१०६ मेगावाटको जगदुल्लामा लगानी जुट्यो, नविल बैंकको नेतृत्वमा झण्डै १६ अर्ब लगानी



काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) हुने भएको छ।

नविल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर हुन लागेको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेछ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् ।

एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् ।  यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो ।

बुधबार ४ बजे एभरेष्ट होटल कन्सोर्टियम फर्मका सदस्य र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडबीच सम्झौता गर्ने तय भएको छ । ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा सम्झौता गर्न लागिएको हो ।

कम्पनीका सीईओ सञ्जय सापकोटा

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाले एउटा माइलस्टोन पूरा भएको बताए । उनकाअनुसार फाइनान्सियल क्लोजर भएसँगै आयोजना निर्माणको बाँकी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । फाइनान्सियल क्लोजरका लागि पछिल्लो १ वर्ष कम्पनीका सीईओ सापकोटासहितको टोली लागि परेको थियो ।

प्रस्तावित जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र विस्तृत अध्ययन भइसकेको छ । नेपाल विद्युत् प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनीले अध्ययन गरेको हो ।

आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला भएर बग्ने जगदुल्ला नदीमा निर्माण प्रस्ताव गरिएको छ । हेडवर्क्स जगदुल्ला-२ हुरिकोटमा निर्माण हुनेछ । ६.२ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ । आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको हुनेछ ।

कम्पनी र प्राधिकरणबीच भएको पीपीए

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो बैशाख २८ गते पीपीए भएको हो । वर्खायाममा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँमा पीपीए भएको छ । हिउँदको पिकिङको भने १०.५५ रुपैयाँ पाउनेछ । यो आयोजनाले ४ देखि ६ घण्टासम्म पिकिङ क्षमता छ ।

आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माणको काम भईरहेको छ । ९ वटा बेलिवृज गर्नुपर्छ । जसको काम सुरु भईसकेको कम्पनीले जनाएको छ । धेरै जसो पूर्व तयारीका कामहरु अन्तिम चरणमा रहेको बताइएको छ ।

 कम्पनीले बिडिङ डकुमेन्ट समेत तयार पारिरहेको छ । फाइनान्सियल क्लोजर हुने बित्तिकै ठेक्का निकाल्ने तयारी भएको छ । इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का निकाल्न लागिएको हो । यस्तो मोडलमा ठेक्का निकाल्दा निर्माण कम्पनी बढी जिम्मेवार हुन्छ ।

यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य  छ । आगामी वर्षबाट निर्माण थाल्ने तयारी छ ।

जाजरकोटमा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।

कम्पनीको टिम जगदुल्ला ‘ए’ आयोजनाका लागि समेत लगानी खोज्न थालेको छ । एचआईडीसीएलका सीईओ अर्जुन कुमार गौतमको संयोजकत्वमा कमिटी बनाएर स्वदेश तथा विदेशका लगानीका सम्भावनाहरुबारे अध्ययन गरिरहेको छ ।


दिनेश खड्का