२२ अर्ब ऋणमा बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई आन्तरिकमै सीमित राख्ने चलखेल



काठमाडौं । सरकारले भौतिक पूर्वाधारमा मात्रै २२ अर्ब रुपैयाँ खर्चिएको पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नचलेपछि आन्तरिक मात्रै कायम गर्नुपर्ने दबाब बढ्न थालेको छ ।

चीन सरकारसँग ऋण लिएर निर्माण गरिएको विमानस्थललाई चलाउनुको सट्टा राष्ट्रिय स्तरमा सीमित गर्न खोजिएको छ । कमिसनका लागि ऋण लिएर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको आरोप लागिरहेको बेला स्वार्थ पूरा भएपछि केही हवाई माफियाहरुले विमानस्थलको नाममा चलखेल गर्न खोजेका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न सकेर औपचारिक रुपमै सञ्चालमा आएको करिब डेढ वर्ष भएको छ । यो अवधिसम्ममा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने विदेशी वायुसेवाले समेत चासो देखाएका छैनन् ।

एक त यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न नेपाली वायुसेवाले जहाजको क्षमता छैन भने भएकाले पनि उडानको इच्छा देखाएका छैनन् । विदेशी वायुसेवाले उडानका लागि कुनै रुची नै नदेखाएपछि अब अन्तरिक नै घोषणा गरेर जानुपर्ने हवाई उड्डयनका जानकाहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय विमानसेवा कम्पनीहरुलाई आकर्षित गर्नुको सट्टा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसहितका विज्ञले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय स्तरको विमानस्थल बनाउन चलखेल थालेका हुन् । उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा आन्तरिक यात्रुको मात्र चाप देखाएर विमानस्थललाई घरेलु उडान गर्ने एयरपोर्ट बनाउन खोजिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो एक वर्ष (सन् २०२३)मा ८ लाख ८८ हजार आन्तरिक यात्रु उडेका छन् । यो उडान आन्तरिक उडानको मात्रै हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनु अगाडिको आन्तरिक विमानस्थलबाट पनि अघिल्लो वर्ष सन् २०२२ पनि ८ लाख ४८ हजार यात्रुले उडान तथा अवतरण गरेका थिए ।

यो विमानस्थलको क्षमता जम्मा १४ लाख भएको अब यसलाई आन्तरिक नै घोषणा गरेर अन्तर्राष्ट्रिय नभन्नु उचित हुने तर्क नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको छ ।

उनले पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न आन्तरिक विमानस्थल बनाउँदा केही नबिग्रने बताए ।

‘१४ लाख क्षमताको विमानस्थलमा ६३ प्रतिशत क्षमताको उपयोग भइरहेको छ । पोखरामा भएको अन्तर्राष्ट्रिय स्तरकै पूर्वाधारबाट आन्तरिक विमानस्थल चल्छ, अब यसलाई आन्तरिक बनाउँदा के बिग्रन्छ ?’ उनले भने ।

कमिसनका लागि ऋण लिएर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको आरोप लागिरहेको बेला स्वार्थ पूरा भएपछि केही हवाई माफियाहरुले विमानस्थलको नाममा चलखेल थालेका छन्

पोखरा जत्तिकै सुविधासम्पन्न र विमानस्थलबाट आन्तरिक उडान हुनुले सकारात्मक सन्देश जाने उनको भनाइ छ ।

सरकारले पोखरा, भैरहवा र काठमाडौं विमानस्थललाई निजी सार्वजनिक साझेदारी (पीपीपी)मोडलमा सञ्चालन गर्ने विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । उक्त समितिले हवाई क्षेत्रका जानकारहरुबाट आवश्यक सुझाव लिन आयोजना गरेको अन्तरक्रियामा अध्ययन समितिका सदस्य तथा लगानीविज्ञ घनश्याम ओझाले पोखरालाई आन्तरिक विमानस्थलकै रुपमा सञ्चालन गर्नु उपयुक्त हुने तर्क गरे । उनले क्षमताको ६३ प्रतिशतभन्दा माथि उपभोग पुगिसकेको हुनाले पनि यसलाई आन्तरिक नै बनाएर जाँदा उपयुक्त हुने तर्क राखे ।

नेपालको दीर्घकालीन महत्त्व र आवश्यकता भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भएकोले यसलाई जसरी पनि बनाउनुपर्ने तर्क नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरले गरे । उनले पीपीपी मोडलमा विमानस्थल सञ्चालनको आवश्यकता र विदेशी मुलुकको अभ्याससमेतलाई दृष्टिगत गरेर पेश गरेको एक प्रस्तुतीकरणमा राज्यले निजगढ बनाउनैपर्ने आवश्यकता औंल्याए ।

नेपालमा हाल काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय, कास्कीमा पोखरा अन्तर्राष्ट्रिय र रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छन् । अन्तर्राष्ट्रिय विमानस्थल भए पनि काठमाडौंको मात्र त्यस रुपमा सञ्चालनमा छ ।

पोखरा र भैरहवा सुरुमै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भनेर निर्माणसम्पन्न भएका विमानस्थल हुन् । विदेशी मुलुकमा पुग्ने भएकोले अन्तर्राष्ट्रिय नै भन्नुपर्ने दातृ निकायको सुझावपछि क्षेत्रीय हटाएको प्राधिकरणका अधिकारीको भनाइ छ ।

पीपीपी मोडलमा विमानस्थल बनाउनुपर्ने विषयमा भएको छलफलमा पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई छुटाएर पीपीपी मोडलको अध्ययन प्रतिवेदन आउनु अपुरो हुने हवाई क्षेत्रका जानकारहरुको भनाइ छ ।


क्लिकमान्डु