![](https://clickmandu.com/wp-content/uploads/2022/08/nepal-oil-corporation.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा सरकारले नेपाल आयल निगमबाट ६० अर्ब ५९ करोड रुपैयाँ राजस्व असुल गरेको छ ।
सरकारले भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण खर्च, मुल्य अभिवृद्धि कर, पूर्वाधार विकास कर(बुढिगण्डकी) र आयकर शीर्षकमा उक्त राजस्व असुल गरेको हो । भारतबाट नेपालमा इन्धन आयात हुँदा भन्सारमै सरकारले यस्ता शीर्षकहरुमा राजस्व असुल गर्दैआएको छ ।
निगमको नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार चालु आर्थिक बर्षको ७ महिनाको अवधिमा सरकारले भन्सार शुल्क शीर्षकमा २० अर्ब ६० करोड, सडक मर्मत शुल्क शीर्षकमा ३ अर्ब ४ करोड, वातावरण खर्च शीर्षकमा १ अर्ब ६८ करोड, मूल्य अभिवृद्धि कर शीर्षकमा २४ अर्ब १० करोड र पूर्वाधार विकास कर शीर्षकमा ११ अर्ब १७ करोड रुपैयाँ राजस्व असुल गरेको छ।
निगमका अनुसार ७ महिनाको अवधीमा निगम ४ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष २०७९÷८० मा निगमले १२ अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो ।
सरकारले प्रति लिटर पेट्रोलबाट ६१ रुपैयाँ २३ पैसा, डिजेलबाट ४३ रुपैयाँ ७८ पैसा, मट्टितेलबाट ३० रुपैयाँ २८ पैसा, आन्तरिक हवाई इन्धनबाट १९ रुपैयाँ ६१ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनबाट १ रुपैयाँ ९२ पैसा र खाना पकाउने प्रति सिलिण्डरबाट २ सय ८० रुपैयाँ ३६ पैसा राजस्व उठाउँदै आएको छ ।
राजस्व शीर्षकको बनौटअनुसार प्रति लिटर पेट्रोलबाट सरकारी भन्सार तथा प्रज्ञापन शुल्क २५ रुपैयाँ २३ पैसा, सडक मर्मत सम्भार शुल्क ४ रुपैयाँ, प्रदुषण शुल्क १ रुपैयाँ ५० पैसा, पूर्वाधार कर १० रुपैयाँ, मूल्य अभिवृद्धि कर १८ रुपैयाँ ८७ पैसा, मूल्य स्थिरीकरण कोष शुल्क १ रुपैयाँ ६४ पैसा गरी कूल ६४ रुपैयाँ २३ पैसा राजस्व असुल हुन्छ ।
![](https://clickmandu.com/wp-content/uploads/2024/02/noc-tax.jpg)
यस्तै डिजेलतर्फ प्रति लिटरमा सरकारी भन्सार तथा प्रज्ञापन शुल्क १२ रुपैयाँ ३ पैसा, सडक मर्मत सम्भार शुल्क २ रुपैयाँ, प्रदुषण शुल्क १ रुपैयाँ ५० पैसा, पूर्वाधार कर १० रुपैयाँ, मुल्य अभिवृद्धि कर १६ रुपैयाँ ८० पैसा र मूल्य स्थिरीकरण कोष शुल्क १ रुपैयाँ ४६ पैसा गरी ४३ रुपैयाँ ७८ पैसा राजस्व सरकारले उठाउदै आएको छ ।
त्यस्तै खाना पकाउने ग्यासतर्फ प्रति सिलिण्डरबाट सरकारी भन्सार तथा प्रज्ञापन शुल्क ६२ रुपैयाँ ५ पैसा, मूल्य अभिवृद्धि कर २ सय रुपैयाँ र मूल्य स्थिरीकरण कोष शुल्क १७ रुपैयाँ ९० पैसा गरी २ सय ८० रुपैयाँ सरकारले असुल गर्छ ।
भन्सार विभागको तथ्याँकअनुसार चालु आर्थिक बर्षको ७ महिनाको अवधीमा पेट्रोल ३८ अर्ब ८२ करोड ६३ लाख १६ हजार रुपैयाँबराबरको ३ लाख ९१ हजार ४ सय ४७ किलोलिटर आयात भएको थियो । सोही अवधीमा ७७ अर्ब ४१ करोड ९८ लाख १९ हजार रुपैयाँबराबरको ७ लाख २९ हजार ७ सय ५२ किलोलिटर डिजेल आयात भएको थियो ।
६५ करोड ९८ लाख ५० हजार रुपैयाँबराबरको ६ हजार १ सय १२ किलोलिटर मट्टिटेल, ११ अर्ब ९८ करोड ४० लाख २० हजार रुपैयाँबराबरको १ लाख १० हजार १ सय किलोलिटर हवाई इन्धन आयात भएको छ । यस्तै ३० अर्ब ३१ करोड २३ लाख ४१ हजार रुपैयाँबराबरको २९ करोड ८९ लाख ७५ हजार ८६ किलोग्राम खाना पकाउने ग्यास पनि भारतबाट आयात भएको थियो ।
प्रतिक्रिया