सहकारी पीडितले भेटे गृहमन्त्री: ठग, उनीहरुका आफन्तका नाममा रहेको सम्पत्ति बेचेर पैसा फिर्ता हुन्छः लामिछाने



काठमाडौं । सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटवार्ता गरेका छन् ।

सहकारी सम्बन्धी समस्या द्रुत प्रकृयाबाट समाधान गर्न गृहमन्त्री लामिछानेले पहल गरेको भन्दै उपप्रधान एवम् गृहमन्त्रीलाई धन्यवाद दिएको जनाएका छन् ।

गृहमन्त्री लामिछानेले सहकारीको समस्या जतिसक्दो छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेश गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठकले सहकारीको समस्या द्रुत प्रकृयाबाट समाधान गर्ने निर्णय गरेको थियो ।

आफ्ना समस्या सम्बोधनका लागि पहल गरिदिएको भन्दै पीडित आज गृह मन्त्रालयमै पुगेका हुन् । उनीहरुले सरकारको निर्णय छिटो कार्यान्वयन हुनेमा आशाबादी रहेको बताए ।

उनीहरुसँगको भेटमा गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफुले त्यसलाई टुलुटुलु हेरेर बस्न नसकेको बताए ।

अब सरकारले सहकारी ठगहरुको नाममा रहेको सम्पत्ती र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ती बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्ने बताए ।

तर, कानून भूतप्रभावि नहुने भएका कारण नयाँ बन्ने कानुनले यसअघिका ठगीका घट्ना हेर्न नसक्ने कानुनका जानकारहरु बताउँछन् । कानून भूत प्रभावित नहुने भएका कारण अब बन्ने कानूनले यस अघि सहकारी ठगीमा संलग्न तथाहरुलाई लाभ मिल्ने उनीहरुको भनाइ छ ।


क्लिकमान्डु