बाफिया जस्ताको त्यस्तै पारित भए बैंकमा लगानी गर्ने यी ८८ जना प्रत्यक्ष प्रभावित हुने, कस्को कति स्वामित्व ?
काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकमा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व ८८ व्यक्तिको रहेको छ ।
केही समयअघि सरकारले संसदमा प्रस्तुत गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को संशोधन विधेयक २०८० मा बैंकर र व्यवसायी छुट्याउने प्रस्ताव गरिएको छ । १ प्रतिशतभन्दा बढी संस्थापक सेयर हुने लगानीकर्तालाई बैंकिङ प्रणालीबाट कर्जा लिन कडाइ गर्ने प्रस्ताव छ । जसले पनि बैंकिङमा लगानी गरिरहेका ठूला लगानीकर्तालाई अफ्ठ्यारो पर्ने देखिएको हो ।
प्रतिनिधिसभामा दर्ता भएको बाफिया जस्ताको त्यस्तै पारित भएको यी ८८ जना प्रत्यक्ष प्रभावित हुने भएका छन् । उनीहरुले आफ्नो स्वामित्वमा भएको सेयर बिक्री गर्नुपर्ने देखिएको छ ।
बैंकर र व्यवसायी छुट्याउने भन्दै यस्तो व्यवस्था गर्न लागेको अर्थ मन्त्रालय, कानून मन्त्रालय र राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
गत आर्थिक वर्षको असार मसान्तको विवरण अनुसार वाणिज्य बैंकमा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने ८८ जना व्यक्ति रहेका छन् । यी ८८ जनासँग वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजीको ९.०९ प्रतिशत सेयर स्वामित्व छ अर्थात् ३३ अर्ब ६४ करोड रुपैयाँ लगानी छ । असार मसान्तसम्म बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ६९ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ थियो । यो अवधिमा २१ व्यक्तिसँग १५ अर्ब १६ करोड २७ लाख ६२ हजार ७५१ रुपैयाँको १५ करोड १६ लाख २७ हजार ६२८ कित्ता अर्थात समग्र स्वामित्वको ४.१० प्रतिशत छ।
यी व्यक्तिहरुको अन्य कम्पनीमार्फत पनि बैंकमा लगानी छ । व्यक्तिको निजी स्वामित्वका कम्पनीको नाममा पनि सेयर स्वामित्व रहेको छ भने एकाघरमा परिवारको नाममा पनि सेयर स्वामित्व रहेको छ । उनीहरुले त्यो स्वामित्व घटाउनु पर्ने देखिएको छ ।
लगानीका हिसाबले बैंकिङ क्षेत्रलाई राम्रो क्षेत्र मानिए पनि पछिल्लो समय बैंकले दिने प्रतिफल घट्दै गएको छ । अहिले बैंकको औषत प्रतिफल १०.७३ प्रतिशतको हाराहारी छ । प्रतिफल घटेसँगै कतिपय संस्थापक सेयरधनीहरु धमाधम सेयर बेचेर बाहिरिरहेका छन् । संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न नदिई १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुनेलाई बैंकबाट ऋण लिन कठोर नीति बनाइनू व्यवहारिक नभएको निजी क्षेत्रको बुझाइ छ । किनभने, अहिले व्यवसायीहरुले नै बैंकमा लगानी गरेका छन् भने उनीहरुले नै बैंकबाट ऋण लिएका छन् ।
बैंकमा ९० प्रतिशत सर्वसाधारणको निक्षेप हुने भएकाले यो उद्योगमा ठूलो विश्वास कायम राख्नका लागि र संस्थागत शुसाशन कायम राख्न बैंकर र व्यवसायी छुट्याउन लागिएको हो । यो विधेयर जस्ताको त्यस्तै पारित भएको अवस्थामा कुनै पनि व्यवसायीले कि त बैंकमा मात्रै लगानी गर्नुपर्ने छ, कि त अन्य व्यवसायमा मात्रै ।
एभरेष्टः एभरेष्ट बैंकमा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व ५ जनाको छ । प्रतिमा श्रेष्ठको १४.७७ प्रतिशत, बिष्णु भक्त (बिके) श्रेष्ठ ९.१८ प्रतिशत, रवि कृष्ण श्रेष्ठ १.८८, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत, शान्तदेव पाठक १.१८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
माछापुच्छ्रे बैंकः माछापुच्छ्रेमा १ प्रतिशतभन्दा बढी ९ जनाको सेयर स्वामित्व छ । सुरेन्द्र महतोको १०.९५ प्रतिशत, उपेन्द्र महतो ९.१४ प्रतिशत, प्रेम कुमारी केसी ८.६८ प्रतिशत, राम आशिस साहुको ४.२४ प्रतिशत, कृष्ण श्रेष्ठको २.०६ प्रतिशत, डा धर्मराज श्रेष्ठको १.५६ प्रतिशत, किरण केसी १.४६ प्रतिशत, प्रकाश केसी १.२९ प्रतिशत, रोशन केसीको १.१४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
सानिमा बैंकः सानिमामा ७ जनाको सेयर स्वामित्व १ प्रतिशतमाथि छ । अरुणकुमार ओझाको ७.९४ प्रतिशत, टेकराज निरौलाको ६.८१ प्रतिशत, जिवनाथ लामिछाने ५.५१ प्रतिशत, विनय कुमार श्रेष्ठको ४.३८ प्रतिशत, घनश्याम थापाको ३.५ प्रतिशत, खेमराज लामिछानेको ३.५ प्रतिशत, राम कृष्ण साहको २.४९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
