतिक शैलीले परम्परागत दलका युवा नेताहरुमाथि कुनै न कुनै असर परेकै छ ।

गगन थापालाई भविष्यको प्रधानमन्त्री बनाउनुपर्छ भन्ने युवाहरुको एउटा भीड पछिल्लो समय रविको शालिक बनाएर पूजा गर्नुपर्छ भन्न थालेका थिए । यो कुरा गगनले पक्कै आकलन गरेको हुनुपर्छ । पुराना नेताहरुलाई गाली गरेर रातारात हिरो हुने र जनतामाझ लोकप्रिय हुने रविको ‘नायक’ फिल्मी स्टाइलबाट गगन केही हदसम्म त्रसित नै भएको हुनुपर्छ ।

यदि लामिछाने पनि कुनै दिन बालेन र हर्क साम्पाङ झैं ‘नायक’ बने भने त रविलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर नेविसंघकै युवाहरु सडकमा उत्रिने खतरा गगनले देखेकै थिए । र यसको घाटा पार्टीगत रुपमा कांग्रेस र व्यक्तिगत रुपमा गगनलाई नै हुने थियो । यस्तो अवस्थामा रविको अराजकता रोक्ने गगनको चलाखी हेर्दा उनी उनी फाइट टु फिनिसकै मूडमा देखिन्छन् ।

यसरी हेर्दा रवि लामिछानेलाई छानविन समितिले निर्दोष सावित पनि गर्न सक्ला । तर सहकारी ठगीमा उनी निर्विवाद नेता भने रहेनन् । यसको जवाफ उनले जीवनभर दिइरहनु पर्नेछ । कानुनले उनलाई दोषी ठहर नगर्ला तर नैतिक रुपमा भने २०८४ सम्म उनको आत्मवल खस्किएकै हुनेछ ।

कम्तीमा लामिछाने एकै जनाको कारण सडक र संसद्‍मा यति धेरै आन्दोलन भइसके । सरकार नै तलमाथि हुने खतरा देखियो । तर पटक पटक गृह मन्त्रालयमै टासिनुपर्ने लामिछानेको रुची सन्देहपूर्ण नै छ । यसअघि नागरिकता प्रकरणमा दोषी ठहर भएपछि लामिछानेले पद नै छाड्नु परेको थियो । आफूले छाडेपछि उनले अन्य मन्त्रीलाई पनि फिर्ता बोलाए । अहिले सहकारी ठगी प्रकरणमा उनको भूमिकालाई लिएर यतिका विवाद र तनाव हुँदा पनि उनी गृह मन्त्रालय छोड्ने मनस्थितिमा छैनन् । यसले उनको व्यक्तिवादी राजनीति त प्रस्ट देखियो । यससँगै आफूसँगै सिंगो पार्टी र पार्टीका आशालाग्दा अरु नेताहरुको पनि राजनीतिक भविष्य दाउमा पारिदिए ।

यद्यपि संसदीय मैदानमा दुई युवा नेताको अस्तित्वको लडाइँ देखिए पनि सहकारी ठगी प्रकरण रवि र गगनको मात्रै मुद्दा भने हैन । दसौं हजार परिवारको उठीबास लागेर सडकमा आएका छन् । दर्जनौं सहकारी संस्था र तिनका सञ्चालक करोडौं खाएर फरार भइसके । ५०/१०० गरी खुत्रुकेमा जम्मा गरेको पैसाले बलियो छानो हाल्ने आम जनताको सपनाको हत्या भएको छ । तर अब बनाइने संसदीय छानविन समितिले ती पीडित परिवारहरुको पनि न्याय सुनिश्चित गरोस् ।


क्लिकमान्डु