भियना महासन्धिको ठाडो उल्लंघन: खतरनाक कूटनीतिक भविष्यको संकेत



विगत दुई सातामा एसिया र दक्षिण अमेरिकाका दुई देशमा कूटनीतिक मर्यादाको घोर उल्लंघन भएको छ ।

सिरियाको दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले अप्रिल १ मा गरेको क्षेप्यास्त्र आक्रमणका कारण इरानी सेनाका उच्च कमान्डरहरूको मृत्यु भयो । त्यसले जन्माएको विवाद सेलाउन नपाउँदै अप्रिल ५ मा इक्वेडरको राजधानी क्विटोमा रहेको मेक्सिकोको दूतावासमा इक्वेडरका हतियारधारी अर्धसैनिक बलहरू जबर्जस्ती पसेर त्यहाँ शरण लिइरहेका पूर्व उपराष्ट्रपति होर्गे ग्लासलाई पक्राउ गरेका छन् ।

यी दुवै काम अन्तर्राष्ट्रिय मूल्यमान्यताको सर्वथा विपरीत छन् र यिनले भियना महासन्धिको ठाडो उल्लंघन गरेका छन् ।

भियना महासन्धिको धारा २२ को उपधारा १ मा उल्लेख भएअनुसार, विदेशी दूतावासको परिसर अनुल्लंघनीय हुनेछ र आतिथेय मुलुकका सरकारी अधिकारीहरू राजदूतको स्वीकृति विना प्रवेश गर्न पाउने छैनन् । यस धाराले आतिथेय मुलुकको भूमिमा रहेको दूतावासलाई विशेष सुविधा प्राप्त हुने मर्म बोकेको छ ।

हुन त इरानी दूतावास सिरियामा थियो तर दूतावासले चर्चेको भूमि कूटनीतिक मूल्यमान्यता अनुसार इरानकै हो । त्यसमा इजरायलले गरेको प्रहार इरानी भूमि र परिणामतः इरानी सार्वभौमसत्तामाथिको आक्रमण नै हो । अझ सिरियाली भूमिमा गरिएको आक्रमणले सिरियाको सार्वभौमसत्ताको उल्लंघन समेत गरेको छ ।

इजरायलले प्यालेस्टाइनीहरूमाथि गरेको नरसंहारका कारण आलोचना बेहोरिरहेका इजरायली प्रधानमन्त्रीले दबाब हटाउनका लागि इरानमाथि आक्रमण गरेका हुन् । उक्त आक्रमणका कारण मानिसको ज्यान गुम्न पुगेको र इरानले प्रतिक्रियात्मक कारवाही गर्नुपरेको स्थिति छ । यसले पश्चिम एसिया क्षेत्रलाई युद्धको संघारमा ल्याइपुर्‍याएको छ ।

उता इक्वेडरमा त्यहाँका सुरक्षाकर्मीहरूले मेक्सिकोको दूतावासमा राजदूतको स्वीकृति विना नै हातहतियार सहित प्रवेश गरेर त्यहाँ शरण लिइरहेका व्यक्तिलाई पक्राउ गर्दा भियना महासन्धिको धज्जी उडेको छ । उक्त प्रकरणपछि मेक्सिकोले इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । त्यससँगै अन्तर्राष्ट्रिय न्याय अदालतमा मेक्सिकोले इक्वेडरको आलोचना गर्दै इक्वेडरलाई संयुक्त राष्ट्रसंघबाट निष्काशन गर्न समेत अनुरोध गरेको छ ।

शरणार्थी पूर्व उपराष्ट्रपति ग्लास सन् २०१३ देखि २०१७ सम्म इक्वेडरका उपराष्ट्रपति थिए र सन् २०१७ मा उनी भ्रष्टाचारको मुद्दामा कसूरदार ठहरिएपछि उनको पद गुमेको थियो । आफूमाथि राजनीतिक प्रतिशोध साँधेर कारवाही गरिएको भन्दै ग्लास मेक्सिको दूतावासमा शरण लिन पुगेका थिए ।

त्यसो त ग्लास कसूरदार भएकाले उनलाई अर्को मुलुकले राजनीतिक शरण दिन नमिल्ने र उनलाई दूतावासमै गएर भए पनि कारवाही गर्नुपरेको तर्क इक्वेडरले गरेको छ । सन् १९५४ को कूटनीतिक शरण सम्बन्धी महासन्धिले राजनीतिक प्रकृतिको कसूर बाहेकको कसूरदार ठहरिएको व्यक्तिलाई राजनीतिक शरण दिन नमिल्ने व्यवस्था गरेको छ । तर इक्वेडरले कानूनी बाटो अपनाएर ग्लासलाई राजनीतिक शरणका लागि अयोग्य ठहरिने तर्क गर्नुको साटो अर्धसैनिक बल नै पठाएर मेक्सिकोको दूतावासमा धावा बोल्नु भियना महासन्धिले व्यवस्था गरेको विदेशी दूतावासले पाउने कूटनीतिक उन्मुक्ति तथा अपरदेशीय सार्वभौमिकता (एक्स्ट्राटेरिटोरियालिटी) को उल्लंघन हो ।