एनआईसी एशिया बैंकः एनआईसी एशियामा १४ जनाको सेयर स्वामित्व १ प्रतिशतभन्दा माथि छ । अशोक कुमार अग्रवालको ६.१८ प्रतिशत, त्रिलोक चन्द्र संघइको ५.३४ प्रतिशत, रामचन्द्र संघइको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघइको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१ प्रतिशत, अनुज अग्रवालको ३.०१ प्रतिशत, जयश्री गोल्छाको २.७४ प्रतिशत, जगदिश प्रसाद अग्रवालको २.५३ प्रतिशत, विरेन्द्र कुमार संघइको २ प्रतिशत, अक्षय गोल्यानको १.९४ प्रतिशत, गोविन्द लाल संघईको १.९२ प्रतिशत, तुलसीराम अग्रवालको १.७८ प्रतिशत, संचिता अग्रवालको १.७८ प्रतिशत, निकुञ्ज अग्रवालको १.७८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
लक्ष्मी सनराइज बैंकः लक्ष्मी सनराइजमा १२ जनाको सेयर स्वामित्व १ प्रतिशतभन्दा बढी छ । सारिका खेतानको ४.१७ प्रतिशत, स्नेहा खेतानको ३.९१ प्रतिशत, मोतीलाल दुगडको २.७७ प्रतिशत, मालचन्द दुगडको २.४ प्रतिशत, रतनलाल संघईको २.३९ प्रतिशत, गोपिकृष्ण सिकरियाको २.३५ प्रतिशत, राजेन्द्र कुमार खेतानको २.३५ प्रतिशत, कैलाश चन्द्र गोयलको १.८९ प्रतिशत, श्रवण कुमार गोयलको १.६१ प्रतिशत, बच्छराज तातेडको १.५१ प्रतिशत, सुरेनद्रा दुगडको १.४१ प्रतिशत, विवेक दुगडको १.३३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
सिटिजन्स बैंकः सिटिजन्समा ९ जनाको सेयर स्वामित्व १ प्रतिशतभन्दा बढी छ । उर्मिला पाण्डेको ३.३ प्रतिशत, तारा बिष्टको १.६५ प्रतिशत, विजेन्द्र जोशीको १.५९ प्रतिशत, मनोहर दाल मोलको १.३७ प्रतिशत, दिग्विजय बिष्ट १.३ प्रतिशत, पवित्र कुमार कार्कीको १.२८ प्रतिशत, रविन्द्रमान सिंह प्रधानको १.२८ प्रतिशत, सबिता शर्माको १.१८ प्रतिशत, रमेश शर्माको १.०१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
सिद्धार्थ बैंकः सिद्धार्थमा १४ जनाको स्वामित्व १ प्रतिशतभन्दा बढी छ । बैंकमा नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत, रतनलाल केडियाको २.४८ प्रतिशत, सबिता केडियाको १.९२ प्रतिशत, चिरन्जिवीलाल अग्रवालको १.८१ प्रतिशत, पवन कुमार अग्रवालको १.७६ प्रतिशत, सुबोध तोदीको १.५५ प्रतिशत, अशोक कुमार बहेतीको १.४९ प्रतिशत, नरपति सिंह जैनको १.४५ प्रतिशत, दिनानाथ केडियाको १.४१ प्रतिशत, आदित्य केडिया १.३९ प्रतिशत, तुहसार तोदीको १.२८ प्रतिशत, सुरेश कुमार रुंगटाको १.२१ प्रतिशत, मदनलाल केडियाको १.०८ प्रतिशत र विरेन्द्र कुमार शाहको ०.९९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
ग्लोबल आइएमई बैंकः ग्लोबल आइएमईमा २ जनाको मात्रै १ प्रतिशतभन्दा बढी स्वामित्व छ । बैंकमा बिष्णु प्रसाद न्यौपानेको १.४१ प्रतिशत, सुमित कुमार अग्रवालको १.४ प्रतिशत सेयर स्वामित्व छ ।
प्रभु बैंकः प्रभुमा व्यक्तिगत सेयरधनीतर्फ १ प्रतिशतभन्दा बढी स्वामित्व एक जनासँग मात्रै छ । बैंकमा गौरव अग्रवालको २.७१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
प्राइम बैंंकः प्राइममा ३ जनाको स्वामित्व १ प्रतिशतभन्दा बढी छ । बैंंकमा उमेश श्रेष्ठको २.४६ प्रतिशत, बिनोद चन्द्र बरालको १.०६ प्रतिशत, कृष्ण पुरीको १.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कुमारी बैंकः कुमारीमा ३ जनाको सेयर स्वामित्व १ प्रतिशतभन्दा बढी छ । बैंकमा अमिर प्रताप जबराको २.०२ प्रतिशत, जानकी कुमारी जबरा साहको १.३ प्रतिशत, सबिता गुरुङको १.२४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
एनएमबि बैंकः एनएमबिमा पनि ३ जनाको सेयर स्वामित्व १ प्रतिशतभन्दा बढी छ । बैंकमा नन्द किशोर राठीको १.६८ प्रतिशत, धनन्जय प्रसाद आचार्यको १.५३ प्रतिशत, सुनिल कुमार घोसालीको १.०४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
हिमालयन बैंंकः हिमालयनमा पनि व्यक्तिगततर्फ ३ जनाको मात्रै सेयर १ प्रतिशतभन्दा बढी छ । बैंकमा प्रदिपजंग पाण्डेको १.५५ प्रतिशत, सशिकान्त अग्रवालको १.५१ प्रतिशत, इच्छाराज तामाङको १.३६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कृषि विकास बैंकः कृषि विकासमा कृष्ण गोपाल श्रेष्ठको १.९३ प्रतिशत र लक्ष्मी श्रेष्ठको ०.९९ प्रतिशत स्वामित्व रहेको छ ।