नेपालबाट धागोको उच्च आयात गर्ने टर्कीसँग यस्तो छ वैदेशिक व्यापार



काठमाडौं । युरोपेली मुलुक टर्कीसँग नेपालले विगत लामो समयदेखि वैदेशिक व्यापार गर्दै आएको छ । नेपालले सन् १९२६ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो । तर, लामो समयअघि कुटनीतिक सम्बन्ध कायम भए पनि वैदेशिक व्यापार सम्बन्धी सम्झौता भने निकै पछि भएको देखिन्छ ।

नेपालले टर्कीसँग वैदेशिक व्यापारका लागि इस्तानबुल चेम्बर्स अफ कमर्ससँग सन् २०१४ मा सम्झौता गरेको थियो । त्यस्तै, नेपाल र टर्कीबीच हवाई सेवा प्रदान गर्न सन् २०१० मा सम्झौता भएको थियो ।

सम्झौता गरेको तीन वर्षपछि काठामाडौं र इस्तानबुलको सिधै उडान सुरु भएको थियो । उक्त उडान सुरु भएसँगै युरोपेली देशहरुमा आवतजावतमा निकै सहज भएको पाइन्छ । साथै, पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको देखिन्छ ।

टर्की युरोपेली मुलुक भएकाले नेपाललाई जीएसपी सुविधा दिँदै आएको छ । नेपाललाई सन् २००१ देखि युरोपेली युनियनका देशहरुले नेपालबाट वस्तु निर्यात गर्न ड्यूटी फ्रीकोको सुविधा दिँदै आएको छ ।

उक्त सुविधा सन् २०१४ मा पुनः परिमार्जन गरी नेपालबाट वस्तु तथा सेवा निर्यात गर्दा ड्यूटी फ्रीको सुविधा दिइरहेको छ । साथै, नेपालले सन् २०१६ मा व्यापार नीति पनि समीक्षा गरेको थियो ।

नेपाललाई टर्कीले निर्यातमा ड्यूटी फ्रीको सुविधा दिएपनि निर्यात भने बढाउन सकेको छैन । नेपालबाट विगत लामो समयदेखि टर्कीमा धागोको उच्च निर्यात हुँदै आएको छ ।

नेपालले धागोसँगै छाला, ऊनको कार्पेट, स्याक्स र ब्याग, टोपी र पस्मिना निर्यात गर्दै आएको छ । साथै, नेपालले टेक्टायल, चकलेट तथा कोका पाउडर, मेशिनरी, अटोमेटिक सरकिट ब्रेकर, इनर्जी ड्रिङ्क, क्याल्सियम फोस्फेट, सन्फ्लावर तेल र कोपर आयात गर्दै आएको छ ।

पछिल्लो १७ वर्षको तथ्याङ्कअनुसार नेपालले निर्यात सुविधाको उपयोग गरेर निकासी बढाउन सकेको देखिदैन । संकलित गरेको तथ्याङ्कमा टर्कीसँगको वैदेशिक व्यापार उतारचढाव देखिन्छ । तर, पछिल्ला ६ वर्षदेखि निरन्तर व्यापारघाटा व्यहोर्दै आएको छ ।

यस्तो छ टर्कीसँगको वैदेशिक व्यापार ?

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले टर्कीमा आर्थिक वर्ष २०६४/६५ देखि चालु आर्थिक वर्षको माघसम्ममा ३० अर्ब २४ करोड ८५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ । सोही अवधिमा नेपालले टर्कीबाट भने ४९ अर्ब ६६ करोड ३२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।

नेपालले आव २०६४/६५ मा २१ करोड १८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । उक्त वैदेशिक व्यापारबाट नेपालले ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, आव २०६५/६६ मा ५५ करोड ९५ लाख रुपैयाँको वैदेशिक व्यापार गरेकोमा नेपालले ३८ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

तर, आव २०६६/६७ र आव २०६७/६८ मा भने नेपालले उच्च व्यापारघाटा व्यहोरेको तथ्याङले देखाउँछ । नेपालले आव २०६६/६७ मा६८ करोड १५ लाख रुपैयाँको वैदेशिक व्यापार गरेकोमा नेपालले १२ करोड ७६ लाख रुपैयाँ र आव २०६७/६८ मा २ अर्ब ७१ करोड ५५ लाख रुपैयाँको वैदेशिक व्यापार गरेकोमा ९८ करोड ४१ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।

त्यसपछि भने नेपालले निरन्तर ३ वर्ष टर्कीसँगको वैदेशिक व्यापारबाट नाफा कमाएको तथ्याङ्कले उल्लेख छ । नेपालले आव २०६८/६९ मा ९६ करोड ९० लाख रुपैयाँको व्यापार गर्दा १२ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, नेपालले आव २०६९/७० मा ५८ करोड २८ लाख रुपैयाँ र आव २०७०/७१ मा ७७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

तर, आव २०७१/७२ मा ७ करोड ५१ लाख रुपैयाँ र आव २०७२/७३ मा १ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । आव २०७३/७४ र २०७४/७५ मा भने नेपालले टर्कीसँगको व्यापारबाट उच्च नाफा कमाएको थियो । जसमा नेपालले आव २०७३/७४ मा १ अर्ब ३ करोड ८८ लाख रुपैयाँ र आव २०७४/७५ मा १ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । तथ्याङ्क हेर्दाक विगतका वर्षहरुमा नाफा र व्यापारघाटामा उतारचढाव देखिएको छ ।

आव २०७५/७६ देखि भने नेपालले वार्षिक २ अर्ब रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्म व्यापारघाटा व्यहोर्दै आएको छ । नेपालले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा मात्रै २ अर्ब १३ करोड ३९ लाख रुपैयाँको व्यापारघाट व्यहोरेको छ ।


क्लिकमान्डु