भियना महासन्धिको यस्तो उल्लंघन हुँदा पनि नियममा आधारित विश्व व्यवस्थाका हिमायती हौं भन्ने पश्चिमी मुलुकका नेताहरूले खासै आवाज उठाएनन् । इजरायलको हकमा त पश्चिमले पूर्णतः मौनता साँध्यो भने इक्वेडरको हकमा अमेरिकाले घटना भएको निकै पछि मात्र आधिकारिक निन्दा गर्‍यो । बरू इक्वेडरको नेशनल कोर्ट अफ जस्टिसले मेक्सिको दूतावासबाट ग्लासलाई पक्राउ गर्नु अवैध र स्वेच्छाचारी भएको फैसला गर्दै ग्लास धेरैवटा कसूरको कसूरदार भएकाले उनले कैद सजाय चाहिँ भुक्तान गर्नुपर्ने बतायो ।

कूटनीतिक सम्बन्धको गम्भीरतालाई अन्तर्राष्ट्रिय जगतले सम्मान गर्दै आएको भए पनि इजरायल र इक्वेडरले त्यसलाई बेवास्ता गरेका छन् । खासमा पश्चिमाहरूको समर्थन प्राप्त गरेका कारण इजरायलका प्रधानमन्त्री नेतान्याहु र इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले पूर्णतः दण्डहीनताका साथ गैरकूटनीतिक गतिविधि गर्ने हिम्मत गरेका हुन् ।

पश्चिमको आड पाएकै कारण दक्षिणपन्थी सरकारप्रमुखहरू नेतान्याहु र नोबोआले कूटनीतिक मर्यादाको उल्लंघनका लागि माफी मागेका छैनन् । नत्र यसअघि विदेशी दूतावासमा गरिएका क्षेप्यास्त्र आक्रमण वा अनधिकृत प्रवेशका लागि माफी मागिएको दृष्टान्तहरू पाइन्छन् ।

सन् १९९९ मा अमेरिका नेतृत्वको पश्चिमी सैन्य गठबन्धन नेटोले सर्बियाको राजधानी बेलग्रेडमा बम बर्साउँदा त्यहाँ रहेको चिनियाँ दूतावासमा समेत आक्रमण हुन पुगेको थियो । त्यतिखेर अमेरिकाले प्रहार गरेका पाँचवटा बमका कारण दूतावासमा रहेका तीनजना सरकारी सञ्चारमाध्यमका पत्रकारहरूको मृत्यु भएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले उक्त घटना जानाजान नभई भूलवश भएको भन्दै चिनियाँहरूसँग माफी मागेका थिए । 

आतिथेय मुलुकका सुरक्षाकर्मीहरू जबर्जस्ती विदेशी दूतावासमा प्रवेश गरेका उदाहरण लिनुपर्दा सन् १९८५ मा दक्षिण अफ्रिकाको सरकारले नेदरल्यान्ड्सको दूतावासमा सुरक्षाकर्मी पठाएर त्यहाँ शरण लिइरहेका डच नागरिक क्लास डि जोङलाई पक्राउ गरेको थियो । डि जोङले विद्रोही दल अफ्रिकन नेशनल कंग्रेसलाई रंगभेदका विरुद्ध लड्नका लागि हातहतियार सहयोग गरेको भन्दै दक्षिण अफ्रिकी प्रहरीले पक्राउ गरेको थियो । पछि दक्षिण अफ्रिकाका तत्कालीन परराष्ट्रमन्त्री रोलोफ बोथाले दूतावास परिसरको अभेद्यताको उल्लंघन गरेको भन्दै नेदरल्यान्ड्ससँग माफी मागेका थिए ।

तर अहिले इजरायल र इक्वेडरले भियना महासन्धिको उल्लंघन गर्दा पनि कुनै दण्ड नपाएको स्थितिका कारण भविष्यमा कुनै पनि देशमा रहेका दूतावासहरूको मर्यादा कायम नराखिन सक्ने सम्भावना बढेको छ । अन्य मुलुकहरू पनि आफूलाई मन नपरेको देशको दूतावासमाथि आक्रमण गर्न उत्प्रेरित हुन सक्छन् वा आफ्ना विरोधीहरू अर्को मुलुकको दूतावासमा शरण लिन पुगेमा तिनीमाथि कारवाही गर्न उद्यत हुनेछन् ।

त्यस्तो स्थितिमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक गरिमालाई निरन्तरता दिन कठिनाइ हुनेछ । अनि दमनकारी राज्यबाट पलायन हुनका लागि राजनीतिक शरण लिन खोज्ने व्यक्तिहरू पनि जोखिमको स्थितिमा रहनेछन् ।

अहिले विश्व व्यवस्था जटिल स्थितिमा आइपुगेको छ र भूराजनीतिक द्वन्द्वहरूको संख्या लगातार बढिरहेका छन् । यस्तो परिस्थितिमा सुझबुझपूर्ण र स्थिर कूटनीतिक व्यवस्थापन अपरिहार्य हुन्छ । विदेशी दूतावासको मर्यादा हनन हुने क्रियाकलापले पक्कै पनि कूटनीतिक व्यवस्थापनमा गम्भीर नकारात्मक असर पार्नेछ । त्यसले वर्तमान विश्वलाई जंगलराजमा परिणत गर्नेछ ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।