‘लक इक अवधि’ सकिनु एक महिनाअघि नै सबैले थाहा पाउनेगरी सूचना दिन बोर्डको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्बन्धित निकायलाई लक इन अवधि सकिनु भन्दा एक महिना अघि नै वेवसाइटमा सूचना दिन निर्देशन दिएको छ ।
बोर्डले सूचीकृत संगठित संस्थाबाट लक इन अवधि समाप्त सम्बन्धी सूचना तथा जानकारी प्राप्त भएपश्चात् नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएसीले सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी वेवसाइटमा राख्न निर्देशन दिएको छ ।
नेप्सेमा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको शेयरको लक इन अवधि सम्बन्धी व्यवस्था रहेकोमा उक्त व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, सर्वसाधारण लगानीकर्ताहरुलाई समेत सो सम्बन्धमा जानकारी प्राप्त हुने व्यवस्था गर्न निर्देशन दिएको छ ।
धितोपत्र बजारमा हुने कारोबारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम नेप्से, सिडिएससी र सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।
सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयरको बिक्री गर्ने नपाईने गरी तोकिएको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन शेयर लक इनमा रहेको वर्ग (जस्तैः संस्थापक, स्थानीय प्रभावित आदि) को जानकारी गराउन निर्देशन दिएको हो ।
लक इनमा रहेको कुल शेयर संख्या, लक इन अवधी समाप्त हुने मिति समेत स्पष्टरुपमा खुलाई सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने छ ।
त्यसको जानकारी बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ्गलाई उपलब्ध गराउनुपर्ने साथै सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफ्नो वेवसाईटमा समेत राख्नु पर्ने ।