सम्पत्ति जोगाउन सम्बन्ध बिच्छेदको विकृति रोक्न बाफियामा प्रस्ताव



काठमाडौं । सम्पत्ति जोगाउन श्रीमान श्रीमतीबीच बढिरहेको सम्बन्ध बिच्छेद नियन्त्रण गर्न खोजिएको छ ।

प्रतिनिधि सभाबाट उत्पत्ति भएर संघीय संसद सचिवालयमा दर्ता भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्ध बिच्छेदको विकृति रोक्न नयाँ व्यवस्थाको प्रस्ताव गरिएको छ ।

विधेयकमा गरेको नयाँ व्यवस्थाले श्रीमान-श्रीमतीबीच सम्बन्ध बिच्छेद भए पनि त्यसलाई परिवारको सदस्यको रुपमा ब्याख्या गरेको छ ।

विधेयकको प्रस्तावनाको १५ को १ मा सम्बद्ध व्यक्तिको परिभाषा गरेको छ । जसमा ‘सम्बद्ध व्यक्ति भन्नाले बैंक वा वित्तीय संस्थाको संस्थापक सञ्चालक, पदाधिकारी वा निजको परिवार, त्यस्तो संस्थापक, सञ्चालक, पदाधिकारी वा निजको परिवारको एकल वा संयुक्त रुपमा कम्तिमा १० प्रतिशत सेयर स्वामित्व भएको फर्म, कम्पनी वा संस्था सम्झनुपर्छ’ भनिएको छ।

मूल ऐनको दफा १८ को २ को च पनि खण्ड (च१) थपिएको छ । जसमा सम्बद्ध व्यक्ति वा निजको परिवार वा निज र निजको परिवार सम्बद्ध कम्पनी वा संस्थाले लिएको कुल व्यावसायिक ऋण निज सञ्चालक हुन चाहेको बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको एक प्रतिशत बढी भएको हुनुपर्ने भन्ने रहेको छ ।

विधेयकमा मूल ऐनको दफा ९९ को उपदफा ३ को २ को (ङ) मा संशोधन गरिएको छ । २ को (ङ)मा रहेको वित्तीय संस्था भन्ने शब्दहरुको सट्टा ‘वित्तीय संस्थाको संस्थापक, सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख पदाधिकारी, कर्मचारी वा अन्य कुनै सम्बद्ध व्यक्तिले’ भन्ने शदहरु राखिएको छ ।

यस्तै ऐनमा दफा ४९ मा को (कञ) मा रहेको ‘वित्तीय स्वार्थ’ भन्नेमा यसअघि ‘सम्बद्ध पक्ष’ भन्ने उल्लेख रहेको थिएन । अहिले ‘सम्बद्ध पक्ष’ भन्ने शब्द राखिएको छ । ‘वित्तीय स्वार्थ’ लाई थप स्पष्टरुपमा परिभाषित गर्न आवश्यक भएकाले यो शब्द राखिएको विधेयकमा उल्लेख छ ।

विधेयकमा परिभाषित गर्दै सम्बद्ध व्यक्ति भन्नाले ‘बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, पदाधिकारी वा निजको परिवार, त्यस्तो संस्थापक, सञ्चालक, पदाधिकारी वा निजको परिवारको एकल वा संयुक्तरुपमा कम्तीमा १० प्रतिशत सेयर स्वामित्व भएको फर्म, कम्पनी वा संस्था’ भनेर ब्याख्या गरेको छ । ‘सम्बद्ध व्यक्ति’लाई विस्तृतरुपमा परिभाषित गर्न आवश्यक भएकाले यो व्यवस्था गरेको उल्लेख छ ।

विधेयकमा ‘‘परिवार’’ ‘भन्नाले सञ्चालकको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफुले पालपोषण गर्नुपर्ने दाजु भाउजु, भाइ, बुहारी र दिदी बहिनी सम्झनुपर्छ । तर, यो शब्दले अंशवण्डा गरी मानो छुट्टिई आ–आफ्नो पेशा व्यवसाय गरी बसेको परिवारको सदस्यलाई जनाउने छैन’ भन्ने हालको व्यवस्था छ ।

अहिले बाफियामा संशोधन गरेर परिवार भन्नाले ‘सञ्चालकको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफुले पालपोषण गर्नुपर्ने दाजु भाउजु, भाइ, बुहारी र दिदी बहिनी सम्झनुपर्छ ‘‘र सो शब्दले विवाहित महिलाको हकमा निजको सासु, ससुरा समेतलाई जनाउँछ’’ भनिएको छ । हालको परिभाषाले सञ्चालकको परिवारलाई मात्र समेटेकोले सोलाई स्पष्ट र फराकिलो पार्न आवश्यक भएकाले ‘‘र सो शब्दले विवाहित महिलाको हकमा निजको सासु, ससुरा समेतलाई जनाउँछ’’ भन्ने थपिएको उल्लेख छ ।

