१०० मेगावाटको तामाकोसी-५ निर्माण सुरु हुँदै, शुक्रबार १३ अर्बमा चिनियाँ कम्पनीसँग सम्झौता हुने



तामाकोसी-५ जलविद्युत् आयोजनाको साइट कार्यालय निर्माणस्थल

काठमाडौं । तामाकोसी-५ जलविद्युत् आयोजना निर्माण अघि बढाउन चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडसँग ठेक्का सम्झौता हुने भएको छ ।

तामाकोसी जलविद्युत कम्पनी लिमिटेड र सिनो हाइड्रोबीच सम्झौता हुन लागेको हो । आयोजनाको सिभिल संरचना निर्माणका लागि निकालिएको ठेक्कामा सिनो हाइड्रो छनोट भएको हो । कम्पनीले १२ अर्ब ९९ करोड रुपैयाँ कबोल गरेर ठेक्का पाएको हो । सिनो हाइड्रो र कुमार श्रेष्ठ जेभीले ठेक्का पाएको हो ।

आयोजनाले निकालेको ठेक्कामा आवेदन दिएकामध्ये सिनो हाइड्रो र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सीईडब्लुई) प्राविधिक प्रस्तावमा पास भएका थिए । प्राविधिक प्रस्तावमा पास भएका कम्पनीसंग वित्तिय प्रस्ताव मागिएको थियो । सिनो हाइड्रोले सबैभन्दा कम कबोल गरेपछि ठेक्का पाएको तामाकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद भण्डारेल बताए । उनका अनुसार सिनो हाइड्रोले अनुमानभन्दा ६ प्रतिशत कम मूल्यमा र सीईडब्लुईले १५ प्रतिशत बढीमा ठेक्का कबुल गरेका थिए ।

तामाकोसी नदी

सिनो हाइड्रो त्यहि कम्पनी हो जसले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सिभिल संरचना निर्माणको काम समयमा पूरा गरेको थियो । इटालियन कम्पनी सिएमसी दि रिभेन्नाले छाडेपछि मेलम्ची खानेपानी आयोजनाको बाँकी काम निर्माणको जिम्मा पाएको थियो । १४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको पावर हाउस (विद्युत् गृह) निर्माणको ठेक्का पाएको छ ।

यस अघि पनि कम्पनीले आयोजना निर्माणका लागि ठेक्का निकालेको थियो । तर अनुमानभन्दा बढी रकमको मात्रै प्रस्ताव परेपछि ठेक्का रद्ध भएको हो । पहिलो पटक निकालिएको ठेक्कामा सिनो हाइड्रो र गेजुवा प्राविधिक प्रस्तावमा पास भएका थिए ।

तामाकोसी-५ जलविद्युत् आयोजनाको साइट कार्यालय

यो आयोजनाको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेड हो । क्यासकेड आयोजना भएका कारण हेडवर्क्स बनाइरहनु पर्दैन । माथिल्लो तामाकोसीको टेलरेस टनेलबाट निस्कने पानीलाइन सिधै डाइभर्सन बनाएर तामाकोसी-५ को सुरुङमार्गमा ल्याइनेछ । हेडवर्क्स बनाउनु नपर्ने भएकाले यो आयोजना वित्तिय रुपमा आकर्षक मानिन्छ ।

माथिल्लो तामाकोसी पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको जलविद्युत् आयोजना हो । माथिल्लो तामाकोसी जस्तै तामाकोसी-५ पनि अर्ध-जलाशय प्रकृतिको जलविद्युत् आयोझना हो ।

इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा ठेक्का सम्झौता गर्न लागिएको छ । यस्तो मोडलमा निर्माण कम्पनी बढी जिम्मेवार हुन्छ । डिजाइन, खरिद, निर्माणदेखि सञ्चालनसम्मको काम कम्पनीले नै गर्नुपर्छ । पहिलो प्याकेजमा सिभिल संरचना निर्माणको ठेक्का सम्झौता  गर्न लागिएको हो । दोस्रो चरणमा इलेक्ट्रोमेकानिकल अर्थात आयोजनाबाट उत्पादित बिजुली सबस्टेसनसम्म पूर्‍याउन प्रसारणलाइन निर्माणका लागि ठेक्का निकालिनेछ  ।

माथिल्लो तामाकोसीको साइट कार्यालय

कम्पनीका सीईओ भण्डारीले आयोजना निर्माणको काम सम्झौतापछि सुरु हुनेछ बताए । उनका अनुसार पूर्व तयारीको काम अन्तिम चरणमा पुगेको छ । साइट क्याम्प समेत तयार हुने अवस्थामा पुगेको छ । बर्खा सकिएपछि मुख्य संरचना निर्माणको काम धमाधम हुने दाबी गरिएको छ ।

यो जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए)  भइसकेको छ । भने फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) समेत भएको छ । गएको जेठ ७ गते नेपाल विद्युत प्राधिकरण, तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड र कर्मचारी सञ्चयकोषबीच सम्झौता भएको हो । आयोजना निर्माणका लागि २१ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कर्मचारी सञ्चयकोष एक्लैलै १३ अर्ब ७४ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

यो आयोजना निर्माण थालेको ४ वर्षमा सक्ने लक्ष्य छ । आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) रिपोर्ट समेत तयार  छ। आयोजनाका लागि ८ किमी सुरुङमार्ग निर्माण गर्नुपर्छ । माथिल्लो तामाकोसीको जस्तै विद्युत गृह (पावर हाउस) भुमिगत हुनेछ ।


दिनेश खड्का