बढ्दो आय असमानता धान्न सक्ला विश्वले ?



विश्व अर्थतन्त्रमा आय असमानताको समस्या विकराल रहेको हालै सार्वजनिक भएको एक प्रतिवेदनले देखाएको छ ।

स्विटजरल्यान्डको डाभोसमा गत साता सम्पन्न धनाढ्यहरूको सम्मेलन वर्ल्ड इकोनोमिक फोरमको अवसर पारेर अक्सफामले सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका पाँच शीर्ष धनाढ्यहरूको सम्पत्ति दुईगुणा बढेको अनि विश्वका लगभग पाँच अर्ब मानिस थप गरीब हुन पुगेको उल्लेख छ ।

टेस्ला कम्पनीका सीईओ इलोन मस्क, विलासी वस्तुको व्यापार गर्ने बर्नार्ड अर्नाउ र उनको परिवारका सदस्य, अमेजनका संस्थापक जेफ बेजोस, ओराकल कम्पनीका संस्थापक ल्यारी एलिसन र सुप्रसिद्ध लगानीकर्ता वारेन बफेटको सम्पत्ति सन् २०२० पछि ११४ प्रतिशतले बढेको अक्सफ्यामले जानकारी दिएको छ ।

मूल्यवृद्धिको समेत हिसाब राख्दा उनीहरूको सम्पत्ति यस अवधिमा बढेर ८६९ अर्ब डलर पुगेको छ । मूल्यवृद्धिको दरको तुलनामा उनीहरूको सम्पत्ति तीनगुणा बढेको अक्सफ्यामको आँकडाले देखाएको छ ।

टेस्ला र स्पेसएक्स लगायत कम्पनीका मालिक इलोन मस्क अहिले संसारका सबभन्दा धनी व्यक्ति हुन् । उनको व्यक्तिगत सम्पत्ति लगभग २५० अर्ब डलर छ ।

अक्सफ्यामका कार्यकारी निर्देशक अमिताभ बेहरले अबको एक दशकमा विश्वले पहिलो हजार अर्बपति (ट्रिलियनेयर) पाउने भनी डाभोसमा पत्रकारहरूलाई बताएका छन् । यता हजार खर्बपति जन्मिँदा गरीबीविरुद्धको लडाइँका लागि चाहिँ २०० वर्षभन्दा बढी समय लाग्ने उनको आकलन छ ।

यसरी अर्बपतिहरूको व्यक्तिगत सम्पत्तिमा अभिवृद्धि हुनुका पछाडि कर्पोरेट शक्ति जिम्मेवार छ । संसारका सबभन्दा ठूला व्यापारिक प्रतिष्ठानमध्ये ७० प्रतिशतमा कुनै अर्बपतिको पूर्ण नियन्त्रण छ वा कुनै अर्बपति त्यस कम्पनीको प्रमुख शेयरधनी रहेको छ ।

त्यसका अतिरिक्त १ प्रतिशत धनीहरूले संसारको वित्तीय सम्पत्तिको ४३ प्रतिशत भागको स्वामित्व लिएको अक्सफ्यामको प्रतिवेदनले देखाएको छ । अमेरिकामा १ प्रतिशत धनाढ्यले ३२ प्रतिशत, एसियामा ५० प्रतिशत, मध्यपूर्वमा ४८ प्रतिशत र युरोपमा ४७ प्रतिशत वित्तीय सम्पत्ति त्यहाँका १ प्रतिशत धनाढ्यको हातमा छ ।

अक्सफ्यामका अनुसार, संसारका १५० वटा ठूला कर्पोरेट कम्पनीहरूले सन् २०२२ को जुन महिनादेखि सन् २०२३ को जुन महिनासम्म एक वर्षमा लगभग २ हजार खर्ब डलरको मुनाफा गरेका थिए । सन् २०१८ देखि २०२१ को अवधिमा कमाएको औसत मुनाफाभन्दा यो ५२.५ प्रतिशत बढी रकम हो ।

धनीहरूको सम्पत्ति बढिरहेको बेलामा सामान्य कामदारहरूको न्यूनतम आय चाहिँ महंगीको तुलनामा नबढेको अक्सफ्यामको विश्लेषणले देखाएको छ ।

यस्तो स्थितिलाई भत्काउनका लागि एकाधिकारलाई तोडेर कर्पोरेट शक्तिमा लगाम लगाउन अक्सफ्यामले संसारका सबै देशका सरकारहरूलाई आह्वान गरेको छ । सरकारहरूले अतिरिक्त नाफा र सम्पत्तिमा कर लगाउन र कम्पनीको शेयरधनी कुनै अर्बपतिलाई नभई त्यहीँका कर्मचारीहरूलाई बनाउने लगायतका नियम ल्याउन पनि सरकारहरूलाई आग्रह गरेको छ ।

विश्वको पहिलो अर्थतन्त्र अमेरिकाको कुरा गर्नुपर्दा विगत चार दशकमा आर्थिक असमानता नाटकीय रूपमा बढिरहेको छ । असमानतालाई विभिन्न तरिकाले मापन गर्न सकिन्छ । तर आयलाई प्रायः जसो मापनको आधार बनाउने गरिएको छ ।

सन् १९२१ मा इटालीका तथ्यांकशास्त्री कोरादो जिनीले विकसित गरेको जिनी कोएफिसिएन्ट जनसंख्याको हिसाबमा आय वितरणको सबभन्दा उम्दा मापक हो । शून्य (०) देखि  एक (१) को बीचमा गरिने हिसाबमा शून्य भन्नाले पूर्ण आर्थिक समानता मानिन्छ भने एक भन्नाले पूर्णतः आर्थिक असमानता रहेको मानिन्छ । पूर्ण असमान समाजमा आयको शतप्रतिशत रकम जम्मा एकजना व्यक्तिकोमा गइरहेको हुन्छ ।