बाफियाको संशोधनमा भएको ‘र सो शब्दले विवाहित महिलाको हकमा निजको सासु, ससुरा समेतलाई जनाउँछ’ भन्ने व्यवस्थाले कुनै महिलाले सम्बन्ध बिच्छेद गरेपनि अर्को बिहे नगरेसम्मका लागि सम्बन्ध बिच्छेद गरेका श्रीमानका बुबा आमालाई सासु, ससुरा मान्न बाध्य बनाएको छ । कुनै व्यक्तिले सम्पत्ति जोगाउनका लागि श्रीमान श्रीमतीमा सम्बन्ध बिच्छेद गरेर मात्रै सम्पत्ति नजोगिने भएको छ । बाफियामा भएको यो व्यवस्थाले श्रीमान श्रीमतीमा सम्बन्ध बिच्छेद भएर अर्को पुरुषसँग बिहे गरे मात्रै फरक परिवारको हुने देखिएको छ ।

नेपालमा सम्पत्ति जोगाउन दम्पत्ति त्याग्ने र कारबाहीबाट बच्न नक्कली डिभोर्स गर्नेक्रम बढेको छ । त्यसलाई रोक्नका लागि बाफिया विधेयक संशोधन गर्न लागिएको हो ।

भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेर कारवाहीबाट बच्न सम्बन्ध बिच्छेदको सहारा लिने व्यक्ति हुन् ऊर्जा क्षेत्रका हस्ती गुरु न्यौपाने । रिडी पावर कम्पनीका तत्कालिन अध्यक्ष न्यौपानेले सम्पत्ति शुद्धीकरण गरेको कसुरमा दोषी ठहर भएका छन् । चैत ६ गते विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको हो। भित्री कारोबार गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा १ करोड १९ लाख रुपैयाँ बिगो मागदाबी गरेर कात्तिक २३ गते मुद्दा दायर गरेको थियो । यस्तै न्यौपानेले भित्री कारोबार गरेको भन्दै २०७९ चैत ८ गते धितोपत्र बोर्डले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

न्यौपाने हुन् जो जनता बैंकको अध्यक्ष भएको श्रीमती सावित्रीदेवीको नाममा ८५ हजार कित्ता सेयर किनेका थिए । जुन धितोपत्र नियमावली ३८ (१) को क अनुसार भित्री कारोबार (इन्साइटर ट्रेडिङ) थियो ।

अध्यक्षले पदमा रहँदा आफू वा आफन्तको नाममा सेयर किन्न पाईंदैन । त्यो गैरकानूनी ठहरिन्छ । न्यौपानेले कानूनविपरीत सेयर २ करोड १९ लाख रुपैयाँको सेयर किने । कानूनी कारबाही भोग्नुपर्ने, उक्त सम्पत्ति जोगाउनु पर्ने भएपछि उनले कागजी रुपमा श्रीमतीसँग सम्बन्ध टुटेको कागज बनाए । तर, अहिले पनि दुवैजना सँगै बस्दै आएका छन् ।

न्यौपानेले श्रीमतीको नाममा ५८ हजार कित्ता सेयर किनेको पाइएपछि राष्ट्र बैंकले दिएको निर्देशनपछि बैंकले सावित्रीदेवीको नाममा रहेको सेयर जफत गरी लिलामी प्रकृयाअघि बढाएको थियो ।

बैंकले उक्त सेयर लिलामी गर्ने अन्तिम मिति २०७४ कात्तिक २१ गते रहेको थियो । तर, न्यौपानेले श्रीमतीसँग डिभोर्स भएको कागज तयार पारेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले उक्त सेयर तत्कालै लिलामी नगर्न निर्देशन दिएको थियो । लगत्तै सेयरको लिलामी रोकियो । लिलामी रोकिनुको कारण थियो न्यौपाने दम्पतीको बिच्छेद ।

सम्पत्ति जोगाउन दाम्पत्य त्याग्नेमा सिभिल बैंक र सिभिल को-अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङ र उनकी श्रीमती सिर्जना शाक्यस पनि हुन् । तामाङ र शाक्यले करोडौंको सम्पत्ति जोगाउनकै लागि मिलेभगतमा सम्बन्ध बिच्छेद गरेका थिए ।

न्यौपाने र तामाङ चर्चित केही उदाहरण हुन्, जसले ‘आर्थिक अपराध’ गरेर कारवाहीबाट बच्न पतिपत्नीबीच सम्बन्ध विच्छेद गरे ।

यस्ता विषयलाई समाधान गर्न कानूनी आधारहरु बलियो बनाउनु पर्ने र कानूनी छिद्रतालाई टेकेर वित्तीय क्षेत्रमा हुने यस्ता गम्भिर कमजोरी रोक्नुपर्ने आवाज उठिरहेको समयमा बाफिया संशोधनको क्रममा यसलाई समावेश गरिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।


क्लिकमान्डु