६ महिनामा ८ अर्ब कमाउँदासमेत निगमलाई किस्ता तिर्न सकस, जहाज लिलामी गर्ने ऋणदाताको चेतावनी



काठमाडौं । नेपाल वायुसेवा निगमले पछिल्लो ६ महिनामा ३ लाख २१ हजार ८६८ यात्रु बोकेर ८ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कमाएको छ । निगमले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्ममा गरेको यस्तो आम्दानी गत वर्षको सोही अवधिको भन्दा बढी हो ।

निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष २०७९/८० को पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निगमले १४ हजारभन्दा बढी यात्रु बोकेको छ । निगमले गत वर्षको सो अवधिमा ३ लाख ७ हजार यात्रुलाई सेवा दिएको थियो भने चालू आवको ६ महिनामा ३ लाख २१ हजार यात्रु उडाएको छ ।

निगमले चालु आवको पहिलो ६ महिनामा कमाएको ८ अर्ब रुपैयाँमध्ये ७ अर्ब ९७ करोड २० लाख रुपैयाँ अन्तर्राष्ट्रिय उडानका वायुसेवाले बोकेका २ लाख ९१ हजार ७२१ यात्रुलाई सेवा दिएवापत कमाएको हो । निगमले गरेको यस्तो आम्दानीमा आन्तरिक उडानको सेवा र आम्दानी भने न्यून छ ।

निगमले चालु आवको ६ महिनामा आन्तरिकतर्फ जम्मा ९ हजार ५११ यात्रुलाई मात्रै सेवा दिएको छ । यस्तो यात्रुसेवा वापत निगमले ६ करोड ४२ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको यसले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

निगमले गत वर्ष २०७९ को पहिलो ६ महिनामा ८ हजार ९४३ यात्रुलाई सेवा दिएको थियो । यस्तो सेवा अन्तर्राष्ट्रिय उडानमा भने २ लाख ९८ हजार २७३ यात्रु रहेको तथ्यांकले देखाएको छ । गत वर्षको पहिलो ६ महिनामा निगमले दिएको यात्रु सेवा ३ लाख थियो ।

न्यून किस्ताले असन्तुष्ट ऋणदाता

निगमले ऋणतादाता कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई बुझाउनुपर्ने किस्ता भने न्यून रकममात्रै बुझाएका कारण ऋणदाता भने असन्तुष्ट छन् । कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको कुल ३४ अर्बको ऋण बढेर ४७ अर्ब रुपैयाँ पुगिसकेको छ । निगमले समयमा तोकिएको किस्ता बुझाउन नसक्दा बढेको ऋण र जहाज खरिद गर्न गरिएको सम्झौताअनुसार किस्ता नआएको भन्दै ऋणदाता असन्तुष्ट भएका हुन् ।

निगमले पुस २०८० मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापत ५३ करोड रुपैयाँ मात्रै भुक्तानी गरेको छ ।

निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्दा कोषबाट लिएको ऋणको किस्ताबापत उक्त रकम बुझाएको हो । यस्तो किस्तावापत बुझाएको रकम असोज २०८० मा पनि ५३ करोड ५५ लाख रुपैयाँ थियो । असोजमा बुझाएको उक्त रकममा न्यारोबडी पूरै र दुई वाइडबडीको आंशिक रकममात्रै बुझाएको निगमले जानकारी दिएको छ ।

निगमले यसअघि निगमले त्योभन्दा अगाडि २०७९ असारदेखि २०८० असार सम्मको अवधिमा ३ अर्ब ७७ करोड रुपैयाँ जहाज खरिदको किस्तावापत भुक्तानी गरेको थियो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले हालसम्म करिब ५ अर्ब ३६ करोड रुपैयाँ जहाजको किस्ता वापत बुझाइसकेको बताए ।

‘निगमले जहाज उडाएर आम्दानी गर्दै खर्च धानेर पनि ५ अर्ब रुपैयाँ बुझाउनु भनेको ठूलै क्षमता हो,’ प्रवक्ता पौडेलले क्लिकमान्डुसँग भने । एक वर्ष अगाडिसम्म किस्ता तिर्न गाह्रो भएको निगमले पछिल्लो समय आंशिक भएपनि नियमित तिर्न सकेको छ भने विस्तारै क्षमता बढाउँदै गएको पनि उनले बताए ।

निगमले जहाजको किस्ता जति बुझाउनुपर्ने हो त्यो नबुझाएको भन्दै कर्मचारी संचयकोष भने असन्तुष्ट छ । कोषले निगमलाई पटक पटक बोलाएर छलफल गर्ने, पत्राचार गर्ने र किस्ता बढाउन दबाब दिइरहको छ ।

कर्मचारी सञ्चय कोषका अनुसार निगमले जहाज किन्दा लिएको ऋणको साँवाब्याज समयमा भुक्तानी नगर्दा दायित्व बढ्दै गएको हो । निगमले सञ्चय कोषलाई मात्रै २७ अर्ब रुपैयाँ तिर्न बाँकी छ । सञ्चय कोषलाई वाइडबडीको मात्रै १७ अर्ब र न्यारोवडीको १० अर्ब रुपैयाँ तिर्नै बाँकी छ ।

निगमले २०७४ मा नागरिक लगानी कोषसँग लिएको १२ अर्ब रुपैयाँ ऋणको साँवा र ब्याज गरेर अझै १७ अर्ब रुपैयाँ तिर्ने बाँकी रहेको छ । निगमले पछिल्लो समय असोज र पुसमा भने नागरिक लगानी कोषलाई तिर्नुपर्ने किस्ता पूरै तिरेको बताएको छ ।

तर, निगमले यो किस्ता तिर्दा पनि व्याज र किस्ताको तुलनामा सावाँ धेरै रहेको भन्दै ऋणदाता दुबै निकाय निगमप्रति असन्तुष्ट छन् । ऋणदाता निगमको जहाज लिलामी गरेरै भएपनि ऋण असुली गर्नुपर्छ भन्दै निगमलाई ताकेता गर्न थालेका छन् । तर, सरकार जमानी बसेर ऋण दिएका कारण ऋणदाताले पनि थप केही गर्न सक्ने अवस्था भने छैन ।


क्लिकमान्डु