अमेरिकाको जिनी कोएफिसिएन्ट ०.४८५ छ र यो विगत ५० वर्षमा सबभन्दा उच्च हो । विकसित अर्थतन्त्रहरूमध्ये यो असमानता दर सबभन्दा धेरै हो । यस मापदण्डका अनुसार, अमेरिका संसारको सबभन्दा असमान प्रमुख अर्थतन्त्र हो ।

सन् १९८० मा अमेरिकाका शीर्ष १ प्रतिशत धनाढ्यहरूले देशको कुल आयको १० प्रतिशतभन्दा केही बढी रकम कमाउँथे । अहिले उनीहरूले लगभग २० प्रतिशत कमाउँछन् । त्यो भनेको अमेरिकाका ५० प्रतिशतभन्दा बढी मानिसले कमाउने रकमभन्दा बढी हो ।

यस्तो व्यापक असमानता रहेको भए पनि अमेरिकीहरूले कुनै किसिमको विरोध गरेको देखिँदैन । अमेरिकीहरू संसारकै सबभन्दा बढी गलत प्रचार (प्रोपागान्डा) को शिकार हुने मानिस भएकाले यस्तो विरोध नभएको हो । पछिल्लोपटक आय असमानताको विरोध सन् २०११ को अकुपाई वाल स्ट्रीट मार्फत देखिएको थियो तर त्यसले पनि देशमा विद्यमान विकराल आय असमानताको समस्या हल गर्नका लागि राज्यलाई झकझकाउन सकेन ।

हुन त सन् २००८ को आर्थिक मन्दीपछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले बैंकहरूलाई बेलआउट गर्नका लागि करदाताहरूको रकमको दुरुपयोग गरेपछि आजित भएका अमेरिकीहरू विरोधमा उत्रेका थिए । बैंक र वित्तीय संस्थाहरूको खराब सम्पत्ति किन्नका लागि राज्यले करदाताको रकम दुरुपयोग गर्नुका अलावा अमेरिकाको राजनीतिक प्रक्रियामा कर्पोरेट जगतको बढ्दो प्रभावका कारण पनि अमेरिकीहरूले आक्रोशित भएर विरोध गरेका थिए । तर दुर्भाग्यवश आय असमानता जन्माउने अमेरिकाको वित्तीयकरण गरिएको अर्थतन्त्रको संरचनामा कुनै परिवर्तन आएन ।

अहिले वाल स्ट्रीटले व्यापक रूपमा पैसा कमाइरहेको छ भने जनताको ध्यान पहिचानको राजनीति, सांस्कृतिक मतभेद र यौनिकताका सवाल जस्ता असान्दर्भिक कुराहरूमा केन्द्रित छ । वर्गविभेदको कुरा उठाउने मानिसलाई अमेरिकाको सञ्चारमाध्यमले स्थान नै दिँदैन भने सांस्कृतिक युद्धलाई बढावा दिने सामग्रीहरू बग्रेल्ती भेटिन्छन् ।

अन्य देशहरूमा पनि यस्तै किसिमका समस्याहरू देखिएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा शीर्ष २० प्रतिशत धनाढ्यको सम्पत्ति पुछारमा रहेका २० प्रतिशत मानिसको भन्दा ५.३ गुणाले बढेको त्यहाँको तथ्यांक विभागले जनाएको छ । यो त शहरी क्षेत्रको तथ्यांक भयो । ग्रामीण क्षेत्रमा त्यो अन्तर ९.२ गुणा बढी छ ।

चीनपछि हाम्रो अर्को छिमेकी तथा विश्वको पाँचौं ठूलो अर्थतन्त्र भारतको कुरा गर्दा त्यहाँ जनसंख्याको शीर्ष १० प्रतिशतले राष्ट्रिय आयको ५७ प्रतिशत र शीर्ष १ प्रतिशतले राष्ट्रिय आयको २२ प्रतिशत रकम कमाउने गरेको छ । त्यस्तै कुल १० प्रतिशत जनसंख्याले देशको कुल सम्पत्तिको ६५ प्रतिशतमा नियन्त्रण कायम गरेको छ ।

नेपालको कुरा गर्नुपर्दा अक्सफ्यामको अलि पुरानो रिपोर्टका अनुसार, नेपालका ४० प्रतिशत विपन्नहरूको कुल आयभन्दा तीन गुणा बढी रकम १० प्रतिशत धनाढ्यले कमाउने गरेका छन् । अर्को भयावह तथ्यांक भनेको गरीब परिवारका बालबालिका धनी परिवारको बालबालिकाको तुलनामा पाँच वर्ष पुग्नुअगावै मृत्यु हुने सम्भावना तीनगुणा बढी छ । गरीबी र आय असमानताका कारण नै नेपालबाट चिन्ताजनक रूपमा मानिसहरू पलायन भइरहेका छन् ।

अक्सफ्यामले आकलन गरेजस्तो विश्वको पहिलो हजार अर्बपति बनेछ भने पनि संसारभरिका आम जनताले आय असमानता र वर्गविभेदको कुरा उठाउनेमा शंका गर्न सकिन्छ । आमूल क्रान्तिविना आय असमानताको यो स्थिति कायम रहिरहनेछ तर आम मानिसमा वर्गचेतना आएर उनीहरूले क्रान्ति गर्लान् भनी परिकल्पना गर्नु दिवास्वप्न मात्र हो । 


